टिमुर तथा लौठसल्लाको बिरुवा रोपण

 

रसुवा । वनस्पतिलाई खेतीको रूपमा विस्तार गरी आयस्तर बढाउने उद्देश्यले टिमुर तथा लौठ सल्लाको बिरुवा रोपण गरिएको छ । बाँझो बसिरहेको जमीन सदुपयोग गर्दै डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा उत्तरगया गाउँपालिका –१, २ र ३ मा उक्त जातका वृक्ष रोपण गरेको हो । कार्यालय प्रमुख रामकृष्ण केसीका अनुसार यस वर्षको कार्यनीतिअनुरूप ६३ हजार ८९० लौठसल्ला एवं ५१ हजार ४१८ वटा टिमुरको बिरुवा रोपण गरिएको छ । कार्यालयको वार्षिक समीक्षा बैठकमा उनले २२ हजार ५०० सतुवा र एक हजार ५०० कागतीका बिरुवासमेत रोपण गरिएको बताए । टिमुर तथा लौठसल्लाको खेतीले स्थानीयबासीको आयश्रोतमा वृद्धि हुने जनाइएको छ ।

जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले फलफूल एवं अन्य नगदेबालीका वृक्षरोपण गर्न आवश्यक रहेको बताए । टिमुरको बिरुवाले तीनवर्षदेखि र लौठसल्लाको बिरुवाले सातवर्षदेखि लाभ लिन सकिने वन अधिकृत केसीले जानकारी दिए । हुर्किएपछि प्रतिवर्ष लौठसल्लाको एक बोटले १० केजी वजन बराबरको पात दिने र यसको वर्तमान बजार मूल्य भने रू २५० देखि दुई सय ७५ सम्म रहेको बताइएको छ । रोपणको समयमै प्रत्येक बिरूवालाई छेकवार गर्नुपर्ने कार्यालयका सूचना अधिकारी बद्री ढुङ्गानाले बताए । तीन वर्षमै फलदिने टिमुर भने प्रतिमाना रू १०० का दरले स्थानीयस्तरमै खपत भइरहेको वन प्राविधिक बताउँछन् ।

डढेलोको कारण उजाड बनेको गतलाङ पाखा सामुदायिक वनमा एक लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ । बहुवर्षे नीतिका साथ धुञ्चेस्थित कार्यालय परिसरमा नर्सरीसमेत स्थापना भएको र आगामी वर्षमा रोपण गर्ने लक्ष छ । यसैगरी ग्रामीण बासिन्दालाई आयआर्जन बढाउन ओखर चार हजार एवं स्याउ दुई हजार ५०० गतलाङ , गोल्जुङका साथै डाँडागाउँ क्षेत्रमा वितरण गरिएको छ । पूर्वाधार विकासतर्फ सो कार्यालयले दिगो नर्सरी, डाँडागाउँमा जलाधार संरक्षण, गतलाङस्थित धार्मिक उद्यान, कालिका गाउँपालिकाको स्याउबारी क्षेत्रमा पर्यटन प्रवद्र्वन पूर्वाधार निर्माण गरिएको जनाएको छ ।

lcci
You might also like

Comments are closed.