पोखरा । ‘उत्तेजनाको राजनीति गर्ने, खोक्रो राष्ट्रबादी, अतिवादी एजेण्डा भएको, हावामा महल बनाउने र विकास र समुन्नति कागजमै सीमित गर्ने केपी ओली नेतृत्वको सरकारले चाहे पोखरा महानगरमा होस् वा केन्द्रमा कहिं पनि जनताको जनअपेक्षा अनुसार कार्य गर्न सकेन यो कुरा जगजाहेर छ,’ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको चुनावी घोषणा पत्रमा लगाइएको आरोप हो यो । प्रतिबद्धता पत्रमा थप लेखिएको छ, ‘पोखरालाई समुन्नत, आधुनिक सुबिधासहितको अन्तर्राष्ट्रियस्तरको शहरको रुपमा विकास गर्नका लागि गठबन्धनको नेतृत्व आवश्यक भएको र हामी गफ, ढाँट, षड्यन्त्र र छलकपटमा भन्दा काममा विश्वास गर्ने, नियम कानुन, नीति, सिद्धान्त र कार्ययोजना बमोजिम कर्म क्षेत्रमा प्रतिबद्धता सहित निर्वाचनमा आएका छौं ।’
२०७९ जेठ ३० गते स्थानीय तहको निर्वाचनमा एकातिर एमाले र अर्कोतिर काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको गठनबन्धन थियो । गठबन्धनले स्थानीय तह बाँड्ने क्रममा पोखराको टिकट एकीकृत समाजवादीका धनराज आचार्यले उछिट्याउन सफल भए । एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै गठबन्धनले जनता पट्याउने प्रतिबद्धताहरु सार्वजनिक गरे । तिनै प्रतिबद्धताहरुको आडमा तत्कालीन गठबन्धन धनराजलाई मेयर उम्मेदवार बनाएर चुनावी अभियानमा अगाडि बढ्यो ।
भाषणकलामा सिपालु धनराजले गठबन्धनबाट टिकटमात्रै हात पारेनन् चुनाव पनि जिते । गठबन्धनको मतसँगै एमाले भित्रको अन्तरद्वन्द्वको फाइदा लिदै उनी विजयी बने । चुनाव अगाडि नेताहरुले कस्ता प्रतिबद्धता गर्छन् र जनता झुक्याउँछन् भन्ने हरेक निर्वाचनमा जनताले भोगेकै छन् । त्यतिबेला जनतालाई अन्य नेता भन्दा धनराज केही फरक पनि लागेकै थियो । चुनाव अगाडि धनराज नेता कम थिए, नेता भन्दा पनि उनको व्यक्तित्व व्यावसायिक र सामाजिक थियो ।
व्यावसायिक क्षेत्रमा सफलता प्राप्त गरेका धनराजले समग्र पोखराको विकासमा पनि राम्रै काम गर्छन् भन्ने पोखरेली जनताले विश्वास गरेकै हुन् । अन्य उम्मेदवार भन्दा धनराज नै ठीक छन् भन्ने जनतालाई लाग्यो । भौगोलिक हिसावले पनि देशको सबैभन्दा ठूलो महानगरपालिकामा अन्नत धनराज आचार्य कुल ५८ हजार ८ सय ९३ मतसहित विजयी भए । प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका थिए । धनराजले ६ हजार ४५ मतान्तरले जितेका हुन् । २ लाख ७ हजार मतदाता रहेको पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।
स्थानीय तह निर्वाचन भएको ३ वर्ष पुरा भएको छ । देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल अब २ वर्षमात्रै बाँकी छ । मत गणना सकिएपश्चात २०७९ जेठ ११ गते धनराज पोखराको मेयर घोषित भए । १२ गते उनले फूलरोपण गरी कार्यकाल शुभारम्भ गरे । फूलको बगैँचाजस्तै ‘सुन्दर पोखरा’को परिकल्पना गर्र्दै उनले फूलरोपण गरेका थिए । रोपिएको फूल सोही रात हरायो । त्यतिबेला फूल मात्रै हरायो । तर, अहिले जनताले मत दिने क्रममा धनराजप्रति गरेको आशा र भरोसा पनि हराएका छन् ।
