पोखरा ।
औषधि व्यवसायी संघ कास्कीले आफ्नो ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोरोना सङ्क्रमण (कोभिड –१९) को कारण हुनसक्ने रगत अभावलाई ध्यान दिदै संघले बुधबार पोखराको पृथ्वीचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा कास्कीका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले कास्की जिल्लाको जिम्मेवारी सम्हालेसँगै पहिलोपल्ट औपचारिक कार्यक्रममा रक्तदान गरेर सामाजिक सेवामा जुट्ने अवसर मिलेको बताए । प्रमुख श्रेष्ठले कास्कीको शान्ति सुरक्षा, अमन चयनको लागि आफू कर्तव्यनिष्ठ भएर लागि पर्ने बताउँदै कास्कीबासीको सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा संघका केन्द्रिय सचिव यामनाथ पौडेलले असहज परिस्थितिमा संस्थाले रक्तदान जस्तो सामाजिक काम गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको धारणा राखे । उनले संस्थाले स्थापनमा देखिनै सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको स्मरण गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गरे ।
संघका गण्डकी अध्यक्ष राम बहादुर के.सीले रक्तदान मानवीय सेवाको उत्कृष्ट कार्य भएको चर्चा गर्दै संस्थाले कोभिड –१९ को प्रभावलाई ध्यान दिएर कार्यक्रम गर्नु प्रशंसनीय भएको बताए ।
संघका कास्की अध्यक्ष विक्रम पन्तले स्थापना दिवसको शुभकामना दिदै सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरे ।
रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७१ यूनिट रगत सङ्कलन भएको संघका महासचिव पूर्णकाजी बस्नेतले जानकारी दिए ।
कार्यक्रममा नेपाल स्वयम्सेवी रक्त सञ्चारका अध्यक्ष जितेन्द्रमान शाक्यले क्षेत्रीय रक्त सञ्चार केन्द्र अध्यक्ष अर्जुन ज्ञवाली, औषधी विक्री प्रतिनिधि संघका अध्यक्ष निरज पन्त लगायतकाले शुभकामना दिएका थिए ।
Comments are closed.