नेपाल बारद्वारा प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं ।  नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको छ।

एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले मंगलबार बालुवाटारमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण गराउँदै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो।

एसोसिएसनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । आज भएको उक्त भेटमा अध्यक्ष घिमिरेसहित महासचिव अञ्जिता खनाल, बागमती प्रदेश उपाध्यक्ष हर्क रावल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत सहभागी रहेको थियो ।

त्यस्तै, अध्यक्ष घिमिरेले लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बताए।

सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेषरूपमा लिनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ।

 

 

You might also like

Comments are closed.