पोखरा । चिकित्सा शिक्षा आयोगले यो वर्ष लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसससी नर्सिङतर्फ प्रतिभा मा.वि.की आयुषा ढकाल नेपालमै उत्कृष्ट बनिन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिष्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा आफूलाई उभ्याउन सफल भइन् । त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थाले लिएको इन्जिनियरिङतर्फको प्रवेश परीक्षामा पनि प्रतिभाकै अभिषेक न्यौपानेले आफूलाई देशभरमै तेस्रो नम्बरमा पार्न सफल भए ।
आयुषा र अभिषेकको उत्कृष्टता उदाहरण मात्र हुन् । यो वर्ष मात्रै प्रतिभा माविबाट १२ कक्षा उत्तीर्ण गरेका करिब एकसय जना विद्यार्थीले उच्चशिक्षाका लागि विभिन्न निकायले लिएको प्रवेश परीक्षामा आफूलाई उत्कृष्ट सावित गर्न सफल भएका छन् । नर्सिङ, एमबिबिएस, बिडिएससहित चिकित्सा क्षेत्र र इन्जिनियरिङतर्फ तथा व्यवस्थापन सङ्काय अन्तर्गत बिआइटी, बिएससी सिएसआइटी, सिए, बिबिए, बिएचएम, बिसिएस, बिआइएममा प्रतिभाका विद्यार्थीले पूर्ण छात्रवृत्तिसहित प्रवेश परीक्षा उत्तीर्ण गरेका थिए ।
‘प्रतिभाका विद्यार्थीले विभिन्न प्रवेश परीक्षामा यो वर्ष ‘छलाङ’ नै मारेका छन् । विद्यार्थीको उत्कृष्टताले सिङ्गो प्रतिभा माविलाई गौरवान्वित बनाएको छ,’ विद्यालयका प्राचार्य किरण सापकोटा भन्छन्, ‘सफलताको कथा कोर्ने क्रममा प्रतिभा माविले यो पटक फेरि नयाँ इतिहास रचेको छ, प्रतिभाका विद्यार्थीले आफूलाई अब्बल सावित गरेका छन् ।’ छात्रवृत्तिको यो रिजल्ट प्रतिभा माविका लागि मात्र नभई समग्र गण्डकी प्रदेशको सफलता रहेको उनले बताए । ‘भविष्यका डाक्टर, इन्जिनियर, व्यवस्थापक तथा दक्ष जनशक्ति उत्पादन गर्न पाउनु समग्र देशकै लागि पनि खुसीको कुरा हो,’ उनले भने ।
सधैं उत्कृष्ट रिजल्ट
२०४३ सालदेखि सञ्चालनमा आएको विद्यालयले आइएसओ सर्टिफाइड प्रमाणपत्र पाइसकेको छ । दक्ष तथा अनुभवी शिक्षक र कर्मचारी विद्यालयसँग आबद्ध छन् । प्रतिभाको इतिहासलाई गर्विलो बनाउन विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने प्राचार्य सापकोटा बताउँछन् । केही वर्ष अघि ३.९२ जिपिएसहित विद्यालयकी सुरती पाण्डे देशकै सर्वोत्कृष्ट बनिन् । प्रतिभाकै छात्र जेएन मिलनले काठमाडौँ विश्वविद्यालयद्वारा लिइने एमविविएस परीक्षामा पहिलो नम्बरमा नाम निकाली इतिहास रचे ।
प्रतिभाकै छात्रा सुमिना गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा एमविविएस अध्ययन गर्ने छात्रा बनिन् । अर्का छात्र कुशल लामिछानेले पनि एमविविएसमा आफूलाई अब्बल सावित गरेका थिए । ‘हरेक वर्ष प्रतिभाका विद्यार्थीले आफूलाई अब्बल सावित गराउन सफल भएका छन्,’ उनले भने, ‘यो वर्ष पनि छात्रवृत्तिमा प्रतिभाले नै प्रतिभा देखाइसकेको छ ।’
विद्यार्थीको रोजाइमा “प्रतिभा”
प्रतिभा मा.वि. हरेक वर्ष उत्कृष्ट विद्यार्थीहरूको रोजाइमा परेको छ । त्यसका पछिल्लो उदाहरण हुन्ः २०८० को एसइइमा ४ जिपिए ल्याएका प्रनिशा तुलाचन र समीर सुवेदीले प्रतिभा नै रोजे । त्यसैगरी, २०८१ मा ४ जिपिए प्राप्त गर्ने सौगात पोखरेल, सभ्यता लामिछाने, विशाल खत्री र सृष्टिना पौडेलले प्रतिभा मै अध्ययनरत छन् ।
प्रतिभा नै किन रोज्ने ?
