पुरुन्चौरस्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवन शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौरस्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार रैकरमा शिलान्यास गर्नुभएको हो ।

खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको भन्दै प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छता समेत महत्त्वपूर्ण हुने बताए । ‘खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, सुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो, प्रमुख आचार्यले भने, ‘अब यसको उपलब्धता मात्र होइन, यो सुद्ध समेत हुनुपर्छ भन्ने अभियानमा हामी छौँ ।’ एक घर एक धारा भए पनि पानीको शुद्धता कायम गर्न सकिएन भने त्यसको उपयोगले केवल रोग मात्रै निम्त्याउने र मानव स्वास्थ्यको क्षयीकरण भई गम्भीर असरहरू सृजना हुने गरेको उनले बताए ।

हाल सञ्चालनमा रहेका खानेपानीको आयोजनाहरू समयमा नै सम्पन्न गरी धाराबाटै पिउन मिल्ने गरी सुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको उनले विश्वास दिलाए । पोखरा महानगरपालिका क्षेत्रमा वितरण गरिएको खानेपानीको सुद्धिकरणका लागि जाइकासंगको समन्वयमा काम भइरहेको जानकारी दिँदै उनले त्यो परियोजना अन्तिम चरणमा रहेको बताए । ‘सहर होस् या गाउँ अव घरघरमा धारा मात्र होइन, धारामा आउने पानी समेत सुद्ध पिउन योग्य पानी आउने वातावरणको सृजना गरिने छ,’ प्रमुख आचार्यले भने ।

You might also like

Comments are closed.