पावर समिट: मिसन २८ हजार ५ सय मेगावाट

गणेश कार्की, अध्यक्ष, इप्पान

काठमाडौं ।   स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वर्षेनी ‘पावर समिट’ गर्दै आइरहेको छ । यस वर्ष ‘पावर समिट २०२५’ आगामी असोज २९ र ३० गते (१५–१६ अक्टोबर,२०२५) काठमाडौंमा तय भएको छ । इप्पानले कार्यक्रम सफल बनाउन तयारी तिब्र बनाएको छ । यसैक्रममा इप्पान समिटको लागि इप्पानले लोगोसमेत सार्वजनिक गरिसकेको छ ।

नवौं संस्करणको पावर समिटको लागि नेपालको समग्र ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको इप्पानले जनाएको छ । ‘मिसन २८ हजार ५०० मेगावाट:  पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ मूल नारा सहित आयोजना हुन लागेको समिटको लोगोमा नेपालको ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विकास र भविष्यको उच्चस्तरको सम्भावना देखाइएको छ । यसको मूलखण्डमा रहेको हरियो पातजस्तै संरचनाले दिगोपनको संकेत गरेको छ भने, यहाँबाट नेपालको ऊर्जा उत्पादनका विभिन्न स्रोतहरू जस्तो जलविद्युत, सोलार, वीन लगायत पनि देखाइएको छ ।

लोगोमा ठूलो आकारमा देखाइएको जलविद्युत आयोजनाले नेपालको विशाल जलस्रोत क्षमता र स्वच्छ ऊर्जाको मुख्य आधार नै जलविद्युत हो भन्ने दर्शाउँछ । यसको छेउमा देखिएका आधुनिक ब्याट्री ऊर्जा भण्डारण प्रणालीहरूले नेपालको ऊर्जा सुरक्षातर्फको यात्रालाई झल्काएको छ । त्यस्तै, सौर्य ऊर्जा लगायतले नवीकरणीय ऊर्जातर्फको विविधिकरणको पनि एकसाथ संकेत गरेको छ ।
पहाड र हिमालभरी देखिएका प्रसारण लाइनले नेपालमको विद्युत सीमापारका बजारमा विक्री गर्ने अन्तरदेशिय विद्युत व्यापारको तयारीलाई झल्काएको छ ।

विद्युतीय सवारी चार्जिङ स्टेशन, औद्योगिक क्षेत्र र सडक बत्तीहरूले उत्पादन भएको ऊर्जा देशका विभिन्न क्षेत्रमा कसरी प्रयोग भइरहेको छ भन्ने देखाएको छ । लोगोमा प्रयोग भएका यी कुराले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै दक्षिण एशियाली क्षेत्रलाई ऊर्जा निर्यात गर्ने सम्भावनातर्फ लैजाने राष्ट्रको दुरदर्शी यात्रालाई प्रतिबिम्बित गरेका छन् ।

पावर समिटको संरक्षकत्व ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गरेको छ भने कन्ट्रि पार्टनरका रुपमा भारतीय राजदूतावास छ । समिटमा १० वटा विभिन्न समसामयिक सत्रहरुमा छलफल हुनेछ भने ३० देशका १ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको महत्वाकांक्षी योजना ‘ऊर्जा विकास मार्गचित्र, २०८१’को लक्ष्यलाई पछ्याउन पनि यो समिट महत्वपूर्ण हुने विश्वास गरिएको छ । मार्गचित्रले आगामी १० वर्षभित्र थप २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । जसले गर्दा सन् २०३५ सम्ममा नेपालको कुल विद्युत उत्पादन क्षमता २८,५०० मेगावाट पुग्नेछ ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार, मार्गचित्रको सफल कार्यान्वयनका लागि एउटा अन्तर्राष्ट्रिय मञ्चको आवश्यकता महसुस गरेर नै यो पावर समिट आयोजना गरिएको हो । ‘यो केवल एउटा साधारण कार्यक्रम नभई, नेपालको ऊर्जा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, लगानी आकर्षित गर्ने र नीतिगत सुधारका लागि बहस गर्ने एक महत्वपूर्ण अवसर हो,’ उनले भने ।

पावर समिटको मुख्य उद्देश्य नेपालको बढ्दो ऊर्जा उत्पादन क्षमतालाई क्षेत्रीय बजारमा निर्यात गर्नका लागि अनुकूल वातावरण सिर्जना गर्नु पनि हो । यसका लागि विश्वभरका ३० भन्दा बढी देशका लगानीकर्ता, कूटनीतिक नियोग, विकास साझेदारहरू, सरकारी र गैरसरकारी निकायका अधिकारी, विश्वविद्यालयका प्रतिनिधि, अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरू, निर्माण व्यवसायी, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूलाई एउटै छानामुनि भेला गराइँदै छ ।