प्रतिभा माविले हरेक वर्ष कक्षा ११ मा विज्ञानमा ३ सय ६०, व्यवस्थापनमा ३ सय २० र होटल व्यवस्थापनमा ७६ जना विद्यार्थीको मात्र भर्ना लिन्छ । भर्ना हुन चाहने सयौँ मध्येबाट प्रवेश परीक्षामार्फत उत्कृष्टलाई छनोट गर्छ । आखिर किन प्रतिभामै ? विद्यालयका प्राचाार्य सापकोटा भन्छन्, ‘हामी विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिन्छौँ । वार्षिक र अन्य परीक्षाको रिजल्टले पनि विद्यालयको उत्कृष्टता पुष्टि गरिसकेको छ । विद्यार्थीलाई प्रविधिमैत्री तरिकाले पढाउँछौँ । गुणस्तरका लागि हरदम सक्रिय छौँ ।’ सापकोटाका अनुसार विद्यालयमा शैक्षिक सत्रको सुरुवातदेखि नै एमबिबिएस, बिइ, बिबिए, सिएको तयारीका लागि कक्षा सञ्चालन गरिन्छ । त्यसले उत्कृष्ट रिजल्ट दिलाउँछ ।
प्राचार्य सापकोटा उत्कृष्ट
पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा यो वर्ष अस्ट्रेलियाको क्यानवेरामा ‘उत्कृष्ट प्राचार्य २०२४’ को अवार्डबाट सम्मानित भए । अस्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियन नेशनल युनिभसिर्टिमा अंग्रेजी म्यागेजिन कलेज रिडर्सले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड प्रदान गरिएको थियो ।
सापकोटालाई शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन, विद्यार्थीको क्षमता विकास तथा अतिरिक्त क्रियाकलाप र उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । कलेज रिडर्सले आयोजना गरेको यो तेश्रो संस्करण हो । कलेज रिडर्सले यसअघि दुवई र जापानमा यस्तै अवार्ड प्रदान गरेको थियो ।
नेपालको शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्तित्व र विद्यालयलाई कलेज रिडर्सले वर्षेनी पुरस्कृत गर्दै आएको छ । योसँगै प्रतिभा माविले काठमाडौं उपत्यका बाहिरको उत्कृष्ट प्लस टुको अवार्ड पनि पाएको छ । उत्कृष्ट नतिजा र व्यवस्थापनमा अब्बलताको सूचकका आधारमा विश्वविद्यालयका प्राज्ञिक व्यक्ति सङ्लग्न निर्णायक टिमको सिफारिसको आधारमा सम्मान गरिएको थियो ।
हिसान “ट्रफी” प्रतिभाको पोल्टामा
१७औं संस्करणको हिसान स्पोर्टस मिटमा प्रतिभा मावि च्याम्पियन बन्यो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको प्रतियोगितामा योसँगै प्रतिभा मावि लगातार तेश्रोपटक च्याम्पियन बनेको छ । स्पोर्टस मिटमा समावेश चारवटा खेलमा नै प्रतिभाले बलियो उपस्थिति जनाएको थियो । प्रतियोगिताको छात्र–छात्रा बास्केटबल, छात्र भलिबल, ब्यामिन्टन र टेबलटेनिसमा उत्कृष्ट खेल्दै प्रतिभा च्याम्यिन बनेको हो । हिसान कास्की स्पोर्टस मिटको इतिहासमा हाल सम्मकै सर्वाधिक अङ्क प्रतिभाले प्राप्त गरेको थियो । १५ औँ र १६ औँ हिसान स्पोर्टस मिटको समेत च्याम्पियन रहेको प्रतिभाले लगातार तेस्रोपटक च्याम्पियन हुँदै हिसान स्पोर्टस मिटको ट्रफीमा समेत कब्जा जमाएको छ ।
टी-२० क्रिकेट प्रतियोगिताको उपाधि
विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप २०८२ को उपाधि पनि प्रतिभा माविले नै जितेको छ । प्रतिभा माविका सरोज पौडेल प्लेयर अफ दी म्याच घोषित भए । साथै अघिल्लो वर्ष आयोजित पहिलो संस्करणको विजेता पनि प्रतिभा मा.वि. नै थियो ।
सचेतनामूलक कार्यक्रम
विद्यार्थीका लागि नियमित गतिविधिमा पनि विद्यालयले उत्तिकै जोड दिएको छ । विद्यालयले राष्ट्रिय वन्यजन्तु सप्ताहअन्तर्गत सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । वर्षेनी शैक्षिक मेला पनि गर्छ । ‘एजुकेसन युएसए मिनी फेयर’ पनि आयोजना गर्दै आएको छ । विद्यालयका प्राचार्य सापकोटाका अनुसार विगत पाँच वर्षदेखि वर्षेनी यस्तो शैक्षिक मेला आयोजना हुने गरेका छन् । अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरू नेपाल आउने र उनीहरूले स्कुलसँगको सहकार्यमा यो मेला आयोजना हुन्छ । विद्यार्थीले पाउने छात्रवृत्ति, विषय छनोट, रोजगारका अवसरबारे पनि विश्वविद्यालयका प्रतिनिधिसँग जानकारी लिन पाउँछन् ।
