अबको बजेट गुणात्मक रूपमा र नागरिकले राहत पाउने गरी निर्माण हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको बजेट गुणात्मक रूपमा र नागरिकले केही राहत पाउने गरी निर्माण गर्ने प्रतिबद्धता  जनाएका छन् । साथै उनले अबको दुई दिनभित्रमा पूर्णरूपमा सरकार विस्तार हुने बताएका छन् ।

बुधवार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्णरूपमा सरकार विस्तार हुने बताएका हुन् ।

उनले भने, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ । अहिले सरकारले करिब-करिब पूर्णता पाएको छ । आज-भोलि शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ ।’

प्रधानमन्त्री प्रचण्डले अब सरकारको ध्यान पूर्णरूपमा नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउँदै अबको बजेट गुणात्मक रूपमा र नागरिकले केही राहत पाउने गरी निर्माण गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा नागरिकमा आशा जगाउने अधिकतम काम गर्न प्रयास गर्ने पनि बताए ।नागरिकले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सबै परिवर्तन धरापमा पर्नसक्ने उनको भनाइ थियो ।

You might also like

Comments are closed.