होटल एक्स्पोदेखि पर्यटन रूपान्तरणमा एक वर्षे अभियान

प्रवीण ब. पाण्डे, वरिष्ठ उपाध्यक्ष, होटल एसोसिएसन नेपाल

होटल एसोसिएसन नेपालले आयोजना गर्न लागेको होटल एक्सपो एक वर्षसम्म चल्ने व्यापक अभियानको रूपमा अघि बढाइएको छ । यस अभियानमार्फत सातै प्रदेशमा फैलिएको होटल, पर्यटन तथा समग्र हस्पिटालिटी क्षेत्रको व्यवस्थापन, स्तरोन्नति र प्रवद्र्धनमा संघ सक्रिय रूपमा जुटेको छ । होटल एक्सपोको मूल उद्देश्य होटल उद्योगको सम्भावना, क्षमता र विविधतालाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्नुका साथै सरकार, निजी क्षेत्र र आम सरोकारवालाबीच सहकार्यलाई सुदृढ बनाउनु हो ।

होटल एसोसिएसन नेपालले सरकारसँग निरन्तर संवाद गर्दै पर्यटनमैत्री नीति, प्रभावकारी पोलिसी र पूर्वाधार विकासका विषयमा स्पष्ट धारणा राख्दै आएको छ । विशेष गरी हवाई पूर्वाधार र विमानस्थलको भूमिकालाई चलायमान बनाउनुपर्ने आवश्यकता देखिएको छ । यदि नेपालका विमानस्थलहरू प्रभावकारी रूपमा सञ्चालनमा आए भने देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) हालको तुलनामा दोब्बरसम्म पुग्न सक्ने सम्भावना देखिन्छ । पर्यटनले अर्थतन्त्रमा पार्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभावलाई ध्यानमा राख्दा, एयरपोर्ट र कनेक्टिभिटी विकासलाई प्राथमिकतामा राख्नु अपरिहार्य छ ।

हाल निर्माणाधीन पर्यटनसम्बन्धी परियोजनाहरू समयमै सम्पन्न गर्न सकियो भने नेपालले वार्षिक करिब ३० लाख पर्यटक भित्र्याउन सक्ने क्षमता राख्दछ । तर यसका लागि दीर्घकालीन योजना, स्थिर नीति र कार्यान्वयनमा दृढ इच्छाशक्ति आवश्यक छ । होटल एसोसिएसन नेपालले अन्तर्राष्ट्रिय पर्यटकसँगै राष्ट्रिय तथा आन्तरिक पर्यटकलाई पनि समान रूपमा ध्यानमा राखेर कार्यक्रम तथा रणनीति अघि बढाइरहेको छ । आन्तरिक पर्यटनले संकटका समयमा होटल उद्योगलाई टिकाइराख्न महत्वपूर्ण भूमिका खेलेको तथ्य हामीले विगतमा अनुभूत गरिसकेका छौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आए भने हालको भन्दा कम्तीमा २० प्रतिशत बढी पर्यटक नेपाल भित्र्याउन सकिने सम्भावना छ । यी विमानस्थलहरू सञ्चालनमा आएपछि क्षेत्रीय पर्यटनको विस्तार हुनेछ, नयाँ गन्तव्यहरू प्रवद्र्धनमा आउनेछन् र होटल उद्योगले देशव्यापी रूपमा लाभ लिन सक्नेछ । अहिलेको अवस्थामा करिब ५० प्रतिशत होटलहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा सुविधा प्रदान गरिरहेका छन् भने बाँकी ५० प्रतिशत होटलहरू आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा दिइरहेका छन् ।

दुवै प्रकारका होटलहरूको आफ्नै महत्व छ । अन्तर्राष्ट्रिय स्तरको सेवा विस्तार गर्दै लैजानुका साथै आन्तरिक पर्यटकको पहुँच, रुचि र क्षमताअनुसारको सेवा प्रवाहलाई पनि सन्तुलित रूपमा अघि बढाउनु हाम्रो लक्ष्य हो । होटल एक्सपोमार्फत हानले होटल तथा हस्पिटालिटी क्षेत्रलाई एकीकृत, व्यवस्थित र दिगो रूपमा अघि बढाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ । सरकार, निजी क्षेत्र र पर्यटनसम्बन्धी सबै सरोकारवालाहरूबीच सहकार्य मजबुत बनाउन सकियो भने नेपालले पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धिको नयाँ ढोका खोल्न सक्नेमा हामी विश्वस्त छौं ।

You might also like

Comments are closed.