दूधको खपत बढाउन पहल गर्नुपर्छ

देशभरका डेरी व्यवसायीलाई संगठित गर्दै नेपाल डेरी एसोसिएसन अगाडि बढिरहेको छ । एसोसिएसन स्थापनाको २५ वर्ष पुरा भएको छ । रजत वर्षको अवसरमा एसोसिएसनले विशेष कार्यक्रम आयोजना गर्दैछ । यसै सन्दर्भमा एसोसिएसनको स्थापना, नेपालमा डेरी व्यवसायीको अवस्था र समस्या, एसोसिएसनको भावी योजना लगायत विविध विषयमा केन्द्रित रहेर अध्यक्ष प्रल्हाद दाहालसँग गरिएको कुराकानीः

नेपाल डेरी एसोसिएसनमा अहिले कति सदस्य आबद्ध छन् ?
देशभर रहेका डेरी उद्योगीलाई एउटै छानामुनी आबद्ध गराउने उद्देश्यसहित वि.सं. २०५५ सालमा नेपाल डेरी एसोसिएसनको स्थापना भएको हो । दुग्ध क्षेत्रमा काम गरिरहेका साना, ठूला, मझौला र घरेलु डेरीहरु हामीसँग आबद्ध छन् । संस्थामा हाल देशभरिबाट २७५ सदस्यहरु आबद्ध छन् । सातै प्रदेश र १५ जिल्लामा संगठन बिस्तार भएको छ ।

एसोसिएसन स्थापनाको २५ वर्ष पुगेको छ । रजत जयन्ती विशेष कार्यक्रम केके हुँदैछन् ?
संस्था स्थापनाको २५ वर्ष पुगेकाले यो वर्ष एसोसिएसनका लागि महत्वपूर्ण छ । हामीले रजत जयन्तीको विशेष कार्यक्रम स्थापना दिवसको दिन माघ ७ गते गर्दैछौं । साधारणसभा सहित आयोजना हुने उक्त कार्यक्रममा देशभरका डेरी व्यवसायीहरुको उत्साहजनक उपस्थिति रहनेछ । प्रदेश तथा जिल्ला स्तरबाट पनि सामाजिक उत्तरदायित्व बहन अन्तर्गतका विविध कार्यक्रम भएका छन् । जुन कार्यक्रमलाई वर्षभर निरन्तरता दिनेछौं । विशेष गरी हाम्रो भूमिका दूध र दुग्धजन्य पदार्थको प्रवद्र्धनमा नै बढी केन्द्रित हुनेछ । ७ गते हुने कार्यक्रममा विभिन्न सम्मान सहित हाम्रो गतिविधिको समिक्षा र भावी योजना बनाउन बढी केन्द्रित हुनेछ ।

footwear zone

एसोसिएसनको मुख्य उद्देश्यहरु केके छन् ?
दुग्ध प्रशोधन व्यवसायीहरुको सामुहिक व्यावसायिक हकहित, सुरक्षा र उन्नतिका लागि काम गर्नु नै संस्थाको मुख्य उद्देश्यहरु हुन् । उद्योगीहरुको सुझाव, समस्या, गुनासाहरु छलफल गरी सम्बन्धित निकाय समक्ष प्रस्तुत गर्नु, दुग्ध प्रशोधनहरुको प्रबद्र्धन, विकास र संरक्षणको लागि विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गर्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय वा संगठनहरुसँग सहकार्य, नयाँ उत्पादन, नयाँ प्रविधिको अनुसन्धान तथा विकास गर्न व्यवस्था मिलाउने, समन्वय गर्ने, स्वच्छ तरिकाबाट दूध तथा दुग्ध पदार्थ प्रशोधन, उत्पादन, बजार व्यवस्थापन र व्यापारीकरण गर्न व्यवसायीहरुको ज्ञान अभिवृद्धि गर्ने लगायत हाम्रा उद्देश्य छन् ।

एसोसिएसनले स्थापनाकालदेखि हालसम्म गरेका महत्वपूर्ण उपलब्धिहरुलाई कसरी सम्झनुहुन्छ ?

