अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजित २७औँ पोखरा सडकले पोखरालाई उत्सव, संगीत, संस्कृति र आतिथ्यताको शहरका रूपमा पुनः एकपटक स्थापित गरेको छ । फेवातालको काखमा अवस्थित पोखराको मुटु लेकसाइडको मुख्य सडक, फिस्टेल गेटदेखि जरेबरसम्म फैलिएको करिब ३ किलोमिटर लामो क्षेत्र, पोखराको पर्यटन, सांस्कृतिक पहिचान र सामूहिक प्रयासको जीवन्त उत्सव बनेको छ ।
जाडोयामलाई पर्यटनको न्यून सिजन मानिने समयमा पोखराका अग्रज रेष्टुरेन्ट व्यवसायीहरूले ‘यस मौसममा पोखरामा कसरी पर्यटक ल्याउने र पोखरालाई विशेष आकर्षणको केन्द्र कसरी बनाउने ?’ भन्ने प्रश्न उठाउनुभयो । त्यही सोच र निरन्तर प्रयासको परिणामस्वरूप आज पोखरा सडक महोत्सव २७औँ संस्करणसम्म आइपुगेको छ । हामी नेपालको पर्यटन राजधानी पोखरामा यो महोत्सव आयोजना गर्दैछौँ । यस वर्ष सञ्चालन भइरहेको पोखरा भ्रमण २०२५ को सन्दर्भमा पोखरा सडक महोत्सव उक्त अभियानको सबैभन्दा सशक्त कार्यक्रम हो । यस महोत्सवले पोखरालाई प्राकृतिक सौन्दर्य, संस्कृति, खानपान, संगीत, खेलकुद र जिम्मेवार पर्यटनको केन्द्रका रूपमा विश्वसामु प्रस्तुत गरिरहेको छ ।
यस वर्षको पोखरा सडक महोत्सव अझ बढी विविधता र आकर्षणले भरिपूर्ण छ । नेपालका विभिन्न जातजाति र समुदायका मौलिक नृत्य, गीत र सांस्कृतिक झाँकीहरूले सडकभरि नेपालीपनको सुगन्ध फैलाउनेछन् । हिमाल, पहाड र तराईको संस्कृति एउटै सडकमा अवलोकन गर्न पाइनेछ । दिउँसो कोमागाने पार्कमा नेपाली दोहोरी गीत कार्यक्रम र साँझ भव्य पप संगीतले युवादेखि ज्येष्ठ नागरिकसम्म सबैलाई आकर्षित गर्नेछ । महोत्सव अवधिभर चारवटा फरक–फरक मञ्चबाट निरन्तर संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति हुनेछ ।
खानपानतर्फ हेर्दा, पोखराका रेष्टुरेन्टहरू सडकमै झरेर आफ्ना परिकार प्रस्तुत गर्ने परम्पराले यस महोत्सवलाई अझ विशेष बनाएको छ । पर्यटक तथा आगन्तुकहरूले सडकमै बसेर नेपाली तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन पाउनेछन्, जसले नेपाली आतिथ्यताको वास्तविक अनुभूति गराउनेछ । साथै, डुङ्गा दौड, डोरी तान्ने खेल, मोमो खाने प्रतियोगिता, मदिरा पिउने प्रतियोगिता, सेवक दौडजस्ता गतिविधिले खेल पर्यटनको स्वाद थप्नेछन् ।
यस महोत्सवको अर्को महत्वपूर्ण पक्ष भनेको जिम्मेवार पर्यटन विषयमा आयोजना गरिने विचार–विमर्श कार्यक्रम हो । पर्यटन केवल मनोरञ्जनको साधन मात्र नभई संस्कृति संरक्षण, स्थानीय समुदायको सशक्तीकरण, वातावरणीय संरक्षण र दिगो आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो भन्ने सन्देश यस संवादमार्फत प्रवाह गर्ने हाम्रो उद्देश्य छ ।
पोखरा सडक महोत्सवले पोखराको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ अवधि बढाउने, रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादन तथा संस्कृतिको प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । यद्यपि, भीड व्यवस्थापन, सरसफाइ, वातावरणीय सन्तुलन र सुरक्षा व्यवस्थापनजस्ता चुनौतीहरू पनि सँगसँगै छन् । यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्न आयोजक, सरकार, सुरक्षा निकाय, स्थानीय समुदाय र व्यवसायी सबैको सहकार्य अपरिहार्य छ ।
अन्त्यमा, पोखरा सडक महोत्सव अङ्ग्रेजी नयाँ वर्ष मनाउने मात्र नभई पोखराको सामूहिक पहिचान र दिगो पर्यटनप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव हो । यस ऐतिहासिक अवसरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै २७औँ पोखरा सडक महोत्सव २०२६ सफल होस् र नयाँ अङ्ग्रेजी वर्ष २०२६ सबैका लागि सुख, शान्ति र समृद्धि लिएर आओस् भन्ने कामना व्यक्त गर्दछु ।





Comments are closed.