बेनी (तातोपानी) । पर्यटनको राजधानी शहर पोखराको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित गण्डकी प्रदेशका उद्योगी व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीको सिंगा तातोपानीमा शुक्रबार कार्यक्रम भएको हो ।
पोखरा भ्रमण वर्षको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेशका सबै जिल्लाका उद्योगी व्यवसायीहरु, सञ्चारकर्मीहरु, पर्यटन व्यवसायीहरु, जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पोखराको पर्यटन प्रवद्र्धन हुँदा समग्र प्रदेश र देशले नै पर्यटनको लाभ लिन सक्ने बताए । ‘पर्यटनमा पोखराबाट वरपरका अन्य जिल्लाहरुले पनि धेरै कुरा सिक्नुपर्छ,’ उनले भने, ‘पोखरासँग आसपासका पर्यटकीय गन्तव्यहरुको पनि प्रचारप्रसार र प्रवर्द्धनमा जोड दिनुपर्छ ।’
भ्रमण वर्षका संयोजक गोपी भट्टराईले भ्रमण वर्ष सफल पार्न योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे । भ्रमण वर्षले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको बताए । ‘भ्रमण वर्षको प्रभाव पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा पर्नेछ,’ उनले भने ।
‘पर्यटन र अर्थतन्त्र’ विषयक कार्यपत्र प्रस्तत गर्दै पर्यटनविद दीपेन्द्र पहारीले पर्यटन र अर्थतन्त्रको पारस्परिक सम्बन्ध रहेको उल्लेख गरे । पर्यटन प्रवर्द्धनका लागि उद्योगी व्यवसायीहरुको सकारात्मक साथ रहनुपर्ने उनको भनाइ छ । उक्त अवसरमा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा लगायत प्रदेश नै पर्यटनको लागि अथाह सम्भावना रहेको बताए ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए । उद्योगीहरुले आफ्ना उत्पादन पर्यटनसँग जोड्न सके समग्र उद्योग व्यवसायको पनि प्रवद्र्धन हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हिरा भट्टराई, छत्रधर आत्रेय, सुविन श्रेष्ठ, व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी लगायतले बोलेका थिए ।







Comments are closed.