गणित हाजिरीजवाफ
विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउन प्रतिभा माविले गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना ग¥यो । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीले उक्त प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्राचार्य सापकोटाका अनुसार विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउन नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो ।
साहित्य मेला र जमघट
विद्यार्थीमा साहित्यको चेतना र पठनशैली विकास गराउने उद्देश्य सहित प्रतिभा माविमा एकदिने साहित्य, कला र सङ्गीत मेला सहित विद्यालयका पूर्व विद्यार्थीहरूको लागि भेटघाट कार्यक्रम पनि आयोजना गरिएको प्राचार्य सापकोटाले बताए ।
उक्त अवसरमा पोखरेली साहित्यकार तीर्थ श्रेष्ठसँग लेखक समेत रहेका जीवनसागर भण्डारीले साहित्यिक छलफल गरेका थिए । भण्डारीसँग गफिँदै कवि श्रेष्ठले विद्यार्थीको जीवनबारे अनुभव साटेका थिए । आफूले पोखरामा रहेर विद्यालयमा पढ्दा र अहिलेको शिक्षाबारे अनुभव साटेका थिए ।
सिमसार बहस
जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले प्रतिभा माविमा एकदिने सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरियो । विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागी उक्त कार्यक्रममा विज्ञहरूले सीमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे प्रष्ट पारेका थिए ।
उत्कृष्टलाई सम्मान
प्रतिभा माविले वर्षभरि आयोजना गरेका विभिन्न शैक्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ । वर्षभरि भएका खेलकुदका आन्तरिक गतिविधि, विज्ञान प्रदर्शनी, बिजनेस प्लान प्रेजेन्टेसन, फुड फेस्टिबल लगायतका गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको हो । उत्कृष्ट विद्यार्थीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो ।
विज्ञान प्रदर्शनी
विद्यार्थीमा नयाँ ज्ञान र खोज सहितको प्रतिभा बाहिर ल्याउन आयोजना गरिएको विज्ञान प्रदर्शनीमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी थिए । दसैँ–तिहारको विदा रचनात्मक र सिर्जनशील बनाउन र नयाँ कुरा सिक्ने अवसर दिलाउन विद्यालयले विद्यार्थीलाई विज्ञानसँग सम्बन्धित रहेर विभिन्न प्रोजेक्ट तयार पार्न लगाएको थियो । विदाको सदुपयोग गर्दै तयार पारिएका तिनै प्रोजेक्ट विद्यार्थीले प्रदर्शनमा राखेका थिए ।
विद्यालयको छनोटको आधारमा ११ र १२ कक्षाका १ सय ५५ र कक्षा ४ देखि १० सम्मका ७८ गरी २ सय ३३ सामाग्री विद्यार्थीले प्रदर्शनमा राखेका थिए । त्रिभुवन र पोखरा विश्वविद्यालयका प्राध्यापकहरू सहभागि टिमले उत्कृष्ट प्रोजेक्टको मूल्याङ्कन गरेका थिए ।
“बिजनेस प्लान” प्रतिष्पर्धा
विद्यार्थीमा व्यावसायिक भावना विकास गराउने उद्देश्यले प्रतिभा माविमा ‘व्यावसायिक योजना’ सम्बन्धी प्रतिस्पर्धा गराइएको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले ‘बिजनेस प्लान प्रेजेन्टेसन’ सम्बन्धी उक्त प्रतिष्पर्धामा भाग लिएका थिए । विद्यालयका प्राचार्य सापकोटाका अनुसार उक्त प्रतिस्पर्धामा २३ समूहले भाग लिएका थिए । तीमध्ये केही व्यक्तिगत सहभागिता पनि थिए ।
विद्यालयले हरेक वर्ष दसैँ र तिहारको बिदाको बेला पारेर विद्यार्थीलाई यो प्रतिस्पर्धाका लागि तयारी गर्न लगाउने गरेको छ । विगत तीन वर्षदेखि नियमित रूपमा भइरहेको यो तेश्रो आयोजना हो । विद्यार्थीले तयार पारेका व्यावसायिक योजनामध्ये उत्कृष्ट योजना छनोट गर्ने र १२ कक्षापछि व्यावहारिक रुपमा उपयोग गरेमा विद्यालयले पाँचलाख रुपैयाँको बिउपूँजी पनि दिने गरेको छ ।
