प्रतिभा माविमा सिमसारबारे चित्रकला प्रदर्शनी

पोखरा । विश्व सिमसार दिवसको अवसर पारेर यहाँस्थित प्रतिभा माध्यमिक विद्यालयमा एकदिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । विद्यालयको आयोजनमा भएको उक्त प्रदर्शनीमा विद्यार्थीले सिमसार क्षेत्रबारे केन्द्रीत रहेर कोरेका चित्र प्रदर्शनमा राखिएको थियो । विद्यार्थीले सिमसार क्षेत्र र यसको संरक्षणबारे जानकारी दिने गरी चित्र कोरेका थिए । त्यसबाहेक प्रदर्शनमा नमूना सिमसार क्षेत्रको पनि प्रदर्शनी गरिएको थियो ।

विद्यालयमा कक्षा ११ मा अध्ययनरत विज्ञान संकायतर्फका जीव विज्ञान विषयका विद्यार्थीले सिमसार क्षेत्र र यसको महत्वबारे चित्र कोरेका थिए । विद्यार्थीले कोरेको चित्र विद्यालय परिसरमा प्रदर्शनमा राखिएको थियो । सबैगरी ५४ वटा चित्र प्रदर्शनमा राखिएको प्रतिभा माविका जीव विज्ञान विषयका शिक्षक हेमन्त ढकालले बताए । उनका अनुसार सिमसार र संरक्षणको अवस्थाबारे विद्यार्थीलाई जानकारी दिलाउन आवश्यक भएकोले प्रदर्शनमा राखिएको हो ।

‘पछिल्लो पुस्तालाई सिमसारको महत्व र संरक्षणबारे उत्तिसारो ज्ञान छैन । सिमसार क्षेत्रको महत्वबारे भावि पुस्ताले पनि थाहा पाउनुपर्छ,’ उनले भने, ‘सिमसार पूर्नस्थापनामा अबको पुस्ताको भूमिका रहनेछ ।’ सिमसार संरक्षणका लागि मानव समुदायका हरेक गतिविधि प्रकृतिप्रेमी बन्नुपर्ने ढकालले बताए । हरेकवर्ष फेबुअरी २ तारिखमा विश्व सिमसार दिवस मनाइन्छ । यो वर्षको सिमसार दिवसको नारा ‘आजको आवश्यकताः सिमसारको पुर्नस्थापना’ रहेको छ ।

jutta mela

कार्यक्रमको प्रमुख अतिति विद्यालयका प्राचार्य किरण सापकोटाले उद्घाटन गरेका थिए । सापकोटाले सिमसारका क्षेत्रमा देखिएका समस्याले गर्दा सबैतिर चिन्ता छाइरहेको बताए । ‘सिमसार क्षेत्र प्रति संवेदनशील हुने बेला भएको छ । सिमसार क्षेत्रेको महत्व बुुझाउन नसक्दा सबैतिरबाट अतिक्रमण भईरहेको छ,’ उनले भने, ‘सिमसारप्रति मानवको घनिष्ट सम्बन्ध रहेकोले यसको संरक्षण गर्न आवश्यक छ ।’ प्रतिभा माविले सिमसार दिवसको अवसर पारेर पहिलो पटक यो कार्यक्रम आयोजना गरेको र आगामि दिनमा पनि यस्ता गतिविधिलाई प्राथमिकता दिँदै जाने सापकोटाले बताए ।

कार्यक्रममा सिमसार क्षेत्रको इतिहासको बारेमा कक्षा ११ का प्रतिक ढकाल र सिमसार क्षेत्रको महत्वको बारेमा कविन्द्र आचार्यले प्रस्तुती राखेका थिए । कार्यक्रम कक्षा ११ का जीव विज्ञान समुहका विद्यार्थीले नै संयोजन गरेका थिए । कार्यक्रमको सभापतित्व सिद्धान्त खनालले गरेका थिए ।

You might also like

Comments are closed.