पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागि उक्त कार्यक्रममा विज्ञहरुले सीमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे प्रस्ट पारेका थिए । हरेक वर्ष विश्व सीमसार दिवस फेब्रुअरी २ मा मनाईन्छ । सीमसार दिवसका अवसरमा यसअघि विद्यालयमा सीमसारसँग सम्बन्धित चित्रकला तयार पारिएको थियो । सीमसार दिवसकै छेको पारेर सोमबार कार्यक्रम गरिएको विद्यालयका शिक्षक हेमन्त ढकालले जानकारी दिए । सीमसारको महत्व, जलवायु परिवर्तनले ल्याएको संकटबारे युवा पुस्तामा जानकारी दिलाउन कार्यक्रम गरिएको उनले बताए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालय तहमा अध्ययन विद्यार्थीलाई सीमसारको महत्वबारे बुझाउन सकियो भने त्यसले संरक्षणमा सघाउ पुग्ने बताए । ‘पछिल्लो युवापुस्तासँग सीमसार क्षेत्रको महत्वबारे उत्तिसारो ज्ञान छैन । उनीहरुलाई ज्ञान दिलाउन सकियो भने भविश्यमा सीमसार क्षेत्र जोगिन सक्छ । त्यही भएर विद्यार्थीको सहभागितामा कार्यक्रम गरेका हौं,’ उनले भने । कार्यक्रममा प्रकृति संरक्षणमा युवा पुस्ताको भूमिकाबारे विद्यार्थीले विज्ञसँग जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वन क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख सुमन भट्टराईले युवा पुस्ताले प्रकृतिसँग जोडिएका समसामयिक विषयमा चाँसो दिनुपर्ने बताए । ‘हामीले ठुलाठुला विषयबस्तुमा मात्र चाँसो दिएका छौ । प्रकृतिका साना विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छन,’ उनले भने, ‘मसिना विषयस्तुमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’ पछिल्लो समय सीमसार क्षेत्र संकटमा परिरहँदा सम्बन्धित निकायलाई घच्घचाउने काम युवापुस्ताले गर्नुपर्ने उनले बताए । ‘सीमसार क्षेत्रको संरक्षण मात्र नभई सही तरिकाले उपयोग गर्न पनि जान्नुपर्छ । भविश्यलाई सुनिश्चित हुने गरि उपयोग गर्नुपर्छ,’ उनले भने ।
विशेष अतिथि जिल्ला बार एशोसिएसनकी अध्यक्ष भगवती पहारीले नेपालमा सीमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी प्रावधान भएपनि व्यवहारमा लागु नभएको बताईन । फेवाताल जोखिममा परेको विषय सबैका लागि ज्वलन्त उदाहरण रहेको उनले बताईन । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका अधिकृत पूर्णेश्वर सुवेदी पर्यावरणमा कुनैपनि असर पर्नेगरि काम भएका थाहा पाएमा विभिन्न माध्यमबाट खबरदारी गर्नुपर्ने बताए । ‘प्रकृतिमाथि दोहन भएमा विभिन्न निकायमा जानकारी दिनुपर्छ । त्यसो भयो भने दोहन रोक्न वा कम गर्न सहज हुन्छ,’ उनले भने ।
चराबारे जानकार पोखरा पंक्षी समाजकी कोषाध्यक्ष हिराकुमारी मल्ल चराचुरुंगीबारे २० वर्ष अघि र अहिले फरक अनुभव रहेको बताउँछिन । मानव गतिविधिका कारण चराको बासस्थान नै अप्ठेरोमा परेको उनले बताईन । ‘हिजोका दिनसम्म चरा देखिने ठाउँमा अहिले देखिन छाडेको छ । त्यस्तो हुनुमा हामी नै जिम्मेवार छौ । युवापुस्ताले चाँसो दिएर प्रकृति संरक्षण गर्नुपर्छ,’ उनले भनिन ।
उक्त छलफलमा विद्यार्थीहरुले पोखरा सहरभित्रका विभिन्न चोकमा जथाभावि विजुली बाल्दा चराचुरुंगीलाई परेको असरबारे विद्यार्थीले जिज्ञासा राखेका थिए । त्यसबाहेक पोखरा क्षेत्रका विभिन्न ठाउँका रुख र चौतार मासिँदाको असरबारे पनि छलफल भएको थियो । मानव–वन्यजन्तु द्वन्द्व कसरी घटाउन सकिन्छ भन्नेमा पनि विद्यार्थीको जिज्ञासा थियो । उक्त कार्यक्रममा विद्यार्थीले प्रकृति, सीमसार लगायतका क्षेत्रमा कोरेका चित्र पनि प्रदर्शनीमा राखिएको थियो ।
Comments are closed.