प्रतिनिधिसभा : विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विगतमा विपद् प्रभावितले अझै पनि राहत नपाएको स्मरण गराउँदै अहिले पनि धेरै क्षेत्रमा बढी पानी पर्ने आकलन भइसकेकातर्फ ध्यानाकर्षण गराए। सांसद् दामोदर भण्डारीले विगतमा सुदूरपश्चिमका पहाडी जिल्लाका भीषण बाढीबाट प्रभावित भएकाहरूलाई उचित व्यवस्थापन र राहत उपलब्ध गराउन माग गरे।

अर्का सांसद् दीपकप्रकाश भट्टले गतवर्ष महाकालीमा आएको बाढीले त्यसआसपासका धेरै क्षेत्रमा क्षति पुर्‍याएको भए पनि राहत नपाएको गुनासो गरे। उनले फेरि वर्षा सुरु भइसकेकाले त्यहाँका जनता थप त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

jutta mela

सांसद दुर्गा पौडेलले वर्षा सुरु भइसकेको र मौसम विभागको अनुमानअनुसार धेरै ठूलो वर्षा हुने आकलन सार्वजनिक भएको सन्दर्भमा गम्भीर तयारीमा लाग्न सरकारसँग आग्रह गरिन्। सांसद दिलकुमारीले किसानलाई मल पानीको जरुरी हुने भन्दै उपलब्ध गराउन सरकारसँग माग गरिन् । उनले अनलाइन पब्जी खेल बन्द गर्न पनि माग गरिन्।

सांसद दिव्यमणि राजभण्डारीले सार्वजनिक बिदा दिने र हटाउने कुरा आफूखुसी नगरी उपयुक्त नियम कानुन बनाई दीर्घकालीनरूपमा लागू हुने परिपाटी बसाउन ध्यानाकर्षण गराए। सांसद दुर्गाबहादुर राउतले सरकारले न्यूनतम ज्याला तोकेको भए पनि महिला स्वयंसेविकालगायतको तलब वृद्धि नभएको भन्दै ध्यानाकर्षण गराए । उनले पुस्तक नपुगेका जिल्लामा तत्काल पु¥याउन माग गरे। सांसद देवेन्द्रराज कँडेलले नागरिकता विधेयक पेश गर्न माग गरे ।

सांसद् नवीना लामाले पुस्तक अभाव किन भयो भनी सरकारसँग प्रश्न गरेकी छन् । सांसद नवराज सिलवालले संसद्मा उठेका विषयमा सरकार गम्भीर नभएको आरोप लगाए । स्वास्थ्यमा देखिएको विकृति नियन्त्रण गर्न उनले ध्यानाकर्षण गराए। सांसद् पुष्पा भुषाल गौतमले कोरोना बीमाको रकम नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

स्कुल समयमा र सरकारी समय फरक पार्न माग
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद् प्रकाशमान सिंहले काठमाडौंको फोहर व्यवस्थापन र बजारभाउ नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले स्कुल जाने समय र सरकारी कार्यालय सञ्चालनको समय फरक गर्न आग्रह गरे । उनले अबको समयमा ट्राफिक व्यवस्थापनको नयाँ योजना अघि बढाउँदै उचित व्यवस्थापन गर्नेपर्ने आवश्यकता औँल्याए।

सांसद् देवप्रसाद गुरुङले मध्यपहाडी लोकमार्गको लमजुङ क्षेत्र, मस्र्याङ्दी करिडोरको सडक निर्माण अवरुद्ध भएको तथा चेपे करिडोरको बाटोसमेत अघि बढ्न नसकेको भन्दै ती सडक शीघ्र अघि बढाउन ध्यानाकर्षण गराए। सांसद टेकबहादुर बस्नेतले किसानलाई मल दिन सरकारसँग माग गरे ।

सांसद् डिला सङ्ग्रौलाले फोहरले काठमाडौं दुर्गन्ध भएको, युवाले रोजगार नपाएको, कानुनको शासन हुन नसकेको, विद्यार्थीलाई पढ्ने पाठ्यपुस्तक नभएको, महँगी बढ्दो क्रममा रहेको तथा हत्या, हिंसा, बलात्कार प्रभावितले न्याय नपाउने अवस्था आएकाले उचित सम्बोधन गर्न सरकारसँग माग गरे।

शून्य समयमा सांसद तेजुलाल चौधरी, ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नरबहादुर धामी, नवराज रावत, नारायणप्रसाद खतिवडा, नारायणप्रसाद मरासैनी, निरुदेवी पाल, पद्माकुमारी अर्याल, पवित्रा निरौला खरेल, पार्वतीकुमारी विशुन्के, प्रेम सुवालले धारणा राखेका थिए।

You might also like

Comments are closed.