कास्कीको लेखनाथमा आयोजित १८औं लेखनाथ महोत्सवलाई सहप्रायोजन गर्दै राष्ट्रिय वाणिज्य बैंकले साथ दिएको छ । यसै सन्दर्भमा महोत्सवलाई प्रायोजन गर्नुको उद्देश्य, गण्डकी प्रदेशमा बैंकको अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर बैंकका गण्डकी प्रदेश प्रमुख प्रमोद अधिकारीसँग गरिएको कुराकानीः
लेखनाथ महोत्सवसँग जोडिनुभएको छ, यसको उद्देश्य के हो ?
हामी कुनै न कुनै रुपमा व्यापार व्यवसायमा हुन्छौं । व्यापार व्यवसाय प्रवर्द्धन गर्नु हाम्रो पनि कर्तव्य हो । विगत लामो समयदेखि नै हामी कुनै न कुनै रुपमा लेखनाथ महोत्सवमा जोडिएका छौं । बिगतमा मुख्य प्रायोजक पनि हामी भएका थियौं । हाम्रो उद्देश्य भनेको व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोगी बन्नु हो । मेला तथा महोत्सवले आर्थिक चलायमान पनि हुन्छ ।
गण्डकी प्रदेशमा राष्ट्रिय वाणिज्य बैंकका शाखा संख्या कति छ ?
गण्डकी प्रदेशमा ३० वटा शाखामार्फत ११ जिल्लामा नै सेवा प्रवाह गरिरहेका छौं । वालिङमा शाखा विस्तारको तयारीमा छौं ।
सरकारी बैंकबाट सेवा लिने चाहना हुँदाहुँदै पनि झन्झटिलो प्रकृयाले सेवाग्राही नआउने गरेको पाइन्छ, के भन्नुहुन्छ ?
सरकारी बैंकमा कारोवार गर्न झन्झटिलो हुन्छ भन्ने मानसिकता थियो, अहिले यसमा परिवर्तन आएको छ । राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीकोे आकर्षण पनि बढिरहेको छ । ग्राहकमैत्री सेवामा जोड दिएका छौं । प्रविधिमा पनि विशेष ध्यान दिएका छौं । छिटो तथा सहज तरिकाले सेवा प्रवाह गरिरहेका छौं ।
राष्ट्रिय वाणिज्य बैंकमा कारोबार गर्दा सेवाग्राहीले पाउने लाभ के रहन्छ ?
हामीसँग अनुभव पनि लामो छ । सरकारी बैंकमा कारोबार गरेमा नाफा पनि सरकारी बैंकले नै कमाउँछ र हाम्रो घर आँगनमा नै विभिन्न परियोजना तथा कार्यक्रमका रुपमा सो पैसा आउँछ । समाजमा नै योगदान पुर्याउँछ । त्यसकारण पनि सरकारी बैंकमा कारोबार गर्नुपर्छ भन्ने मानसिकता बढेको छ । विभिन्न शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेका छौं ।
बैंकिङ प्रतिस्पर्धालाई कसरी लिनुहुन्छ ?
बैकिङ क्षेत्रमा निकै प्रतिश्पर्धा छ । समयले हामीलाई पनि प्रतिश्पर्धी बनाएको छ । प्रतिश्पर्धी बनेसँगै बैंक तथा वित्तीय क्षेत्रमा सुधार आएको छ । बैंकहरु मर्ज भएर आएका छन् । प्रतिस्पर्धा हुँदा सेवाग्राही नै लाभान्वित हुन्छन् । प्रतिस्पर्धा हुनुलाई मैले सकारात्मक रुपमा लिएको छु ।
सामाजिक उत्तरदायित्व बहन अन्तर्गत कसरी काम गर्नुभएको छ ?
सिएसआरका विभिन्न क्राइटेरिया हुन्छन् । सिएसआरका नाममा अहिले कतै कतै विकृति पनि देखिएका छन् । सकारात्मक सन्देश प्रवाह हुनेगरि सिएसआरका विभिन्न कार्यक्रममा हामीले काम गर्दै आइरहेका छौं ।
वित्तीय क्षेत्रमा देखिएको तरलताको समस्याले लगानीमा असर गरेको छैन ?
अहिले सिडी रेसियो टाइट छ । लिक्विडिटीले पनि समस्या परेको छ । व्यापार व्यवसाय गर्नेहरुलाई पनि अप्ठ्यारो परिस्थिति छ । लगानीका लागि पछिल्लो समय केही समस्याहरु सिर्जना भएका छन् । आगामी दिनमा वित्तीय क्षेत्रमा क्रमशः सुधार आउने र सम्पूर्ण समस्या पनि समाधान हुनेमा हामी आशावादी छौं ।
Comments are closed.