पोउवासंघ निर्वाचन, वाणिज्य उपाध्यक्षमा पोखरेलको उम्मेदवारी

पोखरा । पोखरा उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवको जिम्मेवारी कुशलतापूर्वक बहन गरेका युवा व्यवसायी अर्जुन पोखरेल आसन्न निर्वाचनमा वाणिज्य उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । संघमा महासचिवको जिम्मेवारी बहन गरिसकेपछि सिधै अध्यक्ष बन्ने वा वरिष्ठमा जाने प्रचलन थियो । तर, पोखरेल एक स्टेप मात्रै माथि बढेर उपाध्यक्षको उम्मेदवार बन्न लागेका हुन् ।

‘मलाई पनि वरिष्ठ उपाध्यक्ष वा अध्यक्ष बन्नका लागि धेरैले आग्रह गर्नुभएको थियो,’ पोखरेल भन्छन्, ‘अग्रजलाई सम्मान गर्नुपर्छ र नेतृत्वका लागि हतारिनु हुन्न भन्ने मेरो मान्यताका कारण वाणिज्य उपाध्यक्षमा बसेर राम्रो टिम बनाउन मैले सक्रियता देखाएको हुँ ।’

अध्यक्षका उम्मेदवार नारायण कोइराला प्यानलबाट उनले उम्मेदवारी दिदैछन् । कोइराला प्यानल बनाउनमा समेत उनको भूमिका महत्वपूर्ण छ । ‘लामो समयसम्म सहमतिको प्रयास भएको हो,’ उनले भने, ‘सबैलाई समेट्न नसकेपछि राम्रो प्यानल बनेको छ । अझै पनि मनोनयन दर्ता नहुँदासम्म थप सहमति गर्ने ठाउँ बाँकी नै छ ।’

कोभिड महामारीको समयमा मतदानमा नजान र सहमतिमै नेतृत्व चयन गर्न आफूले प्रयास गरेको पोखरेलले बताए । ‘दुई प्यानलमा निर्वाचन हुँदा पार्टीगत जस्तो पनि देखिने र निर्वाचन पछि काम गर्न पनि समस्या हुने गरेको पाइएको छ,’ उनले भने, ‘त्यसैले यसपटक निर्वाचन नगरी अगाडि बढौं भनेर धेरैपटक पहल भयो । तर, सहमतिको प्रयास पूर्ण रुपमा सफल भने भएको छैन ।’

प्यानल बनाउँदा बर्तमान कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई अपग्रेड गरिएको पोखरेल बताउँछन् । ‘धेरै जना साथीहरु आकांक्षी हुनुहुन्छ,’ उनले भने, ‘थोरै पदमा धेरै साथीहरु हुँदा पद तन्काउन नमिल्ने र सबैलाई समेट्न नसकिने समस्या भने रह्यो । मनोनित लगायतका ठाउँ खाली छन् । केही साथीहरुलाई अझै पनि समेट्न सकिन्छ ।’

आगामी दिनमा निजी क्षेत्रको भूमिका देशमा अझै बढ्ने सम्भावना रहेकाले राम्रो र कुशल नेतृत्व संघमा आवश्यक रहेको पोखरेल बताउँछन् । ‘पोखरा पर्यटकीय नगरी हो । पर्यटन प्रवद्र्धन लगायत निजी क्षेत्रको हकहितका क्षेत्रमा संघले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेछ,’ उनी भन्छन् । संघको ३३औं महाधिवेशन पुस २४ र २५ गते पोखरामा हुँदैछ । अध्यक्षमा नारायण कोइरालाले प्यानल घोषणा गरिसकेका छन् भने अध्यक्षका अर्का प्रत्यासी विन्दु कोइराला सुवेदी प्यानलको तयारीमा छन् ।

र यो पनि

‘राम्रो प्यानल र सहमतिका लागि अध्यक्ष त्यागेर वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेँ’

You might also like

Comments are closed.