राधिका ढकाल
पोखरा भन्नासाथ झट्ट प्राय सबैको दिमागमा आउने भनेको फेवाताल, लेकसाइड नै हो । पोखराले अहिलेसम्म आफ्नो ‘ब्रान्डिङ’ पनि फेवाताल र त्यहाँबाट देखिने माछापुच्छ्रे अन्नपूर्णसहितको हिमश्रृङखलाका दृश्यहरु नै बेचेर गरिरहेको छ भन्दा फरक नपर्ला । पर्यटकीय चहलपहल ताल किनारमै सीमित हुँदा पोखराको पञ्चासेदेखि माझठानासम्म, मौजा, कालिकादेखि प्यूरीदोभानसम्मका थुप्रै पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् ।
पोखरा आउने पर्यटकहरुको भीड पनि फेवातालको किनार वरपर नै बढी हुन्छ, फेवाताल किनारको करिब साढे तीन किलोमिटर क्षेत्र लेकसाइड नामले परिचित छ । जसले पोखराको पर्यटनको अधिकतम हिस्सा ओगटेको छ । पोखरा भनेकै लेकसाइडजस्तो बन्न पुगेको छ ।
व्यवसायी तथा लगानीकर्ताहरुले पनि लेकसाइडलाई नै केन्द्रित गरेर होटल, रिसोर्ट लजहरु निर्माण गरे, लगानी बढाए तसर्थ अहिले यो क्षेत्र पर्यटकीय ‘हब’ बनेको छ । होटलसहित पर्यटकीय सेवा सुविधा, पूर्वाधार र व्यवसायहरु पनि लेकसाइडमा नै केन्द्रित छ । पोखराको पर्यटनमा भइरहेको अधिकतम लगानी फेवाताल र त्यसकै किनार वरपर भइरहेको छ ।
फेवाताल केन्द्रित पर्यटन विस्तारका कारण पोखरा हिजो–आजको हिसाबले निकै बिस्तारै रूपान्तरित हुँदै गएको शहर हो । वि.सं २०२२ पछि सरकारले अनुमति दिएर होटल खोल्न पाएको समयदेखि नै फेवाताल केन्द्रित लगानी तीव्र रह्यो । २०४६ सालको राजनीतिक परिवर्तनपछि पर्यटकीय गतिविधि ड्याम क्षेत्रबाट लेकसाइडतर्फ सारियो । पर्यटकहरूले यही क्षेत्रमा बस्न रुचाएपछि निजी क्षेत्रको लगानी पनि यहीँ केन्द्रीकृत रह्यो । सन् १९९६ मा प्याराग्लाइडिङ सुरु हुँदा अवतरण स्थल लेकसाइड बनाइयो । पछिल्लो वर्षहरूमा अन्नपूर्ण केबलकार, तालबाराही मन्दिर, केदारेश्वर महादेवजस्ता धार्मिक गन्तव्यसँगै साहसिक पर्यटनका गतिविधिले पनि यही क्षेत्रलाई अझै केन्द्रबिन्दु बनाइदिए ।
पोखरा नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा तीव्र रूपमा विस्तार भइरहेको शहर हो । हाल पोखरामा मात्रै ४० हजारभन्दा बढी होटलका बेड उपलब्ध छन् । १ हजार दुई सय भन्दा बढी होटल सञ्चालनमा रहेको तथ्यांक छ । तीमध्ये ५० भन्दा धेरै लक्सरी होटल रहेकाले शहरको आवासीय क्षमता अझ सुदृढ बनेको छ । पोखरामा लक्जरी होटल थपिने क्रम बढेको बताउँछन् होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी । ‘पोखरा तथा आसपासका होटल क्षेत्रमा मात्र ६ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ,’ सुवेदी भन्छन्, ‘समग्र पर्यटन क्षेत्रमा ८ खर्ब रुपैयाँभन्दा बढी लगानी पुगेको छ ।’ १५ हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रोजगारमा संलग्न भएका छन् ।
