lcci festival

प्रतिभामा बिजनेस प्लानसम्बन्धि प्रस्तुती, अहिले पनि हतोत्साहित बनेको छैन :व्यवसायी थापा

पोखरा । विद्यार्थीमा व्यावसायिक सोच विकास गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविले विहीबार ‘बिजनेस प्लान’ सम्बन्धि प्रस्तुती आयोजना गरेको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन समूहका विद्यार्थीले उक्त प्रस्तुतीमा भाग लिएका थिए ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार सबैगरि २२ जनाले उक्त प्रस्तुीमा आफ्नो व्यावसायिक योजनाबारे जानकारी गराएका थिए । केही व्यक्तिगत तथा समूहगत रुपमा विद्यार्थीले योजना सुनाएका थिए । कार्यक्रमको पोखरेली व्यावसायी ध्रुब थापाले उद्घाटन गरेका थिए । उक्त अवसरमा थापाले आफ्नो व्यवासायिक अनुभव पनि साटेका थिए ।

प्राचार्य सापकोटाका अनुसार दसैं–तिहारको एकमहिने बिदामा विद्यार्थीलाई आफुले जानेको र बुुझेको ‘बिजनेस प्लान’ बारे तयार गर्न लगाइएको थियो । कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले बिदाको बेला तयार पारेको विजनेस प्लानलाई विहीबार प्रतिश्पर्धात्मक रुपमा प्रस्तुत गरेका थिए ।

व्यक्तिगत रुपमा विद्यार्थीले तयार पारेको उक्त प्लानमध्ये प्रथम हुनेलाई १५ हजार, दोश्रोलाई १० हजार र तेश्रो र चौथोलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने सापकोटाले बताए । ‘११ र १२ कक्षाको तहमा व्यावसायिक योजना तयार पार्न लगाएका हौ । स्नातक र स्नातकोत्तर तहमा धेरै शिक्षण संस्थाले विद्यार्थीलाई बिजनेस प्लान गर्न लगाउँछन,’ सापकोटाले भने, ‘तर, प्रतिभाले ११ कक्षादेखिका विद्यार्थीलाई यो काममा संलग्न गराएको छ । सानैदेखि व्यवसायिक क्षेत्रको महत्व बुझाउन यो कार्यक्रम प्रभावकारी हुने ठानेका छौ ।’ विद्यार्थीमा व्यावसायिक सोच विकास गर्न पनि यस्ता कार्यक्रम जरुरी रहेको उनले बताए ।

सापकोटाका अनुसार विद्यार्थीले प्रस्तुत गरेको मध्ये प्रथम हुने विजनेस प्लानलाई विद्यार्थीले साच्चै व्यवसायिकता दिएमा विद्यालयले आर्थिक सहयोग गर्नेछ । ‘अहिले प्रस्तुत गरेको बिजनेस प्लानलाई साच्चै व्यवसायिकता दिने र आर्थिक रुपमा अवस्था कमजोर भए विद्यालयले बिउ पूँजीको रुपमा पाँचलाख रुपैयाँ सहयोग गर्नेछ,’ सापकोटाले भने, ‘आर्थिक रुपमा व्यवसाय गर्न बाट कोही पनि पछाडि हट्नु नपरोस भनेर यो सहयोग गर्न खोजिएको हो । नयाँ व्यवासायीको रुपमा प्रवेश गर्नेलाई यसले आर्थिक रुपमा सघाउनेछ ।’

विद्यालयले दिएको बिउँ पूँजी बापतको पाँचलाख रुपैयाँ बिना ब्याज पाँचवर्षपछि विद्यालयलाई फिर्ता गर्नुपर्नेछ । ‘बिना ब्याज पाँचलाख रुपैयाँ दिदाँ व्यवसाय गर्नेलाई पनि सहज होस भन्ने हो,’ उनले भने, ‘आर्थिक समस्याको भार कम परोस भन्ने चाहेका हौ ।’ त्यसबाहेक आवश्यक परेमा विद्यालयले अरु लगानीकर्ता खोज्न पनि सघाउने उनले बताए । विद्यालयले योपटक समेत गरेर विगत ३ वर्षदेखि यो कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि थापाले आफु १७ वर्षको हुदाँ ब्यापार सुरु गरेको जानकारी दिए । प्रविणताप्रमाणपत्र तहमा अध्ययन गर्ने बेलादेखि व्यवासाय सुरु गरेका थापाले व्यावसायी बन्ने लक्ष्यका साथ अघि बढेकोले आफु सफल भएको बताए । ‘म कानुन पढेको विद्यार्थी हुँ । १२ कक्षामा पढ्ने बेला देखि ब्यापार सुरु गरे । लक्ष्य लिएर ब्यापार सुरु गर्ने हो भने सफल भइन्छ,’ उनले भने, ‘असामान्य लक्ष्य पुरा गर्न असामान्य खालको मेहनत गर्नु पर्छ । म ब्यापारी बन्छु, प्रतिष्ठित ब्यक्ति बन्छु भन्ने लक्ष्य राखौ, पक्कै सफल भइन्छ ।’