फूल रोपेर कार्यकाल सुरु गरेको ३ वर्ष पुग्नै लाग्दा धनराजले मेयर हुनु अगाडि गरेका प्रतिबद्धताहरु कता हराए ? धेरैले प्रश्न गर्न सुरु गरेका छन् । मेयरले जनताको विश्वास जित्नेगरी काम गर्न नसकेकाले नागरिकमा निराशा छाएको देखिन्छ । ‘धनराजबाट लाभ लिएकाहरु बाहेक कुनै पनि जनता उनीबाट खुसी छैनन्,’ त्यतिबेला उनलाई मेयर जिताउने अभियानमा अग्रभागमा खटिएका कास्की काँग्रेसका एक नेता भन्छन्, ‘किन उनलाई मेयर बनाइएछ भनेर पछुतो लागेको छ ।’
मेयरको कार्यशैलीप्रति जनतामात्रै होइन महानगरका अधिकांश जनप्रतिनिधिहरु र कर्मचारीहरु पनि सन्तुष्ट छैनन् । थोरैले मात्र सार्वजनिक रुपमा मेयरको आलोचना गर्ने ल्यागत राख्छन् भने धेरैले आलोचनालाई मौन राख्ने गरेका छन् । ‘मेयर सापको काम गर्ने शैली आफ्नो पारिवारक व्यवसाय र सामान्य संघसंस्था चलाएको जस्तो देखिन्छ,’ एक कर्मचारी भन्छन्, ‘तीन वर्ष हामीले झेलिसक्यौं । अब दुई वर्षसम्म यसरी नै झेल्नुको विकल्प छैन ।’ ती कर्मचारीले भनेजस्तै मेयर धनराजलाई धेरैले ‘लायन्स’ क्लब चलाए जसरी महानगर चलाएको आरोप पनि लगाउने गरेका छन् । आफू लायन्सको गभर्नर हुँदा जुन शैली अपनाएका थिए आचार्यले पनि सोही शैलीबाटै मेयरको कार्यकालको सुरुवात गरेका थिए । कार्यकालको सुरुवातमा महानगरभन्दा बाहिरको एक रिसोर्टमा जनप्रतिनिधिलाई ३ दिनसम्म ‘कैद’ गरेर उनले प्रशिक्षण दिए । त्यतिबैलै मेयरको लायन्स शैली ठिक भएन भनेर धेरैले आलोचना सुरु गरेका थिए ।
त्यतिबेला उनलाई मेयर जिताउने अभियानमा अग्रभागमा खटिनेहरु नै अहिले उनको चर्को आलोचना गर्छन् । यसको पछाडिको कारण हो उनले जनतालाई महसुस हुने गरी महानगरमा सुधारको काम गर्न नसक्नु । चुनावी अभियानमा गरेका प्रतिबद्धताहरु गायब भएको धनराज स्वयमले पनि अनभूत गरेकै हुनुपर्छ । काम गर्न नसकेपछि अरुलाई दोष दिने राजनीतिक संस्कार नै बनेको छ । धनराज झन् बोल्न सिपालु छन्, उनले आफूलाई माथि पार्न घन्टौं भाषण दिन सक्छन् । मेयर कार्यकारी पद हो । कार्यकारी पदमा बसेको व्यक्तिले काम गर्ने हो भाषण होइन् । तर धनराज काम भन्दा बढी भाषणा गर्छन् भन्ने कुरा बुझ्न उनी वक्ता भएको जुनसुकै कार्यक्रममा सहभागी भएपनि सहजै बुझ्न सकिन्छ ।
धनराजको कार्यकाल सकिन अब २ वर्ष मात्रै बाँकी छ । तर २ वर्ष बाँकी छदै धेरैले धनराजलाई ‘असफल मेयर’को उपमा दिन सुरु गरिसकेका छन् । चुनावी अभियानमा उनले गरेका प्रतिबद्धता र उनको कार्यशैलीलाई समिक्षा गर्ने हो भने पनि उनको कार्यकाल असफलतातर्फ नै अगाडि बढेको महसुस गर्न सकिन्छ । मेयर भएको ३ महिनामा पुरा गर्छु भनेका अधिकांश काम ३ वर्ष पुग्दा पनि सुरु हुन नसकेपछि उनको चुनावी प्रतिबद्धता फगत कागजको खोस्टोमा मात्रै परिणत बनेको छ ।
नारामै सीमित ‘समुन्नत पोखरा’
