सुरेन्द्र पौडेल, पोखरा । चितवनका विपिन खतिवडा दसैं र तिहारको बीचमा परिवारसहित घुम्न निस्किए । उनको रोजाईमा पोखरा तथा आसपासको क्षेत्र प¥यो । उनी पोखरा त आए तर यहाँ बसेनन् । पोखराको फेवातालमा एक घन्टा बोटिङ गरिसकेपछि एउटा रेष्टुरेन्टमा खाना खाए र सिधैं कुस्मातर्फ मोडिए । एक रात कुस्मा बसे र भोलिपल्ट मुस्ताङ पुगे । मुस्ताङमा एकरात बसाईंपछि फर्कने क्रममा समेत उनले पोखरामा साँझको खाना मात्रै खाए र चितवन फर्किए ।
बुटवलबाट शैक्षिक भ्रमणमा विद्यार्थी लिएर आएको बस पोखरामा गुड्यो मात्रै अडिएन । उनीहरुको हतारो थियो साँझसम्म घान्द्रुक पुग्ने र त्यतै बस्ने । आन्तरिक पर्यटकमात्रै होइन विदेशी पर्यटकहरुसमेत पोखरालाई ट्रान्जिट बनाएर केही समयमा नै ट्रेकिङ लगायत अन्य गन्तव्यमा मोडिने क्रम बढ्दो छ । पछिल्लो समय पर्यटकका लागि पोखरा ट्रान्जिट पोइन्ट बन्दै गइरहेको पोखराका पर्यटन व्यवसायीहरुसमेत बताउँछन् ।
पर्यटकका लागि पोखरा ट्रान्जिट पोइन्ट बन्दै जानु यहाँको पर्यटनका लागि चिन्ताको विषय भएको बताउँछन् नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी । ‘पोखरा पहिला डेस्टिनेशन थियो भने अहिले ट्रान्जिट पोइन्ट हुँदै गएको छ,’ उनले भने, ‘रोड एक्सिस सजिलो हुँदैछ । अब नयाँ कुरा नआउँदासम्म पर्यटक पोखरामा अडिदैनन् । यसतर्फ सबैको चासो जान आवश्यक छ ।’
पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी भइरहेको बताउँदै अब दीर्घकालीन सोचका साथ पर्यटनको नीति बनाउनुपर्ने रेग्मीले बताए । ‘पर्यटनका क्षेत्रमा काम गर्नेहरुले धेरै कुरा ख्याल गर्न आवश्यक छ । पर्यटकलाई दिने सुविधा के हो ? फुड क्वालिटी कस्तो हो ? के कुराले पर्यटक तान्ने ? यातायातको सुविधा, संरचनाहरु कस्तो हुनुपर्ने ? ट्राभल एजेन्सी, इन्फरमेसन, ट्रेकिङ लगायतका कुरामा ध्यान दिनुपर्छ,’ उनले भने ।
पर्यटकले पोखरालाई ट्रान्जिट पोइन्ट बनाउने क्रम बढेकाले पर्यटकलाई पोखरामा रोक्नतर्फ सबैको चासो हुनुपर्ने बताउँछन् रिसर्चर तथा अध्यापक समीर बराल । ‘भारतीयहरु सिधै मुक्तिनाथ पुग्छन्, विदेशीको रोजाईमा पोखरा बाहिर ट्रेकिङ पर्दै आइरहेको छ । नेपालीहरु पनि आसपासका गन्तव्यमा मोडिन्छन्,’ उनले भने, ‘यसरी पोखरा पर्यटकको ट्रान्जिट पोइन्ट बन्ने क्रम बढ्नु यहाँको पर्यटनको लागि राम्रो पक्ष होइन ।’ दीगो पर्यटन विकासका लागि यहाँ पर्यटकीय गतिविधि बढाउँदै पर्यटकलाई भुल्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
पोखरा पर्यटकका लागि आकर्षक गन्तव्य रहेको तर नयाँ संरचनाहरु नथपिएको बताउँछन् युवा पर्यटन व्यवसायी आग्रह अर्याल । पोखरामा पर्यटकको बसाईं अवधि बढाउन सबैले पहल गर्नुपर्ने उनको भनाइ छ । होटल संघ पोखराका कार्यसमिति सदस्यसमेत रहेका अर्यालले पर्यटनको दीगो विकासका लागि निजी क्षेत्र, स्थानीय तह, प्रदेश र संघीय सरकार मिलेर संयुक्त रुपमा काम गर्नुपर्ने बताए ।
पोखराको पर्यटनमा खासै कसैको पनि चिन्ता नै देखिदैन । पर्यटक आएभने सेवा दियो केही कमायो । आएनन् भने राज्यलाई दोष दियो पर्यटक आएनन् भन्यो बस्यो । यस्तो अवस्थाको अन्त्य हुनुपर्ने लेकसाइडका एक पर्यटन व्यवसायीले बताए । ‘पर्यटन क्षेत्रमा गम्भिर भएर लागेको पाइदैन ।’ लेकसाइडलाई पर्यटनको केन्द्र मानिन्छ तर लेकसाइड नै पर्यटकमैत्री बन्न नसकेको उनको भनाइ छ । ‘सडकमा फोहर फालिएको छ । नालीमा ढल गनाएको छ । हामी सबै सुध्रिनुपर्छ,’ उनले भने ।
समीर बराल, रिसर्चर तथा अध्यापक
पर्यटकले पोखरालाई ट्रान्जिट पोइन्ट बनाउने क्रम बढेकाले पर्यटकलाई पोखरामा रोक्नतर्फ सबैको चासो हुनुपर्छ । भारतीयहरु सिधै मुक्तिनाथ पुग्छन्, विदेशीको रोजाईमा पोखरा बाहिर ट्रेकिङ पर्दै आइरहेको छ । नेपालीहरु पनि आसपासका गन्तव्यमा मोडिन्छन् । यसरी पोखरा पर्यटकको ट्रान्जिट पोइन्ट बन्ने क्रम बढ्नु यहाँको पर्यटनको लागि राम्रो पक्ष होइन ।
आग्रह अर्याल, कार्यसमिति सदस्य, हान पोखरा
पोखरा पर्यटकका लागि आकर्षक गन्तव्य नै हो । तर नयाँ संरचनाहरु खासै थपिएका छैनन् । अब पोखरामा पर्यटकको बसाईं अवधि बढाउन सबैले पहल गर्नुपर्छ । पर्यटनको दीगो विकासका लागि निजी क्षेत्र, स्थानीय तह, प्रदेश र संघीय सरकार मिलेर संयुक्त रुपमा काम गर्नुपर्छ ।
Comments are closed.