फोटो पत्रकारले गरे सुरक्षा सामग्री उपलब्ध गराउन आग्रह

 

पोखरा, १३ बैशाख ।

राष्ट्रिय फोटोपत्रकारिता दिवस–२०७७ यसपालि कोरोना भाइरसको जोखिमबीच परेको छ ।
दिवसका अवसरमा शनिबार देशभर विगतमा जस्तो विविध कार्यक्रम हुन नसकेपनि फोटोपत्रकारले आ–आफ्नो ढंगले दिवस मनाइरहेका छन् ।

यसैक्रममा नेपाल फोटोपत्रकार संघ कास्कीले दिवसका अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै यस्तो परिस्थितिमा पनि सर्वसाधारणलाई सुसूचित पार्ने आफ्नो जिम्मेवारीबाट विचलित नभई ज्यानको पर्वाह नगरी अहोरात्र खटिरहेका फोटोपत्रकारहरुप्रति आभार ब्यक्त गरेको छ ।

संघ कास्कीका अध्यक्ष प्रदीप पौडेलले विज्ञप्ति जारी गरी जस्तोसुकै परिस्थितिमा पनि तस्विर खिच्न कार्यक्षेत्रमै जानुपर्ने बाध्यता रहेको र यसबीचमा फोटोपत्रकारको कार्यको उच्च प्रशंसा गर्दै स्वास्थ्यप्रति संवेदनशील बन्न सुझाव दिए ।लकडाउन एक महिना कटिसकेको अवस्थामा राज्य तथा संचारगृहबाट फोटोपत्रकारको लागि आवश्यक सुरक्षा सामग्री समेत समयमै उपलब्ध गराउन नसकेकोप्रति ध्यानाकर्षण गराउ“दै तत्काल आवश्यक प्रबन्ध मिलाइदिन संघ कास्की सम्बन्धित निकायलाई आह्वान गरेको छ ।

यसैबीच, नेपालफोटोपत्रकार महासंघ गण्डकीका तर्फबाट अध्यक्ष राम गुरुङले पनि दिवसका अवसरमा विज्ञप्ति जारी गरी सम्पूर्णमा शुभकामना दिँदै यस विषम परिस्थितिमा आफ्नो स्वास्थ्यप्रति ख्याल गरी कार्यक्षेत्रमा खटिन आग्रह गरे ।

नेपाल फोटोपत्रकार संघ कास्कीले राष्ट्रिय फोटोपत्रकारिता दिवस अवसरमा गण्डकी प्रदेशका विभिन्न पर्यटकीयस्थलको फोटो प्रदर्शनी गर्ने तयारी गरेकोमा लकडाउनका कारण स्थगित गरेको जनाएको छ । प्रदर्शनीमा प्रदेशका ११ वटै जिल्लाका पर्यटकीय, सांस्कृतिक तथा कला संस्कृति झल्किने खालका ७० वटा फोटो प्रदर्शनी गर्ने तयारी थियो ।

You might also like

Comments are closed.