काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच हालसम्म ५७ हजार १ सयभन्दा बढी नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन् । इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावका कारण खाडी मुलुकहरूमा कार्यरत नेपालीहरूले आफ्नो अवस्थाबारे जानकारी दिन दर्ता प्रणाली प्रयोग गरेका हुन् ।
पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक गर्न कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ५७,१०० नेपालीले आफ्नो विवरण दर्ता गराइसकेका छन् । दर्ता भएका विवरणहरू प्राथमिकताका आधारमा अध्ययन गरी आवश्यकता अनुसार आवश्यक कदम चालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ती देशहरूका केही स्थानबाट सीमित रूपमा हवाई उडानहरू सञ्चालन भइरहेका छन् । नेपालतर्फ उडान सञ्चालनसम्बन्धी छलफल भइरहेको र इच्छुक नेपालीले उपलब्ध उडानहरूबाट यात्रा गर्न सक्ने जानकारी पनि मन्त्रालयले दिएको छ ।
अत्यावश्यक कारणले साउदी अरब हुँदै नेपाल फर्कन चाहनेहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लानसहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगमा पठाएर भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ ।






Comments are closed.