भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लुकमा वर्तमान अवस्थामा भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहितको मन्त्रालयको टोलीसितको भेटमा प्रधानमन्त्री दाहालले विकासको विस्तार, सुधार तथा प्रशासनको चुस्ततामा सरकारले जोड दिएको बताए ।

‘विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ,’ उनले भने, ‘त्यसका लागि ऐन-कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ ।’ त्यसमार्फत छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यस पक्षमा परिणामात्मक थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग तथा तहको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने उल्लेख गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नलाई विज्ञहरू सम्मिलित कार्यदल बनाएर सम्बोधन गर्न पहल गरेकामा प्रधानमन्त्री दाहालले त्यसको सराहना गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राडा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल तथा प्राडा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजक र उपप्रधानमन्त्रीको सचिवालय टोलीले प्रधानमन्त्री दाहालसँग छलफल गरेको हो । उनले त्यसका लागि कयौँ ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औँल्याए । 

You might also like

Comments are closed.