प्रभु स्मार्ट फण्डको बिक्री आजदेखि खुला

१० वर्षको अवधिमा २५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको बिहीबारदेखि निष्काशन तथा बिक्री खुला भएको छ ।

प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।

निष्काशित कुल ८ करोड इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटलले ८ लाख इकाई गरी कूल १ करोड २० लाख इकाइ सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले  फागुन १८ गते बिहीबारबाट आवेदन दिन सक्नेछन् ।

फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत्र ०३ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.