प्रभात मोही ब्राण्डिङ सहित बजारमा

काठमाडौं । नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौं बीचच डेढ वर्ष अगाडि भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबारमार्ग स्थित ओरियन्ट होटलमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरण हाट बजारमा प्रत्यक्ष ठेकीमा मोही तुल्याई निःशुल्क सेवन गराउने कार्यक्रममा दहि उपलब्ध गराउने गरेको थियो।

त्यसलाई विशिष्ट व्यक्ति, पूर्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पशुसेवाका महानिर्देशक, राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक, सांसदहरु, समाजसेवीहरु, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु एवं मिडियाले अत्यधिक साथ दिई ठेकीमा मोही तुल्याएको कुरा ब्यापक प्रचारप्रसार भई जनमानसमा मोही सेवन गर्नुपर्छ भन्ने सन्देश गएको थियो ।

त्यसैको प्रभाव स्वरुप उपत्यका बाहिरका जिल्लाहरुमा सफलताका साथ एक दर्जन जति डेरी उद्योगले लेबलिङ प्याकेजिङ गरि बजारमा मोही बिक्री गर्न थालेका छन् । उपत्यका एवं बाहिर जताततै त्यसैको प्रभावमा भोज, भत्तेर, पार्टी शुभकार्यमा अन्य पेय पदार्थसँगै मोहीले पनि प्राथमिकता पाउन थाल्यो । बाहिर जिल्लाहरुमा मात्र लेबलिङ र प्याकेजिङ गरि मोही बिक्री वितरण भइरहेको अवस्थामा उपत्यकाबाट पनि अब नवप्रभात डेरी उद्योग ललितपुरले लेबलिङ र प्याकेजिङमा ूप्रभात मोहीू भनी सुरुवात गरेको छ ।

चैत २ गते शनिबार पहिलो दिन दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारको ओरियन्ट होटलबाट उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यता एवं उद्योग उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेत, केन्द्रिय सदस्य पशुपतिदेव पाण्डे, कमला श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, केन्द्रिय सदस्य शिव घिमिरे, केन्द्रिय पदाधिकारी, बागमती प्रदेशका पदाधिकारी, नुवाकोटका अध्यक्ष दिपक ढुंगाना एवं पदाधिकारी साथै डेरी उद्यमीहरुको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष एवं मोही अभियानका प्रमुख ब्याक्तित्व प्रल्हाद दाहालले एउटा ठूलो सपना मोहीलाई ब्राण्डिङ गरि हरेक उपभोक्ताको हात हातमा पुर्‍याउने लक्ष्य पूरा भएको बताउँदै सबैलाई ढुक्क भएर बजारमा उपलब्ध मोही उपभोग गर्न अनुरोध गरे । उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले नेपाल डेरी एसोसिएसनले दुध तथा दुग्ध पदार्थ विविधीकरण गरि बजारमा पुर्‍याउन धेरै ठूलो मिहिनेत गरेको बताए । केन्द्रिय सदस्य कमला श्रेष्ठलेले उद्योग वाणिज्य महासंघमा रहेका बस्तुगत सदस्यमा डेरी एसोसिएसन सबैभन्दा अग्र स्थानमा रहि काम गर्ने गरेको बताउँदै अध्यक्ष दाहालले गरेका कामकारबाहीमा को प्रशंसा गरिन । अर्का केन्द्रिय सदस्य पशुपतिदेव पाण्डेले आम उपभोक्ता सबैलाई स्वास्थ्यलाई हित गर्ने मोही सेवन गर्न आग्रह गरे । रैथानेका अध्यक्ष तिलक ढकालले समग्र कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने र अझ दुग्ध क्षेत्र कृषि भित्रको पनि एक प्रमुख क्षेत्र रहेको कुरा बताए ।

प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आज धेरै वर्षपछि यसरी ठेकीमा प्रत्यक्ष मोही तुल्याउँदा गाउँघरमा बुवा, आमा, हजुरबुबा, हजुरआमाले मोही तुल्याएको याद आएको कुरा स्मरण गराउँदै उद्योग वाणिज्य महासंघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम ल्याई मौलिक उत्पादनको संरक्षण गरेको कुरा बताए । नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियान अहिले देशभरि फैलिएको र यसैको प्रभावले बाहिर जिल्ला एवं आज ललितपुर औद्योगिक क्षेत्र पाटनमा रहेको नव प्रभात डेरी उद्योगले ‘ प्रभात मोही’ बजारमा ल्याएकोमा शुभकामना दिंदै आम उपभोक्ताको मन जित्दै गुणस्तरमा ध्यान दिन डेरी उद्योगलाई सुझाव दिए ।

डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमला, नवप्रभात डेरी उद्योगका कार्यकारी प्रबन्धक सुरेश तिमल्सिना, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे,डेरी एसोसिएसन नुवाकोटका अध्यक्ष दिपक ढुंगाना लगायतले दुग्ध क्षेत्रको बारे बताउँदै अब नेपालमा कृषि क्षेत्रको विकास हुनुपर्ने र आम सबै किसान, कृषि क्षेत्रका उद्योगमा सरकारको सहयोग रहनु पर्ने कुरामा ध्यान दिन अनुरोध गरे भने मोही ब्राण्डिङ गरि बजारमा ल्याउने नव प्रभात डेरी उद्योगलाई शुभकामना दिएका थिए ।

You might also like

Comments are closed.