पोखरा । राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ मा रिजल्टमा उत्तिर्ण भएका विद्यार्थीलाई यहाँस्थित प्रतिभा माविले आइतबार एक कार्यक्रम गरि सम्मान गरेको छ । व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयमा उत्तिर्ण विद्यार्थीलाई सम्मान गर्दै विद्यार्थीलाई यसपछिको अध्ययन बारे पनि जानकारी दिएको थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा मेयर आचार्यले कक्षा १२ को अहिलेको परिणामले सिंगो पोखराले गर्व गर्न पाएको बताए । विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावको मेहनतले गर्दा परिणाम उत्कृष्ट आएपनि त्यसको हकदार महानगर पनि हुने उनले बताए ।
कक्षा १२ मा असफल हुँदैमा वा कम अंक आउँदैमा कोही विद्यार्थी आत्तिन नहुने पनि उनले बताए । ‘विद्यालय तहमा बारम्बार असफल भएका विद्यार्थीले पनि विश्वविद्यालय तहमा उत्कृष्ट अंक ल्याउने गरेका छन । त्यसैले अहिले कम अंक आउँदैमा वा असफल हुँदैमा हरेस खानु हुँदैन,’ मेयर आचार्यले भने ।
उत्तिर्ण विद्यार्थीलाइ अबको पढाईबारे सुझाउँदै मेयर आचार्यले पढ्ने विकल्प पर्याप्त रहेकोमा आफ्नो इच्छा, आकांक्षा, रुची अनुसार पढनुपर्ने बताए । ‘मनले जे भन्छ, त्यही विषय पढौं, बुवाआमा वा छिमेकीका लागि पढ्ने होईन । आफ्नो चाहना अनुुसारको विषय पढ्दा पक्का सफल भइन्छ,’ उनले भने, ‘आफैले आफैलाई सोधेर पढौं । अहिले पढेको पढाईले कम्तिमा राज्यलाई केही न केही योगदान दिनुपर्छ ।’
स्नातक नगरि विदेश नजान पनि उनले विद्यार्थीलाई सुझाव दिए । विदेश गएर पढ्दै र काम गर्ने हो भने निकै सकस रहेको भन्दै मेयर आचार्यले भने, ‘कम्तिमा स्वदेशमा स्नातक तह पढेर जानुस । १२ कक्षा पछि नेपालको सिमाना नै नदेख्नेगरि पर्दा लगाउने अवस्था नहोस ।
प्रतिभा माविका प्राचार्य किरण सापकोटाले अहिलेको रिजल्टले विद्यालयको इतिहास रचेको बताए ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा योपटक सर्वाधिक अंक ३.९६ जिपिए रहेकोमा प्रतिभाका नौजना विद्यार्थीले उक्त उत्कृष्ट नतिजा हात पारेर विद्यालयको इतिहास रचेको प्राचार्य सापकोटाले बताए । ‘समग्रमा पोखराको १२ कक्षाको परीणाम अध्ययन गर्ने हो भने प्रतिभाको रिजल्टले योपटक निकै नै फड्को मारेको छ । यो समग्रमा पोखराका लागि पनि गर्वको कुरा हो,’ उनले भने, ‘प्रतिभाले बारम्बार फरक फरक क्षेत्रमा इतिहास रचेको थियो । योपटक देशकै उत्कृष्ट रिजल्टमा आफुलाई हकदार सावित गरेको छ ।’
प्रतिभाबाट १२ कक्षा उत्तिर्ण गरेपछि गएका विद्यार्थीले विभिन्न प्रवेश परीक्षामा आफुलाई अब्बल सावित गराएको पनि उनले बताए । ‘अहिले प्रतिभाको सपनामा अझ अर्काे इटा थपिएको छ । प्रतिभामा सिकेको आत्मविश्वासले सबै विद्यार्थीको भविश्य उज्जवल बन्नेछ,’ उनले भने ।
प्रतिभा मविका संचालक समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभाले हरेक वर्ष शैक्षिक क्षेत्रमा भिन्दै पहिचान कायम गर्न सकेकोमा योपटक त्यसले थप निरन्तरता पाएको बताए । ‘प्रतिभाको इतिहासमा इटा थप्न यो पटक विद्यार्थीले ठुलो योगदान दिएका छन । विद्यार्थीले कोरेको यो इतिहासलाई आगामि दिनमा निरन्तरता दिन विद्यालय अझ लाग्नेछ,’ पौडेलले भने, ‘उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि प्रतिभा सधैं तयार छ ।’
Comments are closed.