पोखरा महानगरपालिकाको बजेट : फेवाताल संरक्षणदेखि आकाशेपुल निर्माणसम्म

 

सन्देश श्रेष्ठ

पोखरा, १० असार

jutta mela

देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ७ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको पाचौं नगरसभामा मंगलबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७६÷७७ का लागि ७ अर्ब ५४ लाख रुपैंयाँको बजेट प्रस्तुत गरेकी हुन् । उनले कुल बजेट मध्ये प्रशासनिक खर्चमा २ अर्ब १५ करोड ५४ लाख ४० हजार, विभिन्न कोषहरुमा ४० करोड, संसद विकासका कोष कार्यक्रमका लागि १४ करोड तथा विभिन्न विषयगत समितिहरुको पँुजीगत खर्च ४ अर्ब ७० करोड ९९ लाख ६० हजार विनियोजित गरिएको घोषणा गरिन् ।

प्रस्तुत बजेटको खर्च बेहोर्ने श्रोतमध्ये संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख ८० हजार रुपैंयाँ, गण्डकी प्रदेश सरकारबाट ४७ करोड ९६ लाख ८३ हजार रुपैयाँ र आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख १७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ ।

महानगरले साढे ६८ करोड रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको छ । घाटा बजेटमध्ये १० करोड बैदेशिक ऋण तथा अनुदानबाट, ३६ करोड ५० लाख जनसहभागिताबाट र बाँकी २२ करोड चालु आर्थिक वर्षमा रहन जाने मौज्दात रकमबाट २२ बेहोरिने जनाइएको छ ।

महानगरपालिकाले नेपाल सरकारबाट प्राप्त हुने रकम मध्येबाट वित्तीय समानीकरण अनुदानतर्फ ६० करोड २ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १ अर्ब १७ करोड २७ लाख रुपैयाँ र विशेष अनुदान १५ करोड रुपैयाँ प्राप्त गर्ने जनाएको छ । त्यसैगरी समपुरक अनुदानतर्फ १७ करोड ५० लाख, राजस्व बाँडफाँड बापत ४१ करोड ९९ लाख, सामाजिक सुरक्षामा ६० करोड, सडक बोर्डमा ३ करोड, सहरी स्वास्थ्य पूर्वाधारमा ५ करोड, सांसद विकास कोषबाट १२ करोड र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट २ करोड रुपैंया असुली गर्ने अनुमान गरेको छ ।

महानगरपालिकाले प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २ करोड १४ लाख ४४ हजार, सशर्त अनुदान २ करोड, विशेष अनुदान १२ करोड, समपुरक अनुदान २० करोड र राजस्व बाँडफाँडतर्फ ३ करोड ८२ लाख ३९ हजार रुपैंया अनुदान प्राप्त हुने अनुमान गरेको छ ।

महानपालिकाले सडक कनेक्टीभिटीदेखि आकाशेपुल निर्माणसम्मलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी बनाउनका लागि ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन गरेको छ । निर्माण शुरु गरिएका भोटीखोला मोटरेबल पुल, घोरकुना मोटरेबल पुल, फिर्के खोला मोटरेबल पुल निर्माणलाई निरन्तरता दिँदै अन्य चार स्थानमा पक्की पुल निर्माणको लागि २३ करोड २८ लाख ३५ हजार रुपंैयाँ विनियोजन गरेको छ ।

महानगरपालिकाले निर्माण शुरु गरिएका वडा नम्बर २, ११, १२, ३०, ३२, १९ र २२ का वडा कार्यालय भवन निर्माण सम्पन्न गर्नका लागि २४ करोड ९७ लाख ५३ हजार रुपैंयाँ विनियोजन गरेको छ । महानगरपालिकाले आफ्नै कार्यालय भवन निर्माण कार्य अगाडि बढाउन ६ करोड रुपैंयाँ विनियोजन गरेको छ ।

महानगरले सिर्जनाचोकमा सुरु गरिएको आकाशे पुल निर्माणलाई आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने, महानगरका व्यस्त चोकहरुमा ओभरहेड र सब–वे संरचना निर्माण, अध्ययन डिजाइनको कार्यलाइ अगाडि बढाउन बजेट विनियोजन गरेको छ । महागनरले सडक पार्किङलाई निरुत्साहित गरी सार्वजनिक निजी साझेदारीमा पार्किङस्थल निर्माण गर्ने, महानगरपालिका क्षेत्र भित्र अटो भिलेज निर्माणका लागि अध्ययन तथा सर्वेक्षण गर्ने, उज्यालो पोखरा कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्तीको व्यवस्थापन गर्ने भन्दै बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर कायम गर्न ई—टिकेटिङ लागू गर्न बस व्यवसायीहरुसँग समन्वय गर्ने, महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक लगायतका स्थानमा ट्राफिक लाइट जडान गर्ने, मुख्य सहरी सडक अस्फाल्ट कंक्रिट गर्ने कार्यलाई निरन्तरता दिने, लेक टु लेक केभ टु केभ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गर्ने, पोखरा सभागृह मर्मत सम्भार गर्नुका साथै २ सय ५० सिट क्षमताको सेमी हल निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ । महानगरपालिकाले मुख्य सहरी क्षेत्र तथा बजार क्षेत्रमा सिसी क्यामेरा जडान कार्य गर्नका लागि २ करोड बजेट छुट्याएको छ ।

