काठमाडौं । प्रभु बैंक लिमिटेडको त्रैमासिक वित्तिय विवरण सार्वनिक भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरिएको हो । विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा साढे ३ प्रतिशतले वृद्धि भएको छ।
बैंकले गत वर्षको चैत मसान्तसम्म १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाघेको छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा कायम भएको छ।
यद्यपि बैंकको आम्दानी र सञ्चालन नाफा भने केही घटेको छ। बैंकको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा झरेको छ।
यता बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँमा कायम भएको छ भने कुल सञ्चालन आम्दानी पनि १० अर्ब १९ करोडबाट घटेर ९ अर्ब ६१ करोडमा झरेको छ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक र रिजर्भ कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। त्यस्तै बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक हुँदा प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र निष्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको छ।
Comments are closed.