काठमाडौं । फोनपे, नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक कम्पनीले भुक्तानी सुरक्षासम्बन्धी विश्वप्रसिद्ध मापदण्ड Payment Card Industry Data Security Standard (PCI DSS) v4.0.1 Level 1 प्रमाणपत्र प्राप्त गरेको घोषणा गरेको छ । यो प्रमाणपत्रले फोनपेको डिजिटल कारोबार प्रणालीमा उच्च स्तरको सुरक्षा सुनिश्चित भएको प्रमाणित गर्छ ।
प्रमाणपत्र पाउनका लागि कम्पनीले कठोर प्राविधिक पूर्वाधार, सुरक्षात्मक नीतिहरू तथा निरन्तर निगरानी प्रणालीलाई मजबुत बनाउनु पर्ने हुन्छ । फोनपेका प्रमुख सञ्चालन अधिकृत पारश कुँवरले यो उपलब्धि कम्पनीको निरन्तर प्रयास र डेटा सुरक्षाप्रतिको प्रतिबद्धताको परिणाम भएको बताए। उनका अनुसार सुरक्षा कुनै एकपटक हासिल हुने लक्ष्य नभई निरन्तर सुधारको प्रक्रिया हो ।
PCI DSS को मूल्याङ्कन एक स्वतन्त्र प्रमाणित सुरक्षा मूल्याङ्कनकर्ता (QSA) द्वारा गरिएको हो जसमा डेटा संरक्षण, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन लगायत १२ वटा सुरक्षा क्षेत्र समेटिएका थिए। फोनपेको यस उपलब्धिले यसको नेटवर्कमा आवद्ध प्रयोगकर्ता, बैंक तथा वित्तीय संस्था, र नियामक निकायहरूको विश्वासलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमोदन प्राप्त फोनपेले अन्तर बैंक पी२पी (P2P) भुक्तानी, व्यापारी तर्फको क्यूआर सेवा (P2M), र सहभागी बैंक तथा वित्तीय संस्थालाई लक्षित घरेलु कार्ड योजना सञ्चालन गर्दै आएको छ ।
PCI DSS एक विश्वव्यापी सुरक्षात्मक मापदण्ड हो, जुन कार्ड भुक्तानीसँग सम्बन्धित डाटा ह्यान्डलिङ, प्रोसेसिङ र सुरक्षाको लागि अनिवार्य मानिन्छ । यस्तो मापदण्डको पालना गर्नुले न केवल जोखिम न्यूनीकरण गर्छ, बरु उपभोक्ता डाटा सुरक्षामा संगठनको गम्भीरता पनि देखाउँछ ।
Comments are closed.