पोखरा । पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका दुई महत्वपूर्ण उद्योग वाणिज्य संघहरूलाई स्वागत गर्दै साझा व्यावसायिक मुद्दाहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पोखरा तथा आसपासको क्षेत्र भ्रमणमा रहेका सिद्धार्थ उद्योग वाणिज्य संघ (भैरहवा) र नवलपुर उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डललाई पोखरा उद्योग वाणिज्य संघले शनिबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी आफ्नो कार्यालयमा स्वागत गरेको हो।
स्वागत कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा निजी क्षेत्रको दबाबमूलक भूमिकाको स्मरण गराउँदै यसको दिगो सञ्चालनका लागि संघले निरन्तर पहल गरिरहेको बताउनुभयो। उहाँले चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुबाट पोखरा सिधा उडान सञ्चालन गर्न सके पोखरा र भैरहवा दुवै विमानस्थललाई जीवन्त राख्न महत्वपूर्ण हुने र यसले नवलपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपाल उद्योग वाणिज्य महासंघको आगामी अधिवेशनमा आफूले जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी गराउँदै पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको अपेक्षा राख्नुभयो। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले पोखरा र सिद्धार्थ उद्योग वाणिज्य संघ लगभग सँगसँगै स्थापना भएको र दुवै नेपाल उद्योग वाणिज्य महासंघका संस्थापक सदस्य रहेको ऐतिहासिक सम्बन्धबारे चर्चा गरे ।
त्यस्तै, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ आचार्यले गण्डकी प्रदेशको भाग्यरेखासँग जोडिएको कोरला नाका सञ्चालनमा ल्याउन सके यस क्षेत्रका व्यवसायीहरूलाई ठूलो फाइदा पुग्ने बताए । उनले नवलपुर र पोखरा उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै साझा हितका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न यस क्षेत्रका सबै उद्योग वाणिज्य संघहरूले एकीकृत रूपमा सरकारलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्व अध्यक्ष राम कुमार शर्मा, नवलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डासुराज पोख्रेल लगायतले पनि बोल्दै आपसी सहकार्य र क्षेत्रीय विकासका विषयमा आफ्ना धारणा राखेका थिए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य र वाणिज्य उपाध्यक्ष बलराम आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ,भने कार्यक्रमको सञ्चालन संघका उपमहासचिव सुदीप प्रधानाङ्गले गरेका थिए । कार्यक्रममा संघका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ, पूर्व उपमहासचिव हिरा भट्टराई तथा कार्यसमिति सदस्यहरु जीवनकुमार श्रेष्ठ, नविन नापित, दुर्गा बराल, प्रदिप राज भण्डारी, टिकाराम सुवेदी, मनोहरि पौडेल, रामचन्द्र तिमल्सेना लगायतको उपस्थिति रहेको थियो।
छुट्टाछुट्टै आयोजना गरिएका यी स्वागत तथा छलफल कार्यक्रममा तीनवटै संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले आ-आफ्ना सुझावहरू प्रस्तुत गर्दै भविष्यमा साझा मुद्दाहरूमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।
Comments are closed.