नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बताएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँगको कुराकानीमा उक्त जानकारी दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचन फागुन २१ गते नै सम्पन्न गराउन सरकार पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पारिन् । निर्वाचन सर्ने हल्लाप्रति प्रतिक्रिया दिँदै उनले चुनाव नसरिने बताउँदै आवश्यक भौतिक साधनको व्यवस्थापन, सुरक्षा तयारी र विभिन्न देशबाट प्राप्त सहयोगका कारण खर्च बढेको उल्लेख गरिन् ।
उनले निर्वाचन जसरी पनि सम्पन्न गरी नयाँ जनप्रतिनिधि चयन भएपछि सत्ता नयाँ सरकारलाई हस्तान्तरण गरिने बताइन् । कुनै कारणवश केही स्थानमा निर्वाचन अवरुद्ध भए दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराइने उनको भनाइ थियो ।
हिमाली जिल्लामा चिसोका कारण समस्या आए सवारी साधन प्रयोग गरी मतदातालाई मतदान केन्द्रसम्म पुर्याएर भए पनि निर्वाचन गराइने प्रधानमन्त्री कार्कीले बताइन् । साथै, शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सरकार गम्भीर र सतर्क रहेको पनि उनले दोहोर्याइन् ।




Comments are closed.