पोखरा । संस्कृति टोल विकास संस्था तथा सांस्कृतिक युवा क्लबको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं. १४ स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । सितल ज्योति एकेडेमिको सभाहलमा आयोजित उक्त प्रतियोगितामा पोखरा पब्लिक स्कूलले प्रथम स्थान हासिल गरेको छ ।
संस्कृति टोल विकास संस्थाका अध्यक्ष महेन्द्र भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोध बहादुर कार्की प्रमुख अतिथिका रुपमा रहेको थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले विद्यार्थीहरूको बौद्धिक तथा चौतर्फी विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले आयोजक संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
तीव्र प्रतिस्पर्धात्मक बनेको प्रतियोगितामा पोखरा पब्लिक स्कूल प्रथम हुँदा शान्तिदिप एकेडेमी द्वितीय र आयोजक विद्यालय सितल ज्योति एकेडेमि तृतीय हुन सफल भएका थिए । प्रतियोगिताका विजयी विद्यालयहरूलाई ट्रफी तथा सहभागी विद्यार्थीहरूलाई नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेश कुमार शर्माले स्वागत मन्तव्य राखेका थिए भने संस्कृति युवा क्लबका अध्यक्ष सौगात कुँवरले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । संस्थाका सचिव दुर्गानाथ न्यौपानेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरेको आयोजकले जनाएको छ ।
Comments are closed.