पोखरा रोयल सहकारीले दियो ब्याजमा ६३ लाख छुट, उत्साहजनक कारोबार

पोखरा । पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ऋणि सदस्यहरुलाई ६३ लाख ४३ हजार रुपैयाँ नगद छुट दिएको छ । कोभिड १९ को महामारीका बाबजुद पनि असार मसान्तसम्म ब्याज तिर्ने ऋणिलाई सहकारीले छुट दिएको प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले आर्थिक आवाजलाई जानकारी दिए ।

कोभिड १९ का कारण लकडाउन भई लामो समय सम्म सदस्यहरुको व्यवसाय ठप्प भएको अवस्थामा संस्थाले केहि समय अगाडि मात्र ब्याज छुट गरिएको सूचना जारी गर्दै उक्त छुटको सदुपयोग गर्न सदस्यहरुलाई आह्वान गरेको थियो । सूचना बमोजिम असार मसान्तसम्म ब्याज बुझाउने १ हजार १० जना सदस्यहरुलाई उनीहरुले बुझाएको कुल ब्याजमा १० प्रतिशत छुटको व्यवस्था गरिएको र उक्त रकम सम्वन्धित सदस्यको खातामा रकमान्तर गरिएको संस्थाका मुख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।

संस्थाले लकडाउन अवधिभर किस्ता ढिला भए वापत लाग्ने सम्पूर्ण हर्जाना समेत छुट गरेको र लकडाउन अवधिलाई मध्यनजर गर्दै किस्ता भुक्तान गर्ने अवधि ६ महिना थप गरिएको समेत उनले जानकारी दिए ।

कास्की, तनहुँ, स्याङजा र लमजुङ गरि ४ जिल्ला कार्यक्षेत्र रहेको संस्थाको हालसम्म ७ हजार ५ सय १ जना सदस्य छन् । सहकारीको २० करोड बढी शेयर पूँजी, ११ करोड बढी जगेडा कोष, १ अर्ब ३२ करोड बचत निक्षेप, १ अर्ब ४५ करोड ऋण लगानी र १ अर्ब ८५ करोड कूल बासलात रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले जानकारी दिए ।

बुधबार मात्र संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले अगामी वर्षलाई प्रविधीमैत्री वर्षको रुपमा लिने र संस्थाको हरेक गतिविधी प्रविधीयुक्त बनाउने पनि निर्णय गरेको छ । संस्थाले हाल एटिएम सेवा, मोबाइल बैकिङ, एस एम एस सेवा प्रदान गरिरहेको छ भने अगामी वर्ष यसको विशेषतालाई विकास गर्दे स्मार्ट बैकिङ सेवा तथा कार्डलेस भुक्तानी सेवा समेत सञ्चालन गर्ने निर्णय भएको गुरुङले बताए ।

संस्थाले हाल प्रधान कार्यालय बुद्धचोक सहित दुलेगौंडा तनहुँ, भण्डारढिक कास्की र शिशुवा मोहरिया कास्कीका सेवाकेन्द्रहरु मार्फत सदस्यहरुलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको छ । ग्रामीण महिलाहरुलाई लक्षित गरि सहकारी लघुकर्जा, ५०० भन्दा बढी निरक्षर महिलाहरुलाई निःशुल्क प्रौढ कक्षा र ९९ जना महिला सदस्यहरुकै सक्रियतामा बुद्धचोकमा रोयल दिदीबहिनी किचन नामक सहकारी मोडलको सेवा व्यवसाय पनि सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङले जानकारी दिए । राष्ट्रिय सहकारी महासंघ नेपालले यस वर्ष पोखरा रोयललाई उत्कृष्ट सहकारी सम्मानबाट सम्मानित गरेको थियो ।

You might also like

Comments are closed.