व्यावसाय थाल्दाको सुरुवाती चरणमा आफुले निकै नै मेहनत गरेको उनले सुनाए । ‘बिहान साइकल चढेर पिएन क्याम्पसमा पढ्न जान्थे । पसल खोल्न ढिला हुने भएपछि अन्तिमका केही कक्षा पढ्न पाउँदिनथे,’ उनले सुनाए, ‘आफैले कुचो र पोछा लगाएर ब्यापार सुरु गरेको । मोटरसाइकलमा टासिएको धुलो पुछेर व्यापार सुरु गरेको हुँ ।’ व्यावसायमा सफल हुन सबैखाले मेहनत गरेको उनले सुनाए । थापाले सेकेन्ड ह्यान्ड बाइक बेच्ने भन्दै २०४५ तिर पोखरामा पहिलोपटक रिकन्डिसन हाउस खोलेका थिए । त्यो नै नेपालको पहिलो रिकन्डिसन हाउस रहेको उनले बताए ।

‘परिवारले दिएको २ लाख रुपैयाँबाट व्यावसाय सुरु गरेको थिए । सुरुमा २ वटा मोटरसाइकल राखेर व्यावसाय थालेको थिए,’ आफुले गरेको मेहनत सम्झँदै उनले भने, ‘पसलमा पोछा लगाएर ब्यापार सुरु गरेको भएर होला मलाइ अहिले पनि मोटरसाइकलको पाटपुर्जा मर्मत गर्न बनाउन आउँछ । अहिले पनि मैले बाइक बनाउन जानेको छु ।’ व्यावसायमा सफल हुँदै जाने क्रममा पनि थापाले गाडी र घरजग्गा ब्यापार थालेका थिए ।

‘एकपटक घरजग्गामा निकै नै गिरावट आयो । त्यो बेला मैले भएजतिको पैसा जग्गामा लगानी गरेको थिए । जसोतसो आधा मूल्यमा धेरैजसो जग्गा बेचे । केहीमा भएको थोरै नाफाले मलाई जोगायो,’ उनले सुनाए, ‘व्यावसायमा नाफ नभएपनि म निरास बनिन । ब्यापारको क्रममा कहिले माथी र कहिले तल भइन्छ । तर आत्तिने होइन । उतार चढाब आएपनि आत्तिनु हुन्न ।’

विद्यार्थीलाई सुझाउँदै उनले सम्पत्ती कमाउने हो भने ब्यापार गर्नुपर्ने बताए । ‘व्यापार ठूलोबाट होइन सानोबाट सुरु गर्नुस । सानोबाट ब्यापार सुरु गरेर ठूलो बन्ने हो । ब्याबसायमा नयाँपन हुनुपर्छ । अरु भन्दा फरक हुनुपर्छ । नयाँ ढंगले काम गर्नुपर्छ,’ थापाले भने, ‘एकैपटक नयाँ व्यापार सुरु गर्दा जोखिम हुन्छ तर अरुले जे गरे मैले पनि त्यहि गर्छु भन्ने होइन नयाँ गर्नुपर्छ ।’

आफुले व्यावसायका क्रममा बारम्बार उतारचढाव बेहोरेको उनले बताए । ‘अहिले पनि म हतोत्साहित बनेको छैन । अप्ठ्यारो आउँदा आत्तिनु हुन्न । आफुले चाहेजस्तो हुदैन,’ दुइ महिना अघि भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ठूलो क्षति भोगेका व्यावसायी थापाले भने, ‘म अहिले पनि आत्तिएको छैन ।’ थापा नेपाल एशोसिएसन अफ डिलर्स एशोसिएसनको अध्यक्ष समेत बनेका थिए । उनले व्यापारमा चूनौती खेप्न तयार हुनुपर्ने पनि बताए । त्यसबाहेक व्यवासायीक योजना बनाउँदा पनि ख्याल गर्नुपर्ने बताए । ‘ब्यापार मा चुनौती खेप्न तयार हुनुस । ब्यापारमा लगानी गरेर नाफा लिने हो । कहिलेकाही भाग्यले साथ दिन्छ, तर, सधै भाग्यले साथ दिन्छ भनेर हुँदैन मेहनत पनि अनिवार्य छ’ उनले भने ।

उक्त प्रस्तुतीको निर्णायकमा प्राध्यापक जशबहादुर गुरुङ, बैंकर तीर्थ घिमिरे थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको भित्री खुबि पहिचान हुने बताए । उनले विद्यार्थीले अहिले नै व्यावसायिक योजना बनाउँदा उनीहरुलाई उद्यमी बन्न प्रोत्साह मिल्ने बताए । ‘अहिलेको योजना भविश्यमा कार्यान्वयन गर्न सकेमा मुलुकले लाभ लिन्छ । साच्चै व्यावसाय थाल्ने हो भने पाँचलाख बिउँ पूँजी विद्यालयले दिन्छ,’ उनले भने, ‘युवालाइ देशमै रहनुपर्छ भन्ने मान्यता अनुसार लागेका छौ । काम गर्नुस ५० लाखको पार्टनरशिप हामी बन्नेछौं ।’

 

 

You might also like

Comments are closed.