पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा विद्युतीय गाडीहरु विशेष आकर्षण बन्ने भएका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ बिहीबारबाट मेला हुनेछ । मेला अन्तर्गत अटो पेभेलियनको व्यवस्थापन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले गर्नेछ ।
अटो पेभेलियनमा रहने स्टलहरु मध्ये इभी गाडीहरुको बाहुल्यता रहने वाडाका उपाध्यक्ष एवं अटो सो संयोजक दीपेन्द्र कोइरालाले जानकारी दिए । मेलामा हुने अटो शोमा विद्युतीय गाडी सेरेस, बिवाईडी, एमजी, टाटा नेक्सन, नेटा भी बिक्री तथा प्रदर्शनीमा राखिने भएका छन् । त्यस्तै अटो शोमा हुन्डाई, जिडब्लुएमको हवेल, म्यानो टु ब्याकहो लोडर, टोयटा, महिन्द्रा, सुजुकी, इसुजु गाडीको पनि उपस्थिति हुनेछ । दुई पाँग्रेतर्फ सेगवे इभी, जाभा, भिजी सुजुकी, रोयल इन्फिल्ड बिक्री तथा प्रदर्शनीमा रहनेछन् । अटो मेलामा कफी हाउसको विशेष स्टल र मानव सेवा आश्रमको स्टल पनि रहने वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
व्यापार मेला अन्तर्गत रहने अटो शो यस पटक दर्शकको विशेष रोजाईमा पर्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती बताउँछन् । ‘विद्युतीय गाडीमा आकर्षण देखिएको छ । मेलामा आएर गाडी अवलोकन गर्नेहरुको आकर्षण देखिनेछ,’ उनले भने ।
बिहीबार उद्घाटन हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको संघका महासचिव एवं प्रचारप्रसार संयोजक बलराम आचार्यले जानकारी दिए । मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम छ ।
Comments are closed.