पोखरा–नेपालगञ्ज हवाई सेवाः पर्यटक बढ्ने विश्वास

पोखरा । कोभिड–१९ पछाडि पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन सम्बद्ध सङ्घ संस्थाले एकपछि अर्को गतिविधिलाई जोड्दै कार्यक्रम गरिरहेका छन् ।

भम्रण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने सपना कोभिड–१९ का कारण पूरा हुन नसकेपछि निजी क्षेत्रको पहलमा पछिल्लो समय आन्तरिक पर्यटकलाई लक्षित गर्दै पर्यटकीय गतिविधिमा जोड दिन थालिएको छ ।

हालै मात्र गण्डकी प्रदेशको राजधानी पर्यटकीय शहर पोखरा र व्यापारिक शहरको रुपमा चिनिने नेपालगञ्जलाई हवाई सेवामार्फत जोड्ने काम निजी क्षेत्रबाट भएको छ । यही फागुन ७ गते नेपालगञ्जबाट नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्टस् ९नाट्टा०को टोली र नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशम्शेर राणासहितको जनप्रतिनिधि एवम् पर्यटन व्यवसायीसमेतको टोलीले सीता एयरलाइन्सको चार्टर उडानबाट पोखरा आएर यसको शुभारम्भ गरेका थिए ।

jutta mela

कोभिड–१९ ले सुस्ताएको पर्यटनलाई हवाई सेवामार्फत जोडेर आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सिधा उडान निकै सकारात्मक भएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जकान्त सिग्देलले बताए । “लामो समयको पहलपछि पोखरा नेपालगञ्ज हवाई एयर सेवा शुभारम्भ भएको छ । आशा छ, यसले आन्तरिक पर्यटन प्रवद्र्धनसँगै निकट भविष्यमा पनि भारतीय पर्यटकलाई पोखरा आउने वातावरण सिर्जना गर्नेछ”, उनले भने । कोभिडका कारण छिमेकी देशका नाका पनि सुचारु हुन नसकेको अवस्थामा आन्तरिक पर्यटनको बजार खोज्दै र प्रवद्र्धन गर्दै नाट्टा अघि बढेको उनले बताए । उनका अनुसार देश दर्शन कार्यक्रमलाई लक्षित गरेर अहिले हप्तामा दुई दिन शुक्रबार र आइतबार पोखरा नेपालगञ्ज उडान गरिएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पर्यटन क्षेत्रका लागि निकै सकारात्मक प्रयास भएको बताए । “पर्यटन क्षेत्रको विकासका लागि हवाई र ‘रोड कनेक्टिभिटी’ महत्वपूर्ण हुन्छ, अहिले मानिस निकै व्यस्त छन्, छोटो समयमा धेरै ठाउँ घुम्न चाहन्छन्, ‘हवाई कनेक्टिभिटी’ले समयको बचत गराउँदछ”, उनले भने, “हवाई सेवाले दुई प्रदेशमात्र नभई भारतीय पर्यटकलाई पनि पोखरा आउन सहज बनाउने छ ।” उनका अनुसार अहिले भारतीय नाकाबाट फाट्टफुट्ट पर्यटक आएका छन्, गाडीलाई भने रोक लगाइएको छ । जसले गर्दा पर्यटक खुलेर आउन सकेका छैनन् । घुम्न चाहने पर्यटक दुविधामा छन् । अब सरकारले नाका खुलेको आधिकारिक घोषणा गरेर पर्यटकलाई नेपाल घुम्न वातावरण बनाइदिनुपर्छ ।

अध्यक्ष भट्टराईले भने, “कोभिडपछि नेपाल खुला छ भन्ने सन्देश दिन आवश्यक छ । कतिपय देशले कोभिड पछाडि कसले बढी पर्यटक ल्याउने भन्ने रणनीतिक तयारीमा लागिरहेका छन् । यस्तो अवस्थामा नेपालले पनि छिटोभन्दा छिटो पर्यटकमैत्री नीतिमार्फत सहज वातावरण बनाएर पर्यटक भित्र्याउन पहल गर्नुपर्छ ।”

आन्तरिक पर्यटन प्रवद्र्धन समिति गण्डकीका संयोजक अग्नि कँडेलले पर्यटकीय गतिविधिलाई अगाडि लैजानुको विकल्प नभएको बताउँदै हालै पोखरा– नेपालगञ्ज उडानले पनि एउट सकारात्मक सन्देश दिएको छ उनले भने । अहिले २० प्रतिशत आन्तरिक पर्यटकनै नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाइरहेको उल्लेख गर्दै गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र नवलपुरबाहेक नौवटा जिल्लामा आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्रभावकारीरुपबाट अघि बढाउन समिति बनाएको उनले जानकारी दिए ।

You might also like

Comments are closed.