कर प्रशासन जनमुखी हुनुपर्छ: पउवा संघ अध्यक्ष गोकर्ण कार्की

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर प्रशासन जनमुखी हुनुपर्नेमा जोड दिएका छन् । उनले राज्यले संकलन गरेको कर जनताकै हितमा पारदर्शी तरिकाले खर्च गर्दामात्र राजश्व संकलनको दायरा बढ्ने पनि बताए । निजी क्षेत्र कर तिर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताउँदै उनले भने,‘आफूले तिरेको कर आफ्नै हितमा खर्च भएको छ भन्ने अनुभूति होस्,सजिलो तरिकाले कर तिर्न पाइयोस् र झन्झट नहोस्, आफू हेपिएको वा पेलाइमा परेकोजस्तो पनि नलागोस् ।’

अध्यक्ष कार्की सोमबार पोखरा महानगरपालिकाको आयोजना तथा संघकै समन्वयमा आयोजित ‘पोखरा महानगरको स्वीकृत विज्ञापन ऐन २०८२’ बारे जानकारी दिन आयोजित छलफल कार्यक्रममा बोल्दै थिए । आफ्नो पसल वा व्यावसायिक प्रतिष्ठानको चिनारी दिने गरी बोर्ड राख्न पाउनु व्यवसायीको नैसर्गिक अधिकार भएको बताउँदै त्यस्तो बोर्डलाई करको दायरामा ल्याउन हुँदैन भन्नेमा पोखरा उद्योग वाणिज्य संघ प्रष्ट रहेको बताए । त्यसका निम्ति संघले पटक–पटक महानगरको ध्यानाकर्षण गराएको पनि उनले स्मरण गरे ।

पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र राखिने प्रचार सामग्रीमाथि कर लगाउने गरी विज्ञापन ऐन पारित गरेको छ । निजी क्षेत्र र सरोकारवालासँगको छलफलपछि महानगरले सो ऐन कार्यान्वयनमा ल्याएको र यसले महानगर क्षेत्रमा हुने विज्ञापनलाई व्यवस्थित गर्ने लक्ष्य लिएको पोखरा महानगरपालिकाका राजश्व महाशाखा प्रमुख नवराज पौडेलको जिकिर छ ।

महानगरका प्रशासकीय प्रमुख आविष्कार पौडेलका अनुसार यस्तो ऐन ल्याउने पोखरा देशकै पहिलो पालिका हो । सो ऐनमा ५५ दफा,६ वटा परिच्छेद र ५ अनुसूची रहेका छन् । यसअघि नै विज्ञापन कर पोखरामा कार्यान्वयनमा आइसकेको बताउँदै सुवेदीले हरेक वर्ष महानगरले विज्ञापन करबाट करिब ७० लाख राजश्व संकलन गर्दै आएको बताए ।

उनका अनुसार यो ऐनले पोखरालाई कुरुप बनाउने गरी होर्डिङ बोर्ड वा प्रचार सामग्री राख्न निषेध गरेको छ भने कुनै व्यवसायको परिचय दिने खालको ३० बर्गफुटको प्रचार सामग्रीलाई कुनै शुल्क तोकिएको छैन । उनका अनुसार विज्ञापन ऐनले बढीमा ३० फिटसम्म अग्लो प्रचार सामग्रीमात्र राख्न दिने गरी नीति तय गरेको छ ।

कार्यक्रममा बोल्ने व्ययवसायीहरुले चाहिँ यो ऐन कार्यान्वयनमा आउँदा व्यवसायको चिनारी दिने बोर्डमा पनि कर लगाइने हो कि भन्ने आशंका व्यक्त गरे । उनीहरुले महानगरले विभिन्न शीर्षकमा करमात्र थपेको तर सुविधा नदिएको गुनासो पनि गरे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धचार्य, उपाध्यक्ष दीनेशचन्द्र बास्तोला र बलराम आचार्य,महासचिव शोभा गौतम, उपमहासचिव सुदीप प्रधानाङ्ग,कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ,कार्यसमिति सदस्यहरु देवेन्द्र प्रजु,राम कँडेल, सुरेश घिमिरे, पृथ्वीराज तिमिल्सिना,पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला,कोषाध्यक्ष जीवन ढुंगाना,व्यवसायीहरु श्रीकृष्ण कतिला,नवराज आचार्य,पूर्णकुमार श्रेष्ठलगायतले करको दर हैन दायरा बढाउन, करदातामैत्री प्रशासन निर्माण गर्न, करको भारी बोकाउने हैन,सेवा प्रवाहमा चुस्तता ल्याउन माग गरेका थिए ।

You might also like

Comments are closed.