भेलाले ऊर्जा समृद्धिका विभिन्न आयामबारे गहन नीतिगत बहस गर्ने र नेपालको ऊर्जा क्षेत्रलाई आवश्यक सुझाव र दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष कार्कीका अनुसार, यो सम्मेलनले नेपालको ऊर्जा विकासमा नवीन वित्तीय उपकरणहरूको विकास, अन्तरदेशीय पूर्वाधारहरूको निर्माण, र ऊर्जा सुरक्षाको सुनिश्चितता जस्ता महत्वपूर्ण विषयमा समेत छलफल गर्नेछ । नेपालको ऊर्जा उत्पादनको ११४ वर्ष लामो इतिहासमा कुल ३,६०२ मेगावाट क्षमता मात्र हासिल भएको सन्दर्भमा, सन् २०३५ सम्ममा २८,५०० मेगावाटको विशाल लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका अपरिहार्य छ ।

पावर समिटका संयोजक आनन्द चौधरीले यो लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व दुवै रहेको बताए । ‘यसले नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको समर्पण र प्रतिबद्धतालाई दर्शाउँछ,’ उनले भने । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाल सरकारले ऊर्जामा निजी क्षेत्रलाई खुला गरेसँगै लगानीमैत्री नीतिको कारण आज कुल उत्पादन क्षमताको ८० प्रतिशतभन्दा बढी अर्थात् २,९०० मेगावाट बिजुली निजी क्षेत्रबाट उत्पादन भइरहेको छ । निजी क्षेत्रको प्रवेश भएको २५ वर्षमै यो ठूलो सफलता हासिल भएको हो । हालसम्म निजी क्षेत्रले १३ खर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ भने ५० खर्ब रुपैयाँ थप लगानीका लागि तयारी अवस्थामा छ ।

निजी क्षेत्रकै पहलमा ४,२०० मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन छन् र ४,१०० मेगावाटका आयोजनाहरू विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा छन् । यसले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको नेतृत्वदायी भूमिकालाई प्रमाणित गर्दछ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीका अनुसार, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्था, निकाय र कम्पनीहरूको सहभागितामा यो सम्मेलन वृहत् रूपमा आयोजना गरिनेछ । यो सम्मेलन सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको नवौं संस्करण हो, जसले यसको निरन्तरता र महत्वलाई दर्शाउँछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्नेछन् र यसमा विभिन्न देशका विशिष्ट व्यक्तिहरू तथा विज्ञहरूको पनि सहभागिता रहनेछ ।

सम्मेलनमा आन्तरिक र बाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र त्यसको न्यूनीकरण, तथा प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण जस्ता चुनौतीहरूको सामना गर्नका लागि नेपाल र अन्य देशले बनाउनुपर्ने नीति निर्माणमाथि पनि छलफल गरिनेछ । विश्वका विभिन्न देश र विकास साझेदारहरूको अनुभव र अभ्यासहरूबाट नेपालले सिक्न सक्ने कुराहरूमाथि पनि बहस गरिनेछ ।
यी मुद्दा र विषयमा केन्द्रीत हुने समिटले नेपालको दिगो ऊर्जा विकास र क्षेत्रीय बजारमा दरिलो उपस्थितिका लागि ठोस सुझाव र मार्गदर्शन प्राप्त हुने अपेक्षा गरिएको छ । यसले क्षेत्रीय बजारमा नेपालको ऊर्जालाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास पनि लिइएको छ ।

ऊर्जा विकास मार्गचित्रको सफल कार्यान्वयनका लागि एउटा अन्तर्राष्ट्रिय मञ्चको आवश्यकता महसुस गरेर नै पावर समिट आयोजना गरिएको हो । यो केवल एउटा साधारण कार्यक्रम नभई, नेपालको ऊर्जा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, लगानी आकर्षित गर्ने र नीतिगत सुधारका लागि बहस गर्ने एक महत्वपूर्ण अवसर हो । पावर समिटको मुख्य उद्देश्य नेपालको बढ्दो ऊर्जा उत्पादन क्षमतालाई क्षेत्रीय बजारमा निर्यात गर्नका लागि अनुकूल वातावरण सिर्जना गर्नु पनि हो ।

You might also like

Comments are closed.