संस्थाको मुख्य उपलब्धी भनेकै व्यावसायिक हकहितका लागि नीतिगत तहमा छलफल गर्ने तथा दबाब दिनेगरी गरेका कामहरु हुन् । थोरै सदस्यहरुबाट शुरु भएको संस्थामा आजको दिनमा २७५ डेरी उद्योगीलाई सदस्य बनाउन सफल भएका छौं । संस्थाको आकार बढेको र हामी बलियो पनि बनेका छौं । सदस्य थपिने क्रम जारी छ । यसका साथै हामीले वर्षेनी नियमित गतिविधिहरु गर्दै आइरहेका छौं । डेरीका विषयबस्तु समेटेर ‘डेरी दर्पण’ प्रकाशन, भित्तेपात्रो प्रकाशन हुँदै आएको छ । वार्षिक क्यालेण्डर अनुसार कार्य सम्पादन हुँदै आएको छ । संगठन सुदृढीकरणका लागि सातै प्रदेश भ्रमण गरिएको छ । क्षेत्रीय, जिल्ला र प्रादेशिक रुपमा छलफल एवं बैठक भइरहेका छन् । समस्याहरुको पहिचान गरी निराकरणको लागि पहल गरेका छौं । राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग, उद्योग वाणिज्य महासंघ तथा सरोकार मन्त्रालय, विभिन्न दातृ संस्था आदिसँग सहकार्य गरि तालिम र गोष्ठि संचालन गर्ने लगायत गतिविधि भएका छन् ।

इन्स्योरेन्स, सफ्टवयर कम्पनी, उद्योगमा आवश्यक सामग्री बनाउने कम्पनी, बैंकहरुसँग सम्झौता तथा सहजीकरण गर्ने, भैपरी आउने विपदका लागि राहत कोषको स्थापना, सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विभिन्न सहयोग, सार्वजनिक कार्यक्रममा दूध र दुग्ध पदार्थ खुवाउने र प्रचार गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै इजरायल, बंगलादेश, श्रृलंका र भारतमा भएका विभिन्न मेला, गोष्ठी लगायतका कार्यक्रमहरुमा सहभागिता जनाउने काम भएको छ । विश्व स्कुल दूध दिवस मनाउन शुरु, विश्व दूध दिवसमा सक्रिय सहभागिता, कृषि पत्रकारहरुसँग सहकार्य पनि भएको छ । दुग्ध दुवानी सेवाका सवारी साधनहरुलाइ सरकारी मान्यता अनुरुप एम्बुलेन्स सरह मान्यता प्रदान गर्न सफल भएका छौं । हाम्रो सक्रियता निरन्तर जारी छ । एसोसिएसनले अन्तर्राष्ट्रिय संस्था बफेलो कँग्रेस र नेपालमा रहेको निर्यात महासंघमा आबद्धता जनाएको छ ।

एसोसिएसनका भावी योजनाहरु केके छन् ?

एसोसिएसनको आफ्नो स्थायी भवन छैन । हामी आफ्नै भवन बनाउने अभियानमा छौं । सदस्यहरुको हितका लागि स्थापना गरिएको राहत कोषमा रकम बढाउने, बटर स्टोर गर्न समस्या भएकाले एसोसिएसनले नै संचालन गर्ने गरि सामुहिक कोल्ड स्टोर स्थापना गर्ने लक्ष्य राखेका छौं । नेपालको डेरी स्तर उन्नति गर्न एसोसिएसनका सदस्यहरुलाई स्वदेश तथा विदेशमा डेरी, फार्म र मेला अवलोकन गराउन लागि पर्नेछौं । अर्को वर्षदेखि एसोसिएसनको तर्फबाट देशमा विभिन्न माध्यमबाट देशमा सेवा पुर्याउने व्यक्ति, संघसंस्थालाई दिन विविध विधामा राष्ट्रिय पुरस्कारको स्थापना गरिनेछ । दूध तथा दुग्ध पदार्थको स्वच्छता सम्बन्धि निर्देशिका पालना गर्न लागि पर्ने छौं ।

नेपालका डेरीहरुमा पाउडर दूध र बटरको स्टक बढेको हो ?