लेकसाइडमा अहिले १–तारेदेखि ५–तारेसम्मका होटल, रिसोर्ट, लज, रेष्टुरेन्ट, क्लब, बार तथा ट्राभल एजेन्सीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई ‘अर्बन टुरिजम जोन’ बनाइदिएको छ । कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्र पूर्णरूपमा धरासायी बनेको थियो । होटलमा शून्य बुकिङ, व्यवसाय बन्द, मानव संसाधन विदेश पलायनजस्ता समस्याले उद्योग धराशायी भएको थियो । तर, पछिल्ला वर्षमा आन्तरिक पर्यटकको चहलपहलले केही राहत दिएको छ । अंग्रेजी तथा नेपाली नयाँ वर्ष, तिहार–छठ, माघे संक्रान्ति, सार्वजनिक बिदा तथा साहसिक पर्यटनको पुनर्सञ्चालनले पोखराको पर्यटन फेरि उठ्न थालेको छ ।
कोभिडसँगै २०७८/७९ मा होटल उद्योग पुरानै अवस्थामा फर्किन मुस्किल थियो । तर पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकले व्यवसायलाई टिकाइराखेका देखिन्छ । साहसिक पर्यटनका गतिविधिमा पुनः बृद्धि, पर्वतारोहण, पर्व–उत्सवका कारण बुकिङ बढेको छ । विदेशी पर्यटक पनि बिस्तारै बढ्दै जाँदा यहाँका होटलहरुमा चहलपहल पनि बढ्दो छ ।
युवा तथा विदेशी पर्यटकका लागि पोखरा अहिले साहसिक पर्यटनको ‘हब’ बनिरहेको छ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, हेली–टुर, बञ्जी जम्प, जिप–फ्लायरले पोखरालाई साहसिक गतिविधिको विश्व मानचित्रमा स्थापित गरिसकेको छ । तर, यति धेरै आकर्षणले पनि होटल व्यवसायीका चुनौती भने कम भएका छैनन् । होटलमा सिजनभरि भरिन नसक्ने, जटिल कर संरचना, विदेशी लगानीकर्ता आकर्षित गर्न कठिनाइ, कुशल मानव संसाधनको अभावजस्ता समस्याले उद्योगलाई अझै कमजोर बनाइरहेको छ । “पोखरा केवल फेवाताल होइन । लेखनाथ, बेगनास, रुपाताल, जस्ता क्षेत्रहरूमा ग्रामीण पर्यटन, सांस्कृतिक पर्यटन र इको–टुरिजमको असीमित सम्भावना छ, तर प्रचार–प्रसारको अभाव, पूर्वाधार निर्माणमा ढिलाइ र योजना कार्यान्वयन कमजोर भएकाले ती क्षेत्रमा पर्यटक बढाउन सकिएको छैन ।” लेखनाथ उद्योग वाणिज्य संघ पोखराकी अध्यक्ष जानुका पराजुली अधिकारीले भनिन् ।
त्यस्तै ग्रामीण पर्यटन पनि पछिल्लो समय तीव्र गतिमा फैलँदै गएको छ । बेगनास र रुपाताल क्षेत्र ‘क्वाइट टुरिजम’का लागि देश–विदेशका पर्यटकको पहिलो रोजाइ बन्न थालेका छन् । लाहाचोक, कास्कीकोट, भरतपोखरी, डाडागाउँ जस्ता ग्रामीण क्षेत्रका होमस्टे, स्थानीय भोजन, जैविक कृषि भ्रमण, सांस्कृतिक प्रस्तुति, समुदाय–आधारित पर्यटनका गतिविधिले पोखरालाई केवल लेकसाइड केन्द्रित पर्यटनबाट बाहिर निकाल्दैछ ।
“यदि ग्रामीण पर्यटनमा लगानी, पूर्वाधार, प्रचार प्रसार र सरकारी सहजीकरण गरिएको भए, पोखराले आफ्नो पर्यटन क्षेत्र तीनगुना बढाइसक्थ्यो । तर अझै पनि त्यही पुरानै मोडेल, पुरानै क्षेत्रमै पर्यटन सीमित छ”, व्यवसायीहरु भन्छन् । रेवान पोखराका निबर्तमान अध्यक्ष तथा माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराई भन्छन्, “पोखरालाई विश्वमै चिनाउन अब सामान्य प्रयासले पुग्दैन; अन्तर्राष्ट्रिय चेन होटलको प्रवेश अनिवार्य भइसकेको छ । चेन होटल आएपछि प्रतिस्पर्धाले सेवा–गुणस्तर स्वाभाविक रूपमा उकासिन्छ, ठूला अन्तर्राष्ट्रिय कार्यक्रम पोखरामै सम्भव हुन्छ, र विश्वव्यापी ब्रान्डिङको ढोका स्वतः खुल्छ—यही हो पोखराको पर्यटन भविष्यतर्फ अघि बढ्ने निर्णायक मोड ।”