महानगरपालिकाले सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधार निर्माण, सराङकोट पर्यटन पूर्वाधार निर्माण, पातलो छाँगोमा सिसाको पुल निर्माण कार्यका लागि सार्वजनिक निजी साझेदारी कोष स्थापना गर्ने जनाएको छ । महानगरलाई डिजिटल सिटी गुरुयोजना निर्माण गर्ने, पोखराको भू—उपयोग नीति अध्यावधिक गरी नक्साकन गर्ने, वडा नम्बर ३३ स्थित तल्लो पुँडीमा औद्योगिक क्षेत्र स्थापना गर्ने, सडकमा रहेका विद्युत, टेलिफोन तथा इन्टरनेट तार अन्डरग्राउन्डको लागि विशेष योजना सञ्चालन गर्ने बताएको छ ।

महानगरपालिकाले प्रशासन र सेवा प्रवाह सुधारको कार्यलाई निरन्तरता दिने, कर्मचारी र जनप्रतिनिधिको विमा गर्ने, कर्मचारीको सञ्चयकोष जम्मा गर्ने, आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि कर्मचारीलाई वार्षिक एक पटक बढिमा ७ दिन कार्यालयले तोकेको समयमा नियमानुसार भ्रमण भत्ता पाउने गरी घुम्न पठाउनका लागि बजेट छुट्याएको छ ।

महानगरपालिकाले एक वडा एक नमुना सहकारी, एक सहकारी एक उत्पादन, दैनिक उपभोग्य बस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने सहकारी संस्थाहरुलार्ई छुट तथा अनुदानको व्यवस्था गर्नुका साथै सुपथ सहकारी पसल सञ्चालनको लागि समवन्य गर्ने जनाइएको छ । महानगरपालिकाले एक प्रादेशिक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री विद्यालय सञ्चालन, पोखरा प्राविधिक शिक्षालय सञ्चालन, महानगर अनुसन्धान तथा विकास केन्द्र स्थापना गरी अध्ययन अनुसन्धान गर्न बजेट विनियोजन गरेको छ ।

महानगरले आधुनिक र व्यवस्थित पशु बधशाला निर्माण गर्ने, वैकल्पिक ल्यान्डफिल साइट खोजी एवं सम्भाव्यता अध्ययन गर्ने भन्दै बजेट छुट्याएको छ । फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा फेवातालमा सिल्ट्रेसन ड्याम निर्माण तथा जलाधार क्षेत्र संरक्षण आयोजनाका लागि ३३ करोड ७९ लाख ४३ हजार रुपैंयाँ विनियोजन गरेको छ । एक वडा एक फलफूल बगैचा, एक विद्यायालय दश बिरुवा रोप्ने कार्यलाई अगाडि बढाउने, पार्कहरुलाइ व्यवस्थित गर्ने, राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माणलाई निरन्तरता दिने, खुल्ला स्थानहरुमा सर्भिस स्टेसन तथा सार्वजनिक शौंचालय निर्माण कार्यलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको छ । महानगरले सराङकोट, कास्कीकोट, भदौरे, पुम्दीभुम्दी जोड्ने पैदल मार्ग र दिपाङ ताल लगायतका स्थानमा पैदल मार्ग निर्माणको लागि पनि बजेट छुट्याएको छ भने काहँु धरहरा र ठूलाकोट पर्यटन पूर्वाधार निर्माण तथा संरक्षणका लागि पनि बजेट विनियोजन गरेको छ ।

महानगरले पोखरेली मसिना चामल तथा जेठोबूढो चामल उत्पादनमा जोड दिन उत्पादनको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने भन्दै त्यसका लागि बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले महिला सशक्तीकरण र उद्यमशीलता विकासको लागि उपप्रमुखसँग महिला कार्यक्रम, ५० महिला उद्यमी ५ सय महिला रोजगार कार्यक्रमको निरन्तरता, युवालाई उद्यममा प्रेरित गर्न युवा उद्यम कार्यक्रम सञ्चालन गर्न, गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण गर्नुका साथै वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण गर्न बजेट छुट्याएको छ । साथै महानगरले एक वडा एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिने बताएको छ । उसले ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने बताएको छ । महानगरले ‘एक घर एक धारा’ अभियानलाई जोड दिएको छ ।

 

महानगरले विद्यालयमा स्थानीय भाषामा कक्षा सञ्चालनको लागि आवश्यक पाठ्यक्रम तर्जुमा गरी सम्बन्धित भाषाभाषीहरुको बाहुल्यता रहेका क्षेत्रका विद्यालयमा लागू गर्न, परम्परागत तथा मौलिक पेशा, व्यावसाय र लोपोन्मुख कला, ज्ञान र सीपको पहिचान गरी सोको संरक्षण र सम्वद्र्घन लागिपनि बजेट विनियोजन गरेको छ । महानगरले पोखरा २७ अर्चेलस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भन्दै ५० लाख विनियोजन गरेको छ भने महानगर प्रज्ञा प्रतिष्ठान गठन र सञ्चालन गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।

महानगरले करको दर भन्दा करको दायरा बढाउने नीति अवलम्वन गरेको जनाएको छ । उसले करको दायरा बिस्तारका लागि महानगर कर अभियान वर्ष नै सञ्चालन गर्ने बताएको छ । सम्पत्तिकर, व्यवसाय कर, वहालकर तथा अन्य कर र शुल्क संकलनका लागि विभिन्न ५ स्थानमा कर संकलन केन्द्र स्थापना गरी सञ्चालन गर्ने, विना नक्सा निर्माण भएका घरहरुको कर निर्धारण गर्दा धरौटी राख्ने व्यवस्था गर्ने, बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्दा, धारा बिजुली जडान गर्दा, मालपोत कार्यालयमा घर जग्गा पास गर्दा अनिवार्य कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गर्ने जनाइएको छ । महानगरले हालसम्म करको दायरामा नआएका करदाताहरुले यस भन्दा अगाडि आफूले तिर्नुपर्ने कर स्वयंकर घोषणा गरी कर तिर्न सक्ने व्यवस्था मिलाउने जनाएको छ ।

You might also like

Comments are closed.