पोखरा । पोखरा–काठमाडौं सडक यात्रालाई थप आरामदायी, सुरक्षित र सुविधा सम्पन्न बनाउने उद्देश्य सहित पोखरा जगदम्बा ट्राभल्सले अत्याधुनिक भीआईपी लक्जरी बस सेवा सञ्चालनमा ल्याएको छ।
यात्रुको सुविधा र आरामलाई केन्द्रमा राखेर सञ्चालनमा ल्याइएको नयाँ बसमा लामो दूरीको यात्रालाई सहज बनाउने आधुनिक प्रविधि र सुविधा समावेश गरिएको छ।
बसको मुख्य आकर्षणका रूपमा थाइ–रेस्ट सहितका आरामदायी सिट, विद्युत् स्विचमार्फत सिटलाई तलमाथी गर्न मिल्ने रिक्लाइनिङ सिट तथा नेपालको पहाडी सडकका लागि उपयुक्त डबल सस्पेन्सन प्रणाली रहेका छन्। यी सुविधाले यात्राका क्रममा हुने कम्पन र थकानलाई कम गर्दै यात्रुलाई सहज अनुभूति गराउने सञ्चालक केशब अधिकारीले जानकारी दिए । अधिकारीले पोखरा–काठमाडौं रुटमा यात्रुको अपेक्षा र आवश्यकतालाई ध्यानमा राखेर यो सेवा सञ्चालनमा ल्याइएको बताए।
पोखरा काठमाडौं पोखरा गरि दुई वटा बसबाट सेवा सञ्चालन हुनेछ । एकतर्फ भाडा र खाना सहित २१ सय रुपैयाँ र खाना बाहेक १७ सय रुपैयाँ रहेको अधिकारीले जानकारी दिए । दुई वटा बसको करिब ३ करोड लागतमा सञ्चालनमा ल्याएको बताए ।
पर्यटनको राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने यो सेवा आन्तरिक पर्यटक, व्यवसायी तथा नियमित यात्रुका लागि आकर्षक विकल्प बन्ने विश्वास गरिएको छ। आधुनिक सुविधा, सुरक्षित यात्रा र आरामदायी बस सेवाले लामो दूरीको सडक यात्रामा नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।



Comments are closed.