पोखरामा होटल व्यवसायले पर्यटन उद्योगको मेरुदण्डको भूमिका खेलिरहेको छ । गुणस्तरीय सेवा, आधुनिक सुविधा र अतिथि सन्तुष्टिमा ध्यान दिँदा होटलहरूले पर्यटकको विश्वास जितिरहेका छन्, तर पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पनि सिर्जना गर्दैछन् पोखरामा अन्तर्राष्ट्रिय चेन होटलको प्रवेश अनिवार्य छ । यसले गुणस्तरीय प्रतिस्पर्धा बढाउँछ, ठूला सेमिनार र कर्पोरेट कार्यक्रम सम्भव बनाउँछ, र पोखरालाई विश्वव्यापी ब्रान्डिङ मार्फत अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्छ ।
त्यस्तै बजार तथा पूर्वाधार व्यवस्थापन पोखराको ठूलो कमजोरी बनेको छ । सडकका कतिपय स्थानमा धुलाम्मे अवस्था, पार्किङ समस्या, सार्वजनिक शौचालयको अभाव, तालमा फोहोर र डुङ्गा व्यवस्थापन अनियन्त्रित—यी समस्याले पर्यटक अनुभवमा नकारात्मक असर पार्दै आएको पर्यटन व्यवसायीले बताउँछन् ।
अर्कोतिर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सके चीन, भारत, थाइल्यान्ड, मलेसिया, रसिया जस्ता बजारबाट सीधा पर्यटक भित्र्याउन सकिने सम्भावना धेरै छ । तर नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदा पर्यटन उद्योगले अपेक्षित फाइदा पाउन सकेको छैन । यदि विमानस्थलले स्थिर उडान सेवा दिन थाल्यो भने होटल उद्योग, ट्राभल एजेन्सी, स्थानीय व्यवसाय तथा ग्रामीण पर्यटन सबै क्षेत्रमा गुणात्मक फड्को मार्न सक्ने व्यवसायीहरूको विश्वास छ ।
होटल पोखरा ग्राण्डका जनरल म्यानेजर पञ्चम लामा भन्छन् “पोखराको पर्यटन भविष्य पर्यटकको सन्तुष्टिमा अडिएको छ, जब पोखराले गुणस्तरीय सेवा, सहज सडक–हवाई पहुँच र उत्कृष्ट आतिथ्यता दिन सक्छ, तब यहाँ आएका पर्यटकहरू स्वयं नै अर्को हजार पर्यटकलाई पोखरा सिफारिस गर्छन् ।” अब पर्यटनको स्वरूप बदलिँदैछ । डिजिटल प्रमोशन, स्मार्ट टुरिजम, अनलाइन बुकिङ, ट्राभल टेक, भर्चुअल टुर, डिजिटल मार्गदर्शनजस्ता आधुनिक मोडेलले पोखरालाई नयाँ पिँढीको पर्यटनमा प्रवेश गराउँदैछ । पोखरालाई केवल प्राकृतिक सौन्दर्यमा सीमित राख्न हुँदैन । आधुनिक सुविधा, अन्तर्राष्ट्रिय स्तरको सेवा, सफाइ, सु–व्यवस्था र प्रविधि–आधारित पर्यटन मोडेल लागू गर्न सके पोखरा विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्छ ।
पोखराको पर्यटन अहिले ‘रुपान्तरणको मोड’मा छ – जहाँ अभूतपूर्व सम्भावना छ, तर चुनौती पनि उत्तिकै छन् । दीर्घकालीन नीति, पूर्वाधार सुधार, निजी–सरकारी समन्वय, अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन र ग्रामीण–शहरी पर्यटनको संयोजन सम्भव भयो भने पोखराले आफ्नो पर्यटनको नयाँ उचाईमा पुग्नेछ ।




Comments are closed.