पोखरामा आयोजित आठौं इक्यान शैक्षिक मेलाको तयारी कस्तो छ ?
पोखरामा आयोजित आठौँ शैक्षिक मेलाको तयारी अन्तिम चरणमा पुगिसकेको छ । पोखराको न्यूरोडस्थित सिटीस्क्वायर ब्याङक्विटमा हुन गइरहेको यो फेयर पोखरा र यस आसपासका विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरिएको हो । हामीले सरोकारवाला निकायहरू पोखरा महानगरपालिका, शिक्षा मन्त्रालय, स्थानीय प्रशासनसँग पनि आवश्यक अनुमति लिएर फेयर गर्दैछौं । यो मेलालाई सफल बनाउन हामीले तयारीलाई अन्तिम चरणमा पु¥याएका छौं ।
शैक्षिक मेला आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
यो मेलाको मुख्य उद्देश्य भनेको विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई एकै ठाउँमा सम्पूर्ण जानकारी उपलब्ध गराउनु नै हो । विद्यार्थीलाई सहि शैक्षिक संस्था र गन्तव्य देश छनोट गर्न सहयोग पु¥याउने हाम्रो प्रयास हो । विदेशका विभिन्न देशका युनिभर्सिटी र कलेजका प्रतिनिधिहरूसँग विद्यार्थी र अभिभावकले प्रत्यक्ष भेटेर आफ्नो जिज्ञासा र गुनासोहरू मेटाउन सक्नेछन् । यसले विद्यार्थीलाई धेरै ठाउँमा धाउनुपर्ने झन्झटबाट मुक्ति दिन्छ र समयको बचत पनि हुन्छ ।
मेलामा कुन–कुन देशका शैक्षिक संस्थाको सहभागिता रहनेछ ?
मेलामा अष्ट्रेलिया, युके, क्यानडा, न्यूजील्याण्ड, युएसए लगायतका देशका प्रतिष्ठित युनिभर्सिटी र कलेजका प्रतिनिधिहरू सहभागी हुँदैछन् । हामीले ७५ भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधिहरूलाई एउटै छानामुनि भेला गराउँदैछौँ । यसले विद्यार्थीलाई आफू जान चाहेको देशको शिक्षा प्रणाली, शुल्क, छात्रवृत्ति र भिसा प्रक्रियाबारे विस्तृत जानकारी लिन सहज हुनेछ ।
विद्यार्थी तथा अभिभावकहरूलाई यो मेलाले कसरी फाइदा पुग्छ ?
यो मेलाले विद्यार्थीलाई विदेशको शिक्षाबारे सही र आधिकारिक जानकारी प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । धेरैजसो विद्यार्थीलाई कुन देश जाने, कुन विषय पढ्ने र कुन कलेज राम्रो हो भन्ने अन्योल हुने गर्छ । मेलामा आएर सम्बन्धित कलेजका प्रतिनिधिसँग प्रत्यक्ष कुरा गरेर आफ्नो सबै अन्योल हटाई सही निर्णय गर्न सहज हुनेछ । यसबाहेक, हामीले यस मेलामा सहभागी हुने विद्यार्थीका लागि मोबाइल, ल्यापटप, ट्याब लगायतका आकर्षक उपहारको व्यवस्था गरेका छौं । छात्रवृत्तिको लाभ पनि विद्यार्थीले लिन सक्नेछन् ।
पोखरा र आसपासका विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?
हामीले पोखरा र यस आसपासका विद्यार्थी तथा अभिभावकबाट निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौँ । धेरै विद्यार्थीले यस मेलाको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । हाम्रो यो प्रयासले पोखराका विद्यार्थीलाई विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना पूरा गर्न थप ऊर्जा र मार्गदर्शन प्रदान गर्ने विश्वास लिएका छौँ ।
अन्त्यमा, मेलामा सहभागी हुन चाहने विद्यार्थी र अभिभावकलाई तपाईंको सन्देश के छ ?
सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई हाम्रो यो आठौँ इक्यान शैक्षिक मेलामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु । यो मेला तपाईँहरूको भविष्यका लागि एउटा महत्वपूर्ण अवसर बन्नेछ । हामी आशा गर्छौँ कि यस मेलाले तपाईंलाई आफ्नो शैक्षिक यात्राको सही बाटो पहिल्याउन मद्दत गर्नेछ ।
Comments are closed.