उपभोक्ता र व्यवसायीलाई जोड्न सफल ‘पिक एन ड्रप’

काठमाडौं । लकडाउनको समयमा घरघरमा ग्यास पुर्याउने कामबाट व्यवसाय सुरु गरेको ‘पिक एन ड्रप’ले स्थापनाको २ वर्षमै लोकप्रिय डेलिभरी कम्पनी बन्न सफल भएको छ । ग्यास डेलिभरी सेवाबाट सुरु भएको यो कम्पनीले अहिले उपभोक्ता र व्यवसायीलाई जोड्न सफल भएको छ । विभिन्न अनलाइन कम्पनी तथा व्यवसायीका सामान अर्डर गर्ने ग्राहक तथा उपभोक्ताको घरघरमै पुर्याउँदै कम्पनीले दिनप्रतिदिन सेवा विस्तार गरिरहेको छ ।

लकडाउनको समयमा काठमाडौंबाट सुरु भएको यो व्यवसायलाई कम्पनीले देशभर मुख्य शहरहरुसहित ४० भन्दा बढी शहरमा विस्तार गर्न सफल भइसकेको संस्थापक अध्यक्ष शिशीर खनालले जानकारी दिए । काठमाडौं क्षेत्रका सबै जिल्लाका सबै ठाउँमा यो सेवा उपलब्ध छ । ‘हामीले होम डेलिभरी सेवा निरन्तर प्रदान गरिरहेका छौं,’ उनले भने, ‘जसले अनलाइनबाट सामान बिक्री वितरण गर्नुहुन्छ । उहाँहरुको सामान घरघरमा पुर्याउँदै आइरहेका छौं । उपभोक्ता र व्यवसायीलाई जोड्ने काम गरेका छौं ।’

सुरुमा इकमर्श सेवा सुरु गर्ने सोचबाट खनालको नेतृत्वमा पिक एन ड्रप सुरु भएको थियो । बजार अध्ययन गर्दै जाँदा उनले बजारमा सामान बेच्नेको भन्दा सामान घरसम्म पुर्याउनेको समस्या देखे । त्यसपछि उनको सोचमा परिवर्तन आयो । समयमा सामान डेलिभरी नहुने समस्या थियो, जुन समस्याको समाधान गर्ने लक्ष्यसहितको यात्रामा अगाडि बढ्यो कम्पनी । जुन लक्ष्य र उद्देश्यमा कम्पनी सफल रहेको खनाल बताउँछन् । लक्ष्य अनुसार सेवामा विस्तार भइरहेको खनालले जानकारी दिए । अहिले कम्पनीमा ४० जनाले प्रत्यक्ष काम गरिरहेका छन् । खनालसँगै कम्पनीको संस्थापकमा घनश्याम खनाल र नविन पराजुली छन् ।

‘कन्जुमरले सामान किनेर पनि ट्रस्ट नगर्ने परम्परा थियो,’ खनाल भन्छन्, ‘यो बजारमा हाम्रो उपस्थितिले ग्राहक र उपभोक्ताबीचको विश्वास पनि बढाएको छ । हामीले समयमा नै सामान डेलिभरी दिन सफल छौं ।’ सामान डेलिभरीको जिम्मेवारी कम्पनीले लिएपछि अनलाइन व्यवसाय गर्ने कम्पनी तथा व्यवसायीहरु पनि प्रत्यक्ष लाभान्वित भएको खनाल बताउँछन् । ‘सामान पुर्याउने चिन्ता अब व्यवसायीहरुलाई छैन । त्यसको सम्पूर्ण जिम्मेवारी हामीले लिएका छौं,’ उनले भने, ‘व्यवसायको ध्यान अब व्यापार, व्यवसायमा मात्रै केन्द्रित हुँदा हुन्छ ।’

कम्पनीले महिनामा सय भन्दा बढी साना तथा ठूला कम्पनीहरुलाई सेवा प्रदान गर्दैै आइरहेको छ । दराज, ग्यापु, सस्तो डिल, सोचेको डटकम लगायतसँग कम्पनी सहकार्य गरी काम गरिरहेको छ । सोसल मिडियाबाट व्यापार गर्नेहरु पिक एन ड्रपको सेवाबाट अझै बढी लाभान्वित भएका छन् । ‘हामी आफैले सामान नबेच्ने भएकाले सबै प्रकारका व्यवसायमा सेवा प्रदान गरिरहेका छौं,’ खनाल भन्छन् ।
सामानको बढी अर्डर लत्ताकपडा, इलेक्ट्रोनिक्स र कस्मेटिकको रहेको खनालले अनुभव सुनाए ।

कम्पनीले काठमाडौंको सबै ठाउँमा सेवा दिदै आइरहेको छ भने वरपर काभ्रेसम्म डेलिभरी दिदै आएको छ । उपत्यका बाहिर बिर्तामोड, भद्रपुर, दमक, काकडभिट्टा, बेलबारी, इटहरि, धरान, बिराटनगर, इनरुवा, भरतपुर, गैडाकोट, टाँडी, बुटवल, भैरहवा, पोखरा, दाङ, नेपालगञ्ज, कोहलपुर, धनगढी, महेन्द्र लगायतका मुख्य शहरमा कम्पनीले सेवा दिदै आइरहेको छ । ‘आगामी दिनमा अन्य शहरमा पनि सेवा विस्तारको योजनामा छौं,’ उनले भने ।

कम्पनीले काठमाडौंमा अर्डर भएकै दिनमा डेलिभरी सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले सामान बिक्रेताको लोकेसनमै गएर सामान कलेक्सन गर्छ । त्यसपछि रुट मिलाएर डेलिभरी सेवा दिन्छ । ‘धेरै जनाको सामान एकसाथ कलेक्सन गरेर सेवा प्रदान गर्दा कस्ट सेयरिङ हुन्छ र कस्ट पनि सस्तो हुन्छ,’ खनाल बताउँछन्, ‘व्यवसायीलाई पिक अप एण्ड ड्रपको पाटोलाई चिन्ता नहुने अवस्था हामीले सिर्जना गरेका छौं । हाम्रो सेवाबाट धेरै व्यवसायीहरु खुसी भएको पाएका छौं ।’

कम्पनीले आवश्यकता अनुसार गाडी, बाइक र स्कुटरबाट डेलिभरी सेवा प्रदान गरिरहेको छ । प्रविधिको प्रयोगले गर्दा सामानको स्टाटस थाहा हुने हरेक गतिविधि कम्पनीको सिस्टममा अपडेट हुने खनालले जानकारी दिए ।

You might also like

Comments are closed.