lcci festival

नेपालमा दुग्ध उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावना

प्रल्हाद दाहाल, अध्यक्ष, नेपाल डेरी एसोसिएसन

नेपालमा दैनिक करिब ७२ लाख लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये अधिकांश किसानहरूले आफैं उपभोग गर्छन् भने बाँकी मात्रा उपभोक्ता बजारमा खपत हुन्छ । कुनै–कुनै अवस्थामा उत्पादन बढी हुँदा त्यसलाई अत्यावश्यक समयका लागि धुलो दूध बनाएर भण्डारण गरिन्छ । विगतमा धुलो दूध उत्पादन गर्ने प्रविधि तथा उद्योगको अभाव हुँदा अतिरिक्त दूध नष्ट गर्नुको विकल्प थिएन । नेपालमा प्रायः सबै खानेकुरा सकेसम्म ताजा र फ्रेस खाने परम्परा छ, जसमा दूध पनि पर्छ । यही कारण खुलेआम ताजा दूध वा बारीबाटै खरिद गरेर दूध सेवन गर्ने प्रचलन अझै व्यापक छ ।

तर पछिल्लो समय शहरीकरण, स्वास्थ्य चेतना र जीवनशैलीमा आएको परिवर्तनले प्रशोधित, लेबलिङ तथा प्याकेजिङ गरिएका दुग्धजन्य पदार्थहरूको माग क्रमशः बढ्दै गएको छ । खानपान, संस्कार, धर्म, र संस्कृतिले प्रारम्भदेखि नै हाम्रो खानपान व्यवहारलाई निर्देशित गर्दै आएको भए पनि विस्तारै मानिसहरू स्वयम्ले बुझेर नयाँ अभ्यास अंगाल्न थालेका छन् ।

हाल उत्पादन भएको कुल दूधमध्ये ५० प्रतिशत किसानले घरमै उपभोग गर्छन् भने बाँकी ५० प्रतिशत अर्थात् ३६ लाख लिटर बजारमा आइपुग्छ । यसमध्ये करिब १६ लाख ५० हजार लिटर खुला रुपमा बिक्री वितरण हुन्छ भने करिब ८ लाख ५० हजार लिटर मात्र लेबलिङ र प्याकेजिङ भएर फर्मल बजारमा खपत हुन्छ । पछिल्लो समयमा कोविड महामारी पछाडि घर–घरमा डेलिभरी गरेर दूध पु¥याउने व्यवसाय उल्लेख्य रूपमा वृद्धि भएको छ । यस्तो डेलिभरी व्यवसायले फर्मल र इनफर्मल दुवै बजारलाई असर गरेको देखिन्छ। यद्यपि त्यससम्बन्धी यथार्थ तथ्यांक भने उपलब्ध छैन ।

आजको परिवेशमा संसारभर लेबलिङ, प्याकेजिङ भएको सुरक्षित वस्तु प्रयोग गर्ने बानी बढ्दै गइरहेको छ । नेपालले पनि यही मार्ग पछ्याउँदै दुग्ध व्यवसायको वर्तमान स्वरूपलाई क्रमशः परिवर्तन गर्दै फर्मल बजार विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ । नेपालमा मुख्य दूध उत्पादन हुने क्षेत्रहरू चितवन, मोरङ, ललितपुर, काभ्रे, भक्तपुर, कास्की र रुपन्देही हुन् । यिनै क्षेत्रबाट व्यवसाय विस्तारको थालनी गर्न सकिन्छ ।

नेपालमा भैंसीबाट ६० प्रतिशत र गाईबाट ४० प्रतिशत दूध उत्पादन हुन्छ । धार्मिक विश्वासका कारण गाई दुग्ध उत्पादनमा केही समस्या आएपछि भैंसीपालनमा आकर्षण बढेको देखिन्छ । भैंसी थारो भए पनि मासुका लागि बिक्री हुने हुँदा आर्थिक हिसाबले धेरै घाटा नहुने भएकाले किसानहरू भैंसीपालनमा आकर्षित भएका छन् ।

तर हालसम्म परम्परागत पशुपालन प्रविधि मात्र प्रयोग भएकाले किसानले उचित मुनाफा लिन सकेका छैनन् । वैज्ञानिक पशुपालन, उन्नत जात विकास, पोषणयुक्त आहार व्यवस्थापन, प्रविधि अनुकूल भण्डारण, ढुवानी र प्रशोधन प्रणालीलाई सुदृढ बनाएर उत्पादन वृद्धि गर्न सकिन्छ ।

नेपालको आन्तरिक खपत करिब ९५ प्रतिशत छ भने निर्यातको सम्भावना पनि देखिन्छ । हाल प्रति व्यक्ति दुग्ध खपत ९५–११० मिलि लिटर प्रतिदिन छ भने विश्व स्वास्थ्य संगठनले २५० मिलि लिटर सिफारिस गरेको छ । शहरीकरण, स्वास्थ्य चेतना र जीवनशैलीमा आएको परिवर्तनले आगामी दिनमा दुग्ध खपत वृद्धि हुने प्रक्षेपण गर्न सकिन्छ ।