फुड फेस्टिबलमा विद्यार्थीको स्वाद
विद्यार्थीमा रहेको दक्षता प्रस्फुटन गराउने उद्देश्यले प्रतिभा माविमा एकदिने ‘फुड फेस्टिबल’ आयोजना गरियो । फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए । खाना, सङ्गीत र खेललाई एकैठाउँमा प्रस्तुत गर्ने गरि आयोजित उक्त फेस्टिबलको अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईले उद्घाटन गरेका थिए ।
प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त फेस्टिबलमा विद्यार्थीले विभिन्न स्वादका खाना पस्केका थिए । खाना बाहेक सङ्गीत र खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको थियो । विद्यालयका प्राचार्य सापकोटाले विद्यार्थीमा रहेको पाककलाको क्षमता देखाउने गरि फुड फेस्टिबल आयोजना गरिएको बताए । विद्यालयले योसहित तेश्रो संस्करणको फुड फेस्टिबल आयोजना गरेको हो ।
विद्यार्थीको सफलता निरन्तरता
प्रतिभाका जेनिश मल्ल हङकङमा हुने इकोनोमिक ओलम्पियाडको प्रतिष्पर्धामा छानिएका छन् । नेपालका चार जना उक्त स्पर्धामा छानिएको भए पनि काठमाडौँ बाहिरबाट छानिएका प्रतिभाका जेनिश एकमात्र विद्यार्थी हुन् । त्यस्तै यो वर्ष प्रतिभाकै अञ्जन पौडेलले अमेरिकाको साउदर्न मिसिसिपी विश्वविद्यालयको पूर्ण छात्रवृत्ति पाएका छन् । अर्का छात्र अशोक रेग्मीले पनि अमेरिकाकै लुजियाना मोनरोय विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।
अग्रजलाई सम्मान
प्रतिभा माविले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष समाजमा विशेष योगदान गर्ने व्यक्तिलाई सम्मान पनि गर्छ । अघिल्लो वर्ष हरिवंश आचार्य र गायक प्रकाश सपुत पोखरामा सम्मानित भए । प्रतिभाले हाँस्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘प्रतिभा विशेष व्यक्तित्व पुरस्कार र सपुतलाई ‘प्रतिभा युवा वर्ष पुरस्कार’ बाट सम्मान गरेको हो । उनीहरूलाई जनही एकलाख रुपैयाँ सहित सम्मान गरिएको थियो ।
प्रतिभाले यसअघि नेपाली क्रिकेट टिमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भलिबलकी कप्तान अरुणा शाही, राजनीतिक विश्लेषक तथा लेखक अभि सुवेदी, एचआइभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठ, प्रा.डा. सुरेशराज शर्मालाई लगायतलाई सम्मान गरिसकेको छ ।
मणिपालसँग सम्झौंता
प्रतिभाले विद्यार्थीको स्वास्थ्यबारे पनि उत्तिकै ध्यान दिन्छ । त्यसको उदाहरण हो– प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट सम्झौता । सम्झौताअनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिने गरेको छ । अस्पतालसँगको सहकार्यमा विद्यालयले हरेक वर्ष विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गराउँदै आएको छ ।
प्रविधिमा प्रतिभाको जोड
विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार विद्यालयले समयसापेक्ष उच्चतम प्रविधि प्रयोग गर्दै आएको छ । माइ सेकेन्ड टिचर (एमएसटी) सँगको सहकार्यमा कक्षाकोठालाई प्रविधिमैत्री बनाइएको छ । ‘अब परम्परागत शिक्षण विधिलाई परिवर्तन गर्न जरुरी छ । प्रतिविधिमा फड्को मार्न नसके अबको पुस्ता पछाडि पर्छ,’ पौडेल भन्छन्, ‘सिकाइमा विद्यार्थीमैत्री प्रविधि अब अत्यावश्यक भइसक्यो ।’ जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीका लागि छात्रवृत्ति पनि विद्यालयले प्रदान गर्दै आइरहेको पौडेलले बताए ।
पोखरामा सबैभन्दा बढी विद्यार्थी प्रतिभामै छन् । कक्षा ११ र १२ मा मात्रै अहिले एकहजार छसय भन्दा बढी विद्यार्थी अध्ययन गर्छन । प्रतिभाले २०६० देखि प्लस टु मा म्यानेजमेन्ट अध्यापन थालेको थियो । २०६८ सालमा विज्ञान सङ्काय थपेको विद्यालयमा हाल व्यवस्थापन, विज्ञान र होटल व्यवस्थापन विषयका कक्षाहरू सञ्चालन भइरहेका छन् ।
Comments are closed.