पावर समिट २०२५ को मिति परिवर्तन, असोज अन्तिममा सोल्टी होटलमा हुने

काठमाडौं । उत्पादकहरूको संस्था नेपाल (IPPAN) ले आयोजना गर्दै आएको ऊर्जा सम्मेलन पावर समिट २०२५ को मिति परिवर्तन गरिएको छ। यसअघि १ र २ असोज २०८२ मा तय गरिएको समिट अब असोज २९ र ३० गते (१५–१६ अक्टोबर, २०२५) सोल्टी होटल, काठमाडौंमा आयोजना हुने भएको छ।

समितिको मिति परिवर्तनको कारण भने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र सो भ्रमणमा इप्पान पदाधिकारीहरूको पनि सहभागिता रहने तय भएसँगै गरिएको हो। इप्पानले मिति परिर्वतनबाट सेवाग्राही र सहभागीहरूमा परेको असुविधाप्रति क्षमायाचना गर्दै नयाँ मितिमा सम्मेलनलाई भव्य र सफल बनाउन सबै सरोकारवालाको साथ र सहयोगको अपेक्षा गरेको छ।

सन् २००६ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौं संस्करण हो। समिटको नारा यस वर्ष “Mission 28,500 MW: Powering Nepal, Energizing Region” तय गरिएको छ। सरकारद्वारा अघि सारिएको २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई साकार बनाउन तथा ऊर्जा व्यापारलाई क्षेत्रीय स्तरमा विस्तार गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा ३० भन्दा बढी देशका लगानीकर्ता, कूटनीतिक नियोग, विकास साझेदारहरू, सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय, अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी, बैंक तथा बीमा कम्पनी लगायत विविध क्षेत्रका विज्ञ, विशेषज्ञ, नीति निर्माता तथा सरोकारवालाहरूको सहभागिता रहनेछ।

नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको संरक्षकत्वमा आयोजना हुने सम्मेलनमा भारतीय राजदूतावास कन्ट्री पार्टनर को रूपमा रहनेछ भने समिटको उद्घाटन प्रधानमन्त्री ओलीबाट गरिने लक्ष्य राखिएको छ।

इप्पानले सम्मेलनमार्फत नेपालको हरित ऊर्जालाई एशियाको आर्थिक विकासको पूर्वाधारको रूपमा स्थापित गर्न आवश्यक रणनीतिमाथि बहस र विचार विमर्श गर्ने जनाएको छ।

You might also like

Comments are closed.