पोखरा रोयल सहकारी रजत वर्षमा, १० हजार बढी सदस्य, साढे २ अर्बको वासलत

पोखरा । पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्नो स्थापनाको २४ वर्ष पूरा गरी २५औं वर्ष (रजत वर्ष) मा प्रवेश गरेको छ । जेठ ८ गते रजत वर्षमा प्रवेश गरेको अवसरमा सहकारीले सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, शुभचिन्तक, सरोकारवाला तथा नियामक निकायप्रति हार्दिक आभार प्रकट गरेको छ ।

२५औं वर्षसम्मको यात्रामा निरन्तर साथ दिने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै सहकारीले आगामी दिनमा पनि सहकारीको मर्म र भावना अनुसार थप प्रभावकारी गतिविधिहरू सञ्चालन र सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

बलियो वित्तीय अवस्था र डिजिटल सेवा

सहकारीको वित्तीय अवस्था बलियो र सुदृढ छ । संस्थाका सूचना अधिकारी तथा मुख्य प्रबन्धक मीलन ढकालका अनुसार सहकारीमा शेयर सदस्य १० हजार ४ सय ४५ जना छन् । शेयर पूँजी १५ करोड ५१ लाख ८६ हजार रुपैयाँ, जगेडा कोषमा २२ करोड ५० लाख रुपैयाँभन्दा बढी मौज्जाद छ । कुल वासलत (ब्यालेन्स सिट) २ अर्ब ५२ करोड रुपैयाँ छ ।


सहकारीले आफ्ना सदस्यहरूलाई आधुनिक बैंकिङको अनुभूति दिलाउन डिजिटल बैंकिङ, क्यूआर कोड, एटीएम र मोबाइल बैंकिङ लगायतका प्रविधिमैत्री सेवाहरू प्रदान गर्दै आएको छ ।

सामाजिक उत्तरदायित्व र पुरस्कार

आफ्नो व्यावसायिक यात्राका क्रममा पोखरा रोयल सहकारीले ‘उत्कृष्ट करदाता पुरस्कार’, ‘उत्कृष्ट सहकारी पुरस्कार’ र ‘उत्कृष्ट व्यवस्थापक पुरस्कार’ लगायतका विभिन्न सम्मानहरू प्राप्त गर्न सफल भएको छ ।

व्यावसायिकतातर्फ मात्र केन्द्रित नभई संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ सयभन्दा बढी निरक्षर नागरिकलाई साक्षरता शिक्षा प्रदान गरिसकेको छ । साथै, स्थानीय उत्पादनको प्रवर्द्धनका लागि सहकारीले ‘सहकारी कोसेली घर’ समेत स्थापना गरी सञ्चालन गरिरहेको छ ।

पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको सहकारीले कास्कीको भण्डारढिक र मोहरिया तथा तनहुँको दुलेगौंडा सेवा केन्द्रमार्फत आफ्ना सदस्यहरूलाई सर्वसुलभ सेवा प्रवाह गर्दै आएको छ ।

You might also like

Comments are closed.