पोखरामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको पोखरा सडक महोत्सव, साढे दुई दशकभन्दा लामो निरन्तरतासँगै पोखराको पहिचान बनेको छ । सबैभन्दा ठूलो सकारात्मक उपलब्धि भनेको नेपाली पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्ष मनाउन विदेश जानैपर्छ भन्ने धारणलाई तोडेको छ । कुनै समय गोवा, थाइल्याण्ड वा अन्य विदेशी सहरतर्फ आकर्षित हुने नयाँ वर्षको उत्सव पोखरामा केन्द्रित हुनु आन्तरिक पर्यटनका लागि उत्साहजनक संकेत हो । यसले देशभित्रै रमाइलो, रोजगारी र आर्थिक गतिविधि सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । फुड, म्युजिक र कल्चरलाई एउटै प्लेटफर्ममा जोडेर पोखरा सडक महोत्सवले पर्यटनलाई केवल भ्रमण नभई अनुभूति बनाएको छ । यसले किसान, घरेलु उद्योग, साना व्यापारी र पर्यटन व्यवसायीलाई एउटै आर्थिक चक्रमा जोड्दै स्थानीय अर्थतन्त्रलाई जीवन्त बनाएको छ । यस्ता अभ्यासलाई थप व्यवस्थित गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता, गुणस्तर मापदण्ड र दीर्घकालीन बजार पहुँच सुनिश्चित गर्न सकियो भने यसको आर्थिक प्रभाव अझ दिगो बन्नेछ ।
यस्तै, भीड व्यवस्थापन, फोहोर व्यवस्थापन र वातावरणीय सन्तुलनका सवालमा पोखरा सडक महोत्सवले सिकाइका अवसर पनि दिएको छ । फेवातालजस्तो संवेदनशील पर्यावरणीय क्षेत्रसँग जोडिएको कार्यक्रममा उत्सव र वातावरणबीच सन्तुलन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्नु सबै सरोकारवालाको साझा दायित्व हो । सकारात्मक सहकार्यबाट उत्सवलाई अझ जिम्मेवार र हरित बनाउन सकिन्छ । सुरक्षा र व्यवस्थापनतर्फ पनि महोत्सवले निरन्तर सुधारको बाटो समातेको छ । आपतकालीन सेवा, स्वास्थ्य सहायता, ट्राफिक व्यवस्थापन तथा महिला र बालमैत्री वातावरणमा थप ध्यान दिँदै लगियो भने पोखरा सडक महोत्सव सुरक्षित र सभ्य उत्सवको राष्ट्रिय मानक बन्न सक्छ । उत्सवको सफलता केवल भीड वा कारोबारले होइन, कति सुरक्षित, समावेशी र अनुशासित बनाइयो भन्ने कुराले पनि मापन हुन्छ ।
अब राज्यका सम्बन्धित निकायहरूले पोखरा सडक महोत्सवलाई केवल निजी क्षेत्रको पहल भनेर सीमित दृष्टिले हेर्नु हुँदैन । यसबाट सिकिएका पाठलाई राष्ट्रिय पर्यटन नीति, योजना र बजेटमा समेट्न सकियो भने नेपालको पर्यटन क्षेत्रले नयाँ उचाइ लिन सक्छ । निजी क्षेत्रको ऊर्जा र सार्वजनिक नीतिको साथ मिल्दा पर्यटन विकास सम्भव छ भन्ने उदाहरण यही महोत्सवले दिएको छ । पोखरा सडक महोत्सव केवल नयाँ वर्ष मनाउने कार्यक्रम होइन । यो पर्यटन नीति, स्थानीय अर्थतन्त्र र राष्ट्रिय आत्मविश्वाससँग जोडिएको सकारात्मक अभ्यास हो । उत्सव सकिएपछि सडक सफा हुन्छ, संगीत रोकिन्छ, तर यसले दिएको सिकाइ, सम्भावना र आशा बाँकी रहनुपर्छ । यही सिकाइलाई आत्मसात् गर्दै नेपालले दीर्घकालीन पर्यटन सोच निर्माण गर्ने अवसर अहिले नै समात्नुपर्ने समय आएको छ ।




Comments are closed.