संविधान खराब भन्ने नकारात्मक भाष्य निर्माण नगरौँ : सांसद पन्थ

अशोक घिमिरे/काठमाडौं । “कुनै विषयमा सरकार कमजोर हुनेबित्तिकै संविधान र व्यवस्था नै ठिक छैन भन्ने प्रवृत्ति देखिएको छ । ‘सडक भत्कियो भने पनि संविधान खराब भन्ने’, देश नै खत्तम छ भन्ने भाष्य निर्माण हुँदैछ, नकारात्मक भाष्य निर्माण गर्न हुँदैन”, राष्ट्रियसभाका युवा सांसद प्रकाश पन्थले भने ।

पछिल्लो समय समाजमा नकारात्मक चिन्तन बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले सचेत नागरिक, युवा, राजनीतिक पार्टीले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने औँल्याए । “सकारात्मक ढङ्गले अगाडि बढ्न सकियो भने नकरात्मकता कम हुँदै जान्छ । जनताले अपेक्षा गरेअनुसार नभएको हो, केही पनि नभएको भन्ने होइन, अपेक्षाकृत बनाउने काम हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउनुपर्छ”, सांसद पन्थले भने ।

जनताबाट निर्वाचित संविधानसभाबाट जारी संविधान नयाँ भए पनि राजनीतिक दल र कार्यकर्तामा पुरानै अभ्यास रहेकाले पनि जनतामा पुरानै छाप परेको उनको भनाइ छ । “ढङ्ग र शैली पुरातनवादी नै छ । यी सबै कारणले संविधान राम्रो हुँदाहुँदै पनि मुलुकले अपेक्षाकृतरूपमा गति लिनसकेको छैन”, सांसद पन्थले भने ।

पछिल्लो समय युवा तथा विद्यार्थीको विदेशिने क्रम डरलाग्दो ढङ्गले बढिरहेको छ । युवा पुस्तालाई नेपालमा नै सम्भावना देखाउने गरी राज्य प्रस्तुत हुन नसकेको सांसद पन्थको भनाइ छ । “युवा परिचालन राज्यको प्राथमिकतामा कहिल्यै परेन, बालबालिका भविष्यका कर्णधार हुन मात्रै भनियो तर युवा वर्तमान हुन् भनेर कहिल्यै पनि व्यवहार गरिएन”, उनले भने, “मुलुक युवाको काँधमा छ, युवालाई नै मुलुक सुम्पेका छौँ भनेर युवालाई प्रवर्द्धन गर्न सकिएन । युवालाई स्वदेशमै उपयुक्त शिक्षा र रोजगारी दिन हामी चुक्यौँ । सशस्त्र द्वन्द्वलगायत विविध कारणबाट युवा बाहिरिएको अवस्था हो ।”

मुलुक शान्ति प्रक्रियामा अघि बढेपछि युवा पलायन रोक्ने नीति बन्न नसक्नु ठूलो कमजोरी भएको सांसद पन्थ ठान्छन् । “त्यसकारण युवा विदेश पलायन रोकिएको छैन । युवा नेपालमै सुरक्षित हुने स्थिति अझै पनि छैन, उनीहरूलाई रोक्ने, स्वदेशमै केही गर्न प्रेरित गर्ने, व्यावसायिक बनाउने तथा युवा परिचालन गर्नेमा कमजोरी रह्यो”, उनले भने ।

यही सम्भव छ, विदेशमा गर्ने दुःख यही गरे नेपालमै सहज जीवनयापन गर्न पुग्छ, यही देशमा केही गर्न सक्छौँ भनेर युवालाई विश्वासमा लिनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ । युवालाई नेपालमै रहने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै सांसद पन्थ भन्छन्, “यहाँ भएका युवालाई यही रोक्न र विदेशमा भएका युवालाई स्वदेश फर्काउने नीति लिनुपर्छ ।”

सांसद पन्थले ६ वर्षको कार्यकालमा चार वर्ष विधायन व्यवस्थापन समितिको सदस्य भएर काम गरे । “नीति निर्माण, कानुन तर्जुमा, समिति तथा संसद्मा बहस र छलफलमा नै केन्द्रित भएँ”, उनले विगत सम्झिए । उनि अहिले राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सभापति हुन् । समितिको सभापतिका रूपमा उनले नेपाल सरकारले अख्तियार गरेको दिगो विकासका लक्ष्यको नेपालमा कार्यान्वयनको अवस्था, सरकार, सरोकारवालाको कार्यशैलीलगायत विषयमा निरन्तर छलफल गरिरेका छन् ।

