नेपालको कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । आज पनि करिब ६०–६५ प्रतिशत जनता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छन् । तर विडम्बना के छ भने, कृषि हाम्रो प्रमुख पेशा भएर पनि उत्पादन, उत्पादकता र आम्दानी दुवै पक्षबाट कमजोर अवस्थामा छ ।
जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, नीतिगत अस्थिरता र बजारको मनोमानीले गर्दा किसानहरू निराश हुँदै गएका छन् । खेतीयोग्य जमिन घट्दै गएको छ, युवा जनशक्ति विदेश पलायन भइरहेका छन् र बाँकी किसानहरू परम्परागत खेतीमै अड्किएका छन् । व्यावसायिक कृषिको कमीले गर्दा धेरै मानिसले कृषि पेशालाई अँगाल्न सकेको अवस्था छैन । कृषि पेशा समाजमा मर्यादित पेशाको रूपमा पनि स्थापित हुन नसक्नाले पनि धेरै मानिसलाई कृषि पेशामा आकर्षण नबढेको हुन सक्छ ।
कृषि क्षेत्रमा वर्तमान अवस्था र जलवायुजन्य चुनौती थपिएर कृषि क्षेत्रमा ठूलो क्षती पुग्ने निश्चित छ । हाल नेपालमा धान, गहुँ, मकै, कोदो, आलु, तरकारी र फलफूल प्रमुख बालीका रूपमा लगाइन्छन् । यी बालीहरू देशको खाद्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छन् । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन र अनियमित वर्षाको असर गहिरो रूपमा देखिएको छ । धान रोप्ने बेला खडेरी र भित्र्याउने बेला लगातार वर्षा हुनेजस्ता घटनाले किसानलाई ठूलो क्षति पु¥याइरहेका छन् ।
किसानले वर्षभरि गरेको परिश्रम क्षणभरमै पानीले बगाउँदा उनीहरू आर्थिक र मानसिक रूपमा दुवै रूपमा पीडित छन् । एकातिर प्रकृतिले सताइरहेको छ भने अर्कातिर बजारले पनि अन्याय गरिरहेको छ । सरकारले धानको समर्थन मूल्य प्रतिमन ३६ सय तोके पनि बजारमा व्यापारीहरूले २५ सयमै खरिद गर्छन । सरकारको निगरानी र हस्तक्षेप नहुँदा किसान बाध्य भएर घाटामा बेच्नुपरेको छ । व्यापारीले सस्तोमा धान किनेर महँगोमा चामल बेच्दा पनि राज्य मौन दर्शक बनेको छ । यस्तो स्थिति निरन्तर रहँदा किसानको पेशाप्रतिको विश्वास र भविष्यप्रतिको आशा कमजोर हुँदै गएको छ ।
सरकारी नीति र संस्थागत कमजोरीले गर्दा पनि निकै कठिन भएको छ । तीनवटै तहका सरकारले कृषि क्षेत्रप्रति देखाएको उदासीनताले संकट अझ गहिरो बनाएको छ । असार–साउनमा वर्षा नपर्दा सरकारले हेलिकोप्टरमा बोरिङ खनाउने घोषणा गरे पनि त्यसको कार्यान्वयन भएन। कति ठाउँमा बोरिङ खनियो, त्यसबाट कति किसान लाभान्वित भए भन्नेबारे कसैले चासो दिएन । यस्तो देखावटी कदमले समस्या समाधान गर्दैन, बरु किसानमा अविश्वास मात्र बढाउँछ । यसले आउँदा दिनमा कृषि पेशाबाट मानिस पलायन हुने खतरा बन्न सक्छ ।
किसानलाई यदि सरकारले सहयोग गर्ने र मनोबल उच्च राख्ने हो भने बाली बीमा किसानका लागि एक प्रभावकारी उपाय हुन सक्छ । तर पछिल्ला महिनामा देशभर जम्मा साढे चार सय किसानले मात्र बिमा गराएका छन् । बीमाको पहुँच र जागरूकता दुवै कमजोर छन् । किसानका समस्या बुझ्ने र दीर्घकालीन समाधान खोज्ने सरकारी प्रयास नगन्य छन् । योजना त बनाइन्छ, तर कार्यान्वयनमा कमजोर प्रतिबद्धता र समन्वयको अभावले परिणाम खासै राम्रो देखिँदैन ।
