भारतको देहरादुनबाट छुट्यो पोखराको लागि वस

आर्थिक आवाज
पोखरा, ४ जेठ

पोखरा–देहरादुन सिधा बस सेवा सञ्चालन शुरु भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले पोखरा–देहरादुन बस सेवा सञ्चालन गरेको हो । शनिवार देहरादुनबाट पोखराको लागि बस छुटेको छ ।

देहरादुन पोखरा देहरादुन वस संचालन कार्यक्रमको उद्घाटनमा वोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल–भारतबीचको सिधा यातायातबाट कामका लागि आउजाउ गर्ने नेपाली युवाले पनि लाभ लिएको बताए । ‘सेवा प्रभावकारी बनाउने हो भने यसले सबैलाई फाइदा हुन्छ,’ अध्यक्ष अधिकारीले भने, ‘पोखरा मात्र नभई आसपासका अन्य सहरले पनि लाभ लिएका छन् ।’

jutta mela

पृथ्वी राजमार्ग बस समिति अन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले हप्तामा एक दिन पोखरा–देहरादुन बस सेवा सञ्चालन गर्नेछ । सुविधासम्पन्न बस पोखराबाट बुधबार पूर्वाह्न साढे ११ बजे छुट्ने र देहरादुनबाट शनिबार छुट्ने मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशबहादुर अधिकारीले जानकारी दिए ।

पोखराबाट झन्डै १३ सय किलोमिटर दुरीको देहरादुनसम्म २४ घण्टामा यात्रुलाई पु¥याउने गरि बस सेवा सञ्चालन गरिएको अधिकारीले बताए । र पहिलो बस देहरादुनबाट शनिबार छुटेको छ भने पोखराबाट जेठ ८ गते बस छुट्नेछ ।

पोखरा–देहरादुन बस सेवा सञ्चालनले पर्यटनमा सघाउ पुग्ने अपेक्षा गरिएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । मोर्डन इरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशबबहादुर अधिकारीले सिधा बस सञ्चालनले देहरादुन जाने धार्मिक पर्यटक, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि जानेलाईपनि सहज हुनेछ । धार्मिक पर्यटनको माध्यमबाट भारतको हरिद्वार, ऋषिकेशसहित नेपालको मुक्तिनाथसम्म आउजाउ गर्ने तीर्थयात्रीलाई सहजता थप्नेछ उनको भनाई छ ।

पहिलो चरणमा साताको एकपटक छुट्ने बस सेवा यात्रु बढेको खण्डमा बढाउन सकिने उनले बताए । अहिले ३५ सिट क्षमताका एसी बसबाट सेवा दिन थालेको उनले बताए । यात्रुको एकतर्र्फी भाडा भारतीय रुपियाँ २७ सय पर्नेछ । भारतको उत्तराखण्ड राज्यको देहरादुनमा झन्डै ५ लाख नेपालभाषी रहेको र धार्मिक पर्यटकको आउजाउमा सहज पुग्ने गरि सेवा बिस्तार गर्न थालेको उनले बताए ।

समितिले जेठ महिनाभित्रै भारतको पटनासम्म पनि पोखरादेखि सिधा बस सेवा संचालनको तयारी गरेको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । मोर्डन इराले नै एक दशकअघि देखि पोखरा–दिल्ली बस सेवा सञ्चालनमा ल्याएको थियो । हाल पोखरा दिल्ली रुटमा दैनिक २ वटाका दरले संचालन हुने गरेका छन् ।

You might also like

Comments are closed.