‘समुन्नत पोखराको आधार : सवल अर्थतन्त्र र पूर्वाधार’ नारासहित गठबन्धनले १६ पृष्ठमा चुनावी प्रतिबद्धता सार्वजनिक गरेको थियो । चुनाव जित्नका लागि जनताको भन्दा काँग्रेसको मन जित्नुपर्नेमा धनराज जानकार थिए । चुनावी अभियानमा उनको भाषण सुन्दा जनताको मन जिन्न भन्दा काँग्रेस नेताहरुको विश्वास जित्नमा बढी समय खर्चिएको आभास हुन्थ्यो । ‘जय नेपाल’को नारा लगाउँदै चुनावी अभियानमा चर्को भाषण गर्थे उनी । काँग्रेसको चाकडी गरिसकेपछि गठबन्धनको साझा चुनावी प्रतिबद्धता पुरा गर्ने संकल्प गर्न भुल्दैनथे ।
धनराजको चुनावी घोषणामा समेटिएका मुख्य प्रतिबद्धताहरुमा महानगरीय खेलकुद र आइटी एकेडेमी, मेट्रो अस्पताल, मेट्रो लाइब्रेरी, पहिलो ६ महिनामा ३ हजारलाई रोजगारी, ५ सेटलाइट टाउन निर्माण, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, आवास सहकारी लगायतको घोषणा गरिएको थियो । लामेआहालदेखि लेकसाइडसम्म सडकको दायाँबाया इलेक्ट्रिक ट्रेन बनाउने घोषणा नै गरेका थिए । ३ महिनाभित्र सुरु गर्छु भनेका अधिकांश कामहरु ३ वर्षसम्म पनि सुरु हुन सकेका छैन । जुन कामहरु धनराज मेयर हुँदा अबको २ वर्षमा पनि सुरु हुन सक्ने आधार देखिएका छैनन् । कमजोर सचिवालय, कर्मचारीमा उत्साह ल्याउन नसक्नु, सानो सानो काममा अल्झुनु, सीमित व्यक्तिहरुको घेराबन्दी लगायतले मेयरलाई असफतातर्फ धकेलिरहेको उनकै नजिक रहेर काम गर्नेहरु बताउँछन् ।
महानगरपालिकाको सुविधासम्पन्न कार्यालय भवन निर्माण गर्नेदेखि अटोभिलेजसम्मको प्रतिबद्धता मेयरले गरेका थिए । केपी ओलीको चर्को आलोचना गर्ने गठबन्धन उम्मेदवारले केपी ओलीकै शैलीमा ‘सुरुङ मार्ग’को सपना देखाउनसमेत पछि परेनन् । ‘पोखरा महानगरमा नमूना सुरुङ मार्गको मार्ग चित्र तयार गरिनेछ,’ भनेर जनतामा सपना देखाए ।
कहिले पुरा हुन्छन् ती प्रतिबद्धता ? कहिले बन्छ पोखरामा अटो भिलेज ? कहिले बन्छ हवाई कम्पनी स्थापना ? कहिले पाउँछन् भूमिहीनले जग्गाधनी पूर्जा ? पोखरा ३३ मा कहिले बन्छ अन्तर्राष्ट्रिय क्रिकेट मैदान ? कहिले बन्छ पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ? लामेआहालदेखि लेकसाइडसम्मको सडकको दायाँबायाँ कहिले चल्छ इलेक्ट्रिक ट्रेन ? ५ वटा सेटलाइट टाउन कहिले बन्छन् ? पोखराका तालहरुबाट रारासम्म कनेक्टिङ फ्लाइट कहिले हुन्छ ? कहिले सुरु हुन्छ चक्रपथ निर्माणको काम ? व्यस्त सडकमा कहिले बन्छन् आकाशे पुल ? तालहरु जोड्नेगरी साइकल लेन कहिले बन्छ ? अब यस्ता धेरै प्रश्नहरुको सामना गर्न मेयर धनराज आचार्य तयार हुनुपर्ने देखिन्छ ।
धेरै आलोचनाकाबीच, निराशाबीच पनि मेयर आचार्यले आशा जगाउने काम पनि गरेका छन् । विकास निर्माणमा केही परियोजनाहरु अगाडि बढेका छन् । सडक पूर्वाधारमा काम भइरहेको देख्न सकिन्छ । महाशाखाहरुलाई व्यवस्थित गर्ने, प्रशासनिक कार्यलाई छिटो छरितो र प्रभावकारी बनाउने काममा उनले राम्र्रै सपलता प्राप्त गरेको देख्न सकिन्छ । कतिपय परियोजना मानबहादुर जिसी मेयर हुँदा अगाडि बढेपनि धनराजको पालामा काम सुरु भएका छन् । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ, तर कार्ययोजना अनुसार काम हुन सकेको छैन । अन्त्यमा यति भन्न सकिन्छ, पोखरा महानगरमा हुनुपर्ने थोरै मात्रै काम भएका छन्, धेरै काम गर्न बाँकी छ ।
Comments are closed.