यो समस्या अहिले ठूलो आकारमा बढेको छ । अहिले खपत कम भएर र बाहिरबाट आयात बढी भएर हाम्रो देशमा दूध तथा दुग्ध पदार्थ व्यवस्थापन गर्नै कठिन भएको छ । अहिले सरदर ५ अर्ब बराबरको धुलो दूध र बटर स्टक भएको आँकडा छ । यो समस्या निवारणको लागि आयात रोक्ने, छुर्पी र चिज निर्यातमा विशेष सहयोग गर्नुपर्छ । उपभोग बढाउने कार्यक्रमहरु ल्याउनपर्छ । जस्तै स्कुलमा विद्यार्थी, आर्मी, पुलिस, खेलाडीलाई दूधको महत्व बुझाई सेवन गर्न प्रेरित गर्न सकिन्छ । बढी भएका सामान राख्न स्टोरको अभाव छ ।

बर्तमान समयमा नेपालका डेरी क्षेत्रले भोग्नु परेका अन्य समस्याहरु के कस्ता छन् ?

अहिले उद्योगले प्रति केजि १० रुपैयाँ कोल्ड स्टोरमा भाडा तिरेर बटर राख्न परेको छ । यसले गर्दा एकातिर बिक्री नहुने अनि अर्को तिर भाडा तिर्दा दोहोर मारमा परिरहिएको छ । सामान स्टक भएर चल्ती पुँजीको अभावले किसानको भुक्तानी समयमा दिन सकिएको छैन । यसले किसानलाई मार परेको छ । यसमा राज्यले बैंकबाट कर्जा वा अन्य स्रोतबाट सहजीकरण गर्न सके समयमै भुक्तानी गर्न सहज हुने थियो ।

दूध उत्पादन गर्ने किसानहरुको व्यावसायिक अवस्था कस्तो छ ?

उहाँहरुको पनि आफ्नै खालका समस्याहरु छन् । ती समस्या समाधानका लागि पनि हामीले आफ्नो ठाउँबाट सहयोग गर्दै आइरहेका छौं भने राज्यले पनि पहल गर्नुपर्छ । नेपालमा पशुपालन ब्यवसाय र डेरी ब्यवसायलाई राज्यले सहयोग गर्न सक्दा आर्थिक गतिविधि, रोजगार, कृषि जन्य पदार्थ आयातमा समेत कमि हुने देखिन्छ । अहिले पनि शहरबाट गरिब ५ करोड रुपैयाँ दैनिक गाउँसम्म जाने गरेको छ । हामी कहाँ करिव ८० प्रतिशत दूध निर्वाहमुखि पशुपालनबाट आउँछ भने २० प्रतिशत मात्र व्यसाहिक फार्मबाट आउँछ । जबसम्म व्यावसायिक तवरबाट दूध आउन सक्दैन तवसम्म भनेको जस्तो गुणस्तर मेन्टेन गर्न कठिन हुन्छ । यसमा राज्यले सहयोग गर्नु पर्ने देखिन्छ ।

थप डेरी उद्योग स्थापनाको सम्भावना कस्तो छ ?

सम्भावना सधैं रहन्छ नै । तर समस्या धेरै छन् । अहिले उद्योग लगाउन जमिनको मूल्य धेरै पर्ने र शहरमा स्थापना गर्न नसकिने अवस्था छ । गाउँमा उद्योग लगाउन पुर्वाधार नहुने हुँदा उद्योगका लागि आवश्यक मात्रामा स्थान उपलब्ध गराउन औद्योगिक ग्राम बनाउन आवश्यक छ । नेपालमा दूध तथा दुग्ध पदार्थमा लाग्ने प्याकेजिङ मेटेरियल धेरै जसो छिमेकी मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहँदा सो प्याकेजिङ मेटेरियलहरुमा भन्सार दर १ प्रतिशतसम्म हुने व्यवस्था गर्नुपर्ने जसले गर्दा उत्पादन लागत कम भई बजारमा प्रतिस्पर्धा गर्न सहज हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

कृषि क्षेत्रको प्रबद्र्धन र उन्नतिको लागि डेरी क्षेत्रले ठूलो भुमिका निर्वाह गरेको छ । राज्यले डेरी क्षेत्रको योगदानलाई उचित मूल्यांकन गर्न जरुरी छ । हामी आफ्नो ठाउँबाट राज्यसँग सहकार्य गर्न सधैं तयार छौं । व्यावसायिक हित हाम्रो प्राथमिकतामा पर्दै आइरहेको छ र पर्नेछ । किसान र उद्योगी दुवैलाई बचाएर मात्रै डेरी उद्योगको विकास हुन सक्छ । उद्योगी र कृषकहरुको आपसी हित र संरक्षणका लागि हामी अनवरत रुपमा सक्रिय रहदै अगाडि बढ्नेछौं ।

You might also like

Comments are closed.