यद्यपि, फर्मल दूध बजार राम्रो हुँदै गएको भए पनि आम उपभोक्ता माझ प्रशोधन, प्याकेजिङ, हाइजिन व्यवस्थापन आदि विषयमा व्यापक जनचेतना फैलाउन सकिएको छैन । स्कुल, कलेज, अस्पताल, मिडिया, सामाजिक सञ्जाल र अन्य माध्यमबाट उपभोक्तालाई जानकारी गराउने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । माणीकरण तथा ट्रेसबिलिटी सिस्टम विकास, भ्रमण कार्यक्रम र पारदर्शिता एवं प्रतिस्पर्धात्मक मूल्य निर्धारण मार्फत उपभोक्तालाई आकर्षित गर्न सकिन्छ ।

नेपालमा डिडिसी, सुजल, सिताराम, राजधानी, नवप्रभात, खरिपाटी र हिमालयनजस्ता उद्योगहरू सञ्चालनमा छन् । तर बजार विस्तार अपेक्षाकृत गति लिन सकेको छैन । सरकारी नियमन, सहजीकरण तथा बजारीकरणमा सुधार आवश्यक देखिन्छ । उद्योगहरूलाई डर होइन, सहजीकरण गरी अनुगमन गर्नुपर्छ । अनुगमनको नाममा लावा–लश्कर सहित प्रहरी, पत्रकार र उपभोक्ता अधिकारकर्मी लिएर उद्योगीलाई हतोत्साहित पार्ने कार्य अस्वस्थ प्रतिस्पर्धा निम्त्याउँछ। राज्यले उद्योग कलकारखानालाई प्रोत्साहन र संरक्षण गर्नुपर्छ।

डेरी उद्योगलाई प्रभावित गर्ने अर्को समस्या खुला दूधको बिक्री र होम डेलिभरी व्यवसाय हो । ठूलो लगानी गरेर कर तिरेर सञ्चालन गरिएको उद्योग राज्यबाट आवश्यक सहुलियत नपाउँदा सञ्चालनमा कठिनाइ हुँदै आएको छ । उपभोक्ताको व्यस्त जीवनशैलीले होम डेलिभरी व्यवसायलाई प्रोत्साहन दिए तापनि गुणस्तर सम्बन्धी प्रश्न उब्जिएको छ । डेलिभरी गरिएको दूधमा प्रायः गुणस्तर परीक्षण नगर्ने हुँदा उपभोक्ताको स्वास्थ्य जोखिममा पर्न सक्छ । त्यसकारण सबै उपभोक्तालाई प्याकेजिङ, लेबलिङ गरिएका सुरक्षित र परीक्षण गरिएका उत्पादन उपभोग गर्न प्रोत्साहन गर्नुपर्छ ।

साथै, सबै प्रकारका खाद्य वस्तुलाई इनफर्मलबाट फर्मल क्षेत्रमा लैजान प्रयास गर्नुपर्छ । सहकारी र क्लस्टर प्रणाली विकास गरी दुग्ध संकलन र गुणस्तर परीक्षणलाई सहज र प्रभावकारी बनाइनुपर्छ। उत्पादनपछि अनिवार्य गुणस्तर परीक्षण र शीत भण्डारण अनिवार्य गर्नुपर्छ ।

सरकारले कृषि क्षेत्रलाई कर छुट, अनुदान, तालिम, सस्तो ब्याजदरमा ऋण लगायतका सहुलियत दिनुपर्छ । कृषि क्षेत्र सुदृढ नभएसम्म देशको दीर्घकालीन विकास सम्भव छैन । स्वदेशी उत्पादनको खपत वृद्धि गर्न उपभोक्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनुपर्छ। प्रतिस्पर्धात्मक मूल्य निर्धारण र प्रविधिको प्रयोग अनिवार्य हुनुपर्छ ।

नेपालमा उत्पादन लागत अत्यधिक बढी छ । लागत नघटाइ आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न सम्भव छैन । त्यसैले पोषणयुक्त पशु आहार सुनिश्चितता, नवप्रविधिको प्रयोग र पशु स्वास्थ्य सेवा सुदृढ गर्दै व्यावसायिक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्छ । दुग्ध क्षेत्रमा रहेका नीति, नियम र कार्यविधिहरूलाई समयानुकूल अद्यावधिक गरी राष्ट्रिय दुग्ध नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।पछिल्लो समय दुग्ध उत्पादन र खपत बिस्तार हुँदै गइरहेको छ । तर गुणस्तर, सुरक्षा र बजारिकरणमा अझै सुधार आवश्यक छ। इनफर्मल बजारलाई फर्मलतर्फ लैजान नीति, प्रविधि, सचेतना र सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य देखिन्छ ।

(लेखक दाहाल नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका बोर्ड सदस्यसमेत हुन् ।)

You might also like

Comments are closed.