नेपालमा कृषि अझै पनि जीविकोपार्जनमुखी अवस्थामा सीमित छ । यसलाई व्यवसायिक बनाउन सकिँदैनको धेरै कारण छन् । पहिलो, पूर्वाधार र प्रविधिको कमी मुख्य चुनौती हो । सिँचाइ, सडक, भण्डारण गृह, कोल्ड स्टोर र बजार पहुँच अभावका कारण किसानले उत्पादन बढाउन सकेका छैनन् । दोस्रो, नीतिगत अस्थिरता र योजनामा निरन्तरता नहुनु अर्को कारण हो । सरकार परिवर्तनसँगै नीति पनि बदलिँदा दीर्घकालीन योजना असफल हुन्छन् । तेस्रो, किसानको पूँजी अभावले गर्दा सस्तो ऋण र बीमा प्रणालीमा किसान अझै परम्परागत पद्धतिमा निर्भर छन् । अन्ततः, विदेशी रोजगारीको आकर्षणले युवा पुस्ता कृषिबाट टाढिँदै गएका छन् । यसले श्रम अभाव र उत्पादन घटाउने कार्यमा थप योगदान गरेको छ ।
हाम्रो देश कृषिप्रधान देश भएर पनि आवश्यकताको ५० प्रतिशत जति नै खाद्यान्न आयात हुने गरेको छ । यसको समाधानका लागि सबै ठाउँमा बाझिएको जमिनमा बाली लगाउनु प¥यो। अरु कुनै नयाँ उपायको खोजी गर्नुपर्छ । यसरी झन्डै आधा खाद्यान्न विदेशबाट आयात गर्दा पनि सम्बन्धित कोहि कसैलाई चासो भएको पाइदैन। उत्पादन र उपभोगबीच असन्तुलन, खेतीयोग्य जमिनको ह्रास, र घरेलु उत्पादनभन्दा सस्तो आयातमा निर्भर मानसिकताले यस्तो अवस्था निम्त्याएको हो । देशमा खाद्य आत्मनिर्भरता कायम गर्न तत्काल केही ठोस कदम आवश्यक छन् ।
पहिलो, सिँचाइ र प्रविधिमा लगानी बढाउनुपर्छ। ठूला र साना सिँचाइ आयोजना विस्तार गरेर आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोग गर्नुपर्छ। दोस्रो, कृषि सहकारी र क्लस्टर खेतीको प्रवद्र्धन गरेर साना किसानहरूलाई समूहगत उत्पादन र बजारमा पहुँच दिलाउन सकिन्छ । तेस्रो, कृषि बीमा र सस्तो ऋणको विस्तार गरेर लगानीको वातावरण बनाउने जरुरी छ । चौथो, कृषि शिक्षा र सीप विकासमा जोड दिँदै युवा पुस्तालाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्नुपर्छ । पाँचौँ, उद्योगसँग सहकार्य गरेर कृषि उत्पादनलाई प्रशोधन उद्योगमा रूपान्तरण गरी मूल्यवृद्धि गर्न सकिन्छ ।
अन्ततः नीति कार्यान्वयनमा स्थायित्व ल्याई योजना कागजमा मात्र नभई व्यवहारमा देखिने बनाइनुपर्छ
नेपालको कृषि अहिले गम्भीर संक्रमणको अवस्थामा छ । एकातिर जलवायु परिवर्तन र प्राकृतिक प्रकोप, अर्कातिर बजारको अन्याय र सरकारी उदासीनताले किसानहरू दुवै तिरबाट मर्कामा परेका छन् । जबसम्म कृषिलाई व्यावसायिक, प्रविधिमैत्री र नीतिगत रूपमा स्थायी बनाइँदैन, तबसम्म खाद्य आत्मनिर्भरता सम्भव हुँदैन ।
अब कृषिलाई सहानुभूतिको होइन, प्राथमिकताको विषय बनाउनुपर्ने बेला आएको छ । किसानको परिश्रमलाई सम्मान गर्ने र कृषि क्षेत्रलाई उत्पादनमूलक अर्थतन्त्रको केन्द्रमा ल्याउने प्रयास नै देशको दीगो विकासको आधार बन्न सक्छ । यसमा हामी सबैको विशेष ध्यान आवश्यक छ । पछिल्लो समय सबैको नजरमा कृषि पेशालाई अर्कै आँखाले हेरिने गरेको छ । समय र परिस्थितिसँग चल्न सक्नु नै आजको मुख्य काम हो । आशा छ सबैले यसैमा अडिक रहेर कार्य गर्नेछन् ।








Comments are closed.