काभ्रे जिल्लामा रहेका हेभी इक्विपमेन्ट क्षेत्रमा आबद्ध व्यवसायीलाई संगठित गर्दै वि.सं २०७२ सालमा संस्था स्थापना गरेर संस्थागत रुपमा काम गर्दै अघि बढेका छौँ । मोहनकुमार श्रेष्ठको अध्यक्षतामा पाँच जना सदस्यबाट सुरु भएको संस्थामा हाल १५० बढी व्यवसायी सदस्य संघमा आबद्ध हुनुहुन्छ । जिल्लाभरमा भने संस्था र संस्थाभन्दा बाहिर गरेर करिव २५० बढी व्यवसायी रहेको हाम्रो अनुमान छ । संघभन्दा बाहिर रहेका व्यवसायीलाई पनि संघमा समाहित गर्ने पहल भइरहेको छ ।
हेभी इक्विपमेन्टको क्षेत्रमा केही नयाँ काम गर्ने हुटहुटीका साथ संस्थापक सदस्य, उपाध्यक्ष हुँदै अहिले जिल्ला अध्यक्ष भएर काम गरिरहेको छु । संघको कार्यकाल दुई वर्षको छ । आफ्नो कार्यकालमा धेरै गर्न नसकेपनि दुई तीनवटा भएपनि केही नयाँ काम गर्नेछु । काभ्रेमा हेभी इक्विपमेन्ट व्यवसायी संघ जिल्ला तहमा मात्रै सञ्चालित छ भने अब जिल्लामा रहेका १३ वटा स्थानीय तहमा रहेका व्यवसायीलाई संस्थागत रुपमा आबद्ध गर्न संघ गठन गर्ने, स्थानीय तहसंग समन्वय गरेर यस क्षेत्रमा आबद्ध व्यवसायीको दुर्घटना बीमा गर्ने, उनीहरुको हकहितका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहमा रहेका व्यवसायीको तथ्याङ्क निकालेर सबै पालिकामा सुसूचित गर्ने जस्ता योजना ल्याएको छु ।
जिल्लामा आबद्ध व्यवसायीले आफै फर्म सञ्चालन गरेर काम गरिहनुभएको छ । संघले बाढीपहिरो तथा दैवी प्रकोपमा परेका नागरिकलाई राहत तथा उद्धारका कार्य संघबाट भइरहेको छ । यो क्षेत्रमा काम गर्ने व्यवसायीलाई विभिन्न समस्याले सताइरहेको छ । काम सम्पन्न भइसक्दा पनि भुक्तानी नपाउने समस्या छ । संघले भुक्तानीका लागि पहल गरिरहेको छ । सार्वजनिक भाडाका गाडीको सरह नै सडक कर लिने प्रवृत्तिले झमेला बनाएको छ । सार्बजनिक तथा भाडाका गाडीको दाँजोमा राखेर सडक कर उठाउन नहुने, जिल्लाकै बिपी राजमार्गको काभ्रेभन्ज्याङ्गबाट भकुण्डे, मंगलटार क्षेत्रमा मेसिनरीजन्य उपकरण लैजान समस्या छ । सिंहदरबारबाट पास लिएर मात्रै लैजानुपर्ने हुँदा व्यवसायीले धेरै कष्ट खेप्नु परेको छ । यो विषयमा सम्बन्धित निकायले सहजीकरण गरेर संवद्ध व्यवसायीलाई सहज बनाइदिन अनुरोध छ । सेवाको क्षेत्रमा पनि सडक कर लिएर व्यवसायीलाई दुःख दिने काम राज्यले गरेको छ । यो क्षेत्रलाई नितान्त विकासको रुपमा हेर्नुपर्दछ । निर्माण गर्ने सामान, उपकरण भएकाले सेवाभावमा हेरिनुपर्दछ । राज्यले हेभी उपकरण परिचालित क्षेत्रमा सुरक्षा दिनुपर्दछ । उपकरणमा क्षती पु¥याउने बित्तिकै राज्यले कारबाहीको दायरामा ल्याउनुपर्दछ ।
जिल्ला बाहिरबाट आउने व्यवसायीले गर्दा स्थानीयमा रहेका व्यवसायीलाई समस्या पारेको छ । बाहिरबाट आउने व्यवसायीका कारण मूल्य एकरुपता नहुँदा स्थानीय व्यवसायी मारमा परेका छन् । सबैलाई राहत हुने गरी सम्बन्धित निकायले मूल्य एकरुपता बनाएर स्वस्थ प्रतिष्पर्धामा जानका लागि ध्यानाकर्षण गर्दछु । जिल्लाका विभिन्न स्थानीय तहमा जनप्रतिनिधि, उनीहरुका आफन्त, इष्टमित्र तथा नजिकका व्यक्तिलाई मात्रै काम दिने प्रवृत्ति रहेकोमा अहिले संघको पहलमा यस्ता काम बन्द जस्तै भएको छ । बेला बेलामा व्यवसायीका लागि जागरण अभियान चलाइरहेका छौँ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काभ्रेले राज्य र व्यवसायीबीच पुलको काम गरिरहेको छ । संघले नाफामुखी मात्र होइन सेवाभावले यो क्षेत्रमा काम गर्दै आइरहेको छ ।
Comments are closed.