प्रतिभाका विद्यार्थीले चित्रमा उतारे सिमसार क्षेत्र

पोखरा । विश्व सिमसार दिवसको अवसर पारेर पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सचेतनामूलक चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

विद्यालयको क्रिएटिभ माइन्डस क्लवले आयोजना गरेको उक्त प्रतियोगितामा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयका विद्यार्थीले भाग लिएका थिए । फेवाताल सिरानको खपौदी क्षेत्रमा गएर स्थलगत रुपमै चित्र कोरेका करिब एकसय जना विद्यार्थीले शुक्रबार दिवसको अवसर पारेर विद्यालयमा प्रदर्शनी गरेका थिए ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार करिब एकसय जना विद्यार्थीले फेवातालको सिरान क्षेत्रमा रहेर सिमसार क्षेत्रलाई झल्काउने गरि चित्र कोरेका थिए । प्रकृतिसँग सामिप्यता गराएरै चित्र कोर्दा वास्तविकता झल्किने भएकोले खपौदी क्षेत्रमा लगेको प्राचार्य सापकोटाले बताए । विद्यार्थीले खपौदी क्षेत्रमै बसेर प्रकृति नियाल्दै सिमसार क्षेत्रको अवस्था झल्काउने चित्र कोरेका थिए ।
विहीबार चित्र कोरेका विद्यार्थीले शुक्रबार विद्यालय परिसरमा प्रदर्शनी गरे । कार्यक्रमको विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । पौडेलले मानव जीवनका लागि सिमसार क्षेत्रको अति नै महत्व रहेको बताए । उनले जलवायु परिवर्तनले वातावरणमा परेको असरबारे सचेत हुनुपर्ने बताए ।

‘सिमसार क्षेत्रमा परेको असरले मानव बस्तीमा प्रभाव पार्न थालेको छ । यसको चिन्ता विश्वव्यापी रुपमा जनाउन थालिएको छ,’ पौडेलले भने, ‘वातावरण सन्तुलनमा राख्नका लागि सिमसार क्षेत्रको महत्व छ । सिमसार क्षेत्रको महत्व नबुझ्नेले मात्र त्यसको दोहन गरिरहेका छन ।’

चित्रकला प्रतियोगितामा उत्कृष्ट चित्रलाई पुरस्कृत पनि गरिएको थियो । अमन कुँवरले कोरेको चित्रले प्रथम स्थान हाँसिल गर्दै ५ हजार रुपैयाँ पुरस्कार पायो । त्यस्तै आयान इकवालको चित्र दोश्रो हुँदै ३ हजार र निश्चल सुवेदी र केशव शाहीको चित्रले तृतीय स्थान हासिल गर्दै जनही २ हजार रुपैयाँ पुरस्कार पाएको थियो ।

विद्यालयको क्रिएटिभ माइन्डस क्लवका अध्यक्ष सिद्धान्त खनालले विद्यालयस्तरमै सिमसार क्षेत्रबारे सचेत बनाउने हो भने भविश्य पनि उज्जवल हुने बताए । जलवायु परिवर्तनको असर र सिमसार क्षेत्रको महत्वबारे विद्यार्थीलाई ज्ञान आवश्यक रहेको उनले बताए ।
विश्व सिमसार दिवस हरेक वर्षको फेब्रुअरी २ मा चेतनामुलक विभिन्न कार्यक्रम मनाइदै आइएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।

You might also like

Comments are closed.