नेपाल डेरी एसोसिएसनका अध्यक्ष दाहालद्वारा लिखित पुस्तक ‘अनुभूतिको संगालो’ सार्वजनिक

काभ्रे । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा लिखित पुस्तक ‘अनुभूतिको संगालो’ सार्वजनिक भएको छ । काभ्रेबाट प्रकाशित ‘नव शिक्षीज साप्ताहिक’ पत्रिकाको २५औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित विशेष कार्यक्रमको अवसरमा दाहालद्वारा लिखित पुस्तक सार्वजनिक गरिएको हो ।

पत्रिकाको नियमित स्तम्भकारसमेत रहेका दाहालले कृषि, डेरी, शिक्षा तथा समसामयिक विषयमा लेखिएका विविध लेखहरु समावेश गरेर पुस्तक प्रकाशन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामबरण यादव लगायत अतिथिहरुले पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै लेखक दाहालले आफ्नो गृह जिल्लामा आएर पुस्तक सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको बताए । ‘यस अगाडि विभिन्न सञ्चार माध्यममा लेखहरु प्रकाशन गर्दै आइरहेको थिएँ । पहिलो पटक पुस्तक प्रकाशन गर्न सफल भएको छु,’ उनले भने, ‘पुस्तक प्रकाशनका लागि हौसल्ला प्रदान गर्ने सम्पूर्णप्रति म आभारी छु ।’

आगामी दिनमा अझै गहन विषयबस्तु छनोट गरी दोस्रो पुस्तक प्रकाशन गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

यसैबीच पत्रिकाको रजत वर्षको अवसरमा पुस्तकका लेखक दाहाल सम्मानित भएका छन् । बिगत लामो समयदेखि नेपालको कृषि, विशेषगरी दुग्ध क्षेत्र, कला, साहित्य, इतिहास र सामाजिक विकासका विषयलाई कलममार्फत उजागर गरेकाले सम्मान गरिएको आयोजकको भनाइ छ । प्रमुख अतिथि यादव लगायत अतिथिहरुले दाहाललाई सम्मान गरेका हुन् ।

सम्मानले लेखनमा थप सक्रिय बन्न र लेखनलाई परिस्कृत गर्न ऊर्जा मिलेको दाहालले बताए । ‘तपाईंले काभ्रेली सञ्चारक्षेत्रलाई गर्नुभएको साथ सहयोग अतुलनीय छ । यहाँले आफ्नो कर्ममार्फत समाज रुपान्तरणमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै तपाईंलाई नव क्षितीज साप्ताहिकको रजत वर्ष शुभारम्भ समारोहमा ‘नव क्षितीज रजत सम्मान’ प्रदान गरिएको छ,’ सम्मान पत्रमा भनिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.