“विभिन्न तहका निकायले दिगो विकासका लक्ष्य प्राप्तिका लागि कसरी काम गरिरहेका छन्, राजनीतिक सहभागिता र अपन्त्व छ कि छैन भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ, दिगो विकासका लक्ष्यलाई राजनीतिक अपनत्व लिने गरी तीनै तहका सरकारलाई जिम्मेवार बनाउने गरी काम गरेका छौँ”, सांसद पन्थले भने ।

सन् २०१६ मा सुरु भएर सन् २०३० भित्र यो लक्ष्य हासिल गरिसक्नुपर्ने छ । सन् २०२३ सम्म आइपुग्दा मध्यावधि मूल्याङ्कन गर्ने कोसिस गरिएको उनको भनाइ छ । “सुशासन प्रवर्द्धन र सन्तुलित विकासलाई पनि हेर्नुपर्ने भएको हुनाले धेरै काम दिगो विकास र केही काम सुशासनका क्षेत्रमा गर्न सक्यौँ”, सभापति पन्थले भने, “यसबीचमा सरकार परिवर्तनलगायत महत्त्वपूर्ण परिघटना भए । थोरै समयमा पनि महत्त्वपूर्ण काम भएका छन् । जनतालाई नयाँ सन्देश दिने गरी काम गरेका छौँ ।”

नयाँ संविधान जारी भइसकेपछि मुलुक सही बाटोमा जान्छ भन्ने विश्वासका साथ २०७४ सालको निर्वाचनमा सम्पूर्ण राजनीतिक दलले आर्थिक विकास र समृद्धि अबको एजेण्डा हो भने पनि त्यसको अनुभूति जनताले गर्न नपाएको सांसद पन्थको मत छ । “अब हामी समृद्धिका लागि काम गर्छौँ भन्यौँ । त्यो समृद्धि यति लामो समयसम्म अन्योलमा बस्यो कि समृद्धि भनेको के हो, कहाँबाट सुरु गर्ने हो ? समृृद्धिका आधार के–के हुन् ? भन्नेतर्फ सरकारले कहिले पनि खोजी गरेन । समृद्धि तुहिएर गयो”, उनले भने ।

संविधान जारी भएपछि यसको कार्यान्वयन र सुशासन तथा सामाजिक न्यायका विषयलाई अगाडि बढाउन नसक्दा मुलुकमा अन्योलको स्थिति देखापरेको उल्लेख गर्दै सांसद पन्थले सुशासन, सामाजिक न्याय र समद्धि प्रमुख एजेण्डा हुनुपर्नेमा पहिले समृद्धिमा पाइला हाल्दा सुशासन र सामाजिक न्याय कमजोर भएको बताए ।

विसं २०५२ मा आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियनको सदस्यबाट राजनीतिमा प्रवेश गरेका सांसद पन्थसँग सङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको तनहुँ अध्यक्ष भई काम गरेको अनुभव छ । उनि हाल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, संसदीय दल कार्यसमिति सदस्य र लोकतान्त्रिक प्रजातान्त्रिक अपाङ्ग सङ्घको केन्द्रीय अध्यक्षका रूपमा कार्यरत छन् ।

तनहुँको व्यास–१ स्थायी घर भई अपाङ्गता अधिकार, मानवअधिकार र समाजसेवामा संलग्न पन्थका विभिन्न पत्रपत्रिका तथा अनलाइनमा लेख रचना प्रकाशित छन् । संविधान जारी भएपछि भएको पहिलो आमनिर्वाचनबाट माथिल्लो संसद्को सदस्यका रूपमा कानुन निर्माणमा काम गर्ने अवसर प्राप्त गरेका बखत लागेको हर्षको अनुभूति स्मरण गर्दै उनले संविधान र सङ्घीयता कार्यान्वयनमा आफ्नो कार्यकाल ऐतिहासिक रहेको महसुस गरेको प्रतिक्रिया दिए । रासस

You might also like

Comments are closed.