कला, साहित्य र संस्कृतिको संरक्षणमा विशेष चासो भएका प्रेमलाल श्रेष्ठसँग आर्ट (चित्रकला)मा उत्तिकै रुची छ । उनले कोरेका आर्टहरु निकै आकर्षक र राम्रा देखिन्छन् । श्रेष्ठसँग आर्टप्रति कति लगाब छ भन्ने कुरालाई बुझ्न उनी अध्यक्ष रहेको संस्था नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले वर्षेनी प्रकाशन गर्ने भित्ते पात्रोलाई हेर्दा नै पुष्टि हुन्छ । जुन पात्रोका हरेक पानामा प्रतिष्ठित आर्टिष्टका कलाहरु समावेश हुन्छ । आफ्नो आर्ट पात्रोमा किन राख्नुहुन्न भन्दा उनी भन्छन्, ‘आफैले प्रकाशन गर्ने पात्रोमा आफ्नो आर्ट किन राख्नु ? अन्य कलाकारलाई स्थान दिने गरेका छौं ।’ आर्टमा विशेष रुची भएका श्रेष्ठ पारिवारिक संगतका कारण हेभी इक्विपमेन्ट व्यवसायमा आबद्ध भए । आबद्ध मात्रै भएनन् महासंघको संस्थापक हुँदै दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी पनि सम्हाले । कोभिड महामारी र आर्थिक मन्दीका बीचमा महासंघको नेतृत्व सम्हालेका उनले आफ्नो कार्यकाल पुरा गर्दैछन् । यही वैशाख १८ गते बिहीबार तेस्रो महाधिवेशनमार्फत नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्ने तयारीमा श्रेष्ठ छन् । यसैक्रममा श्रेष्ठसँग हामीले महाधिवेशनको सन्दर्भमा संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरेका छौंः
महासंघको अध्यक्षको कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?
मैले असाध्यै अप्ठ्यारो परेको बेलामा पदको जिम्मेवारी लिएँ । भूकम्पले थिलथिलो पारेको देश, त्यसपछि कोरोना महामारी र लकडाउनले ठप्प पारेको अर्थतन्त्र । यस्तो बेला विकास निर्माणका कामहरू ठप्प भए । हेभी इक्विपमेन्ट व्यवसाय पूर्ण रूपमा विकास निर्माणमा निर्भर छ । जब प्राकृतिक प्रकोप वा आर्थिक संकटले विकासका काम नै रोकिन्छन्, तब यी मेसिनहरू स्वतः थन्किन्छन् । विकास निर्माणको काम नै ठप्प भएपछि हेभी इक्विपमेन्ट चल्ने कुरै भएन । मेसिन नचलेपछि व्यवसाय कसरी चल्छ र ? यो विशेष परिस्थितिको विशेष जिम्मेवारीलाई मैले सफल बनाउन पाउँदा गौरव महसुस भएको छ । कार्यकाल सफल बनाउन साथ दिने सम्पूर्ण साथीहरुप्रति म आभारी छु ।
यो बीचमा व्यवसायीहरुले कस्ता समस्या भोग्नुप¥यो ?
यो अवधि व्यवसायीहरूका लागि अत्यन्तै कष्टकर रह्यो । बैंकको ऋण, कर्मचारीको तलब, मेसिनको मर्मत सम्भार जस्ता खर्चहरू निरन्तर थिए, तर आम्दानी शून्य । बजेट अभावका कारण सरकारी निर्माणका कामहरू रोकिए, निजी क्षेत्रका परियोजनाहरू पनि सुस्ताए । यसको प्रत्यक्ष असर हेभी इक्विपमेन्ट व्यवसायीहरूमाथि प¥यो । कतिपय व्यवसायीहरू पलायन हुने अवस्थामा पुगे । महासंघलाई टिकाउन र यो व्यवसायमा रहिरहन नै हामीलाई गाह्रो भएको थियो । खिया लागेर बसेका करोडौंका मेसिनहरू व्यवसायीका लागि निल्नु न ओकल्नुको पीडा बनेका थिए । व्यवसायीहरुले दुःख कष्ट सहदै घाटामा पनि आफ्नो व्यवसाय धानेर बस्नुपर्ने अवस्था आयो ।
तपाईंको कार्यकालको अन्त्यतिर आइपुग्दा यो व्यवसायमा केही सुधार आउन थालेको हो ?
लामो अन्धकारपछि उज्यालो आएझैं, पछिल्लो समय हेभी इक्विपमेन्ट क्षेत्रमा केही सकारात्मक संकेतहरू देखिन थालेका छन् । बन्द रहेका विकास निर्माणका परियोजनाहरू बिस्तारै सुरु भएका छन् । अहिले केही चहलपहल बढेको छ, केही सुरुवात भएको छ । खिया लागेर त्यसै बसेका मेसिनहरू फेरि चल्न थालेका छन् । यो पुनरागमनले व्यवसायीहरूमा नयाँ उत्साह थपेको छ, यद्यपि पुरानै लयमा फर्कन अझै समय लाग्ने देखिन्छ ।
महासंघका सदस्यहरुसँग रहेका मेसिनहरुको संख्या कति छ ?
नेपालमा हेभी इक्विपमेन्ट क्षेत्रको आकार निकै ठूलो छ । देशभर हाम्रा सदस्यहरूसँग मात्रै करिब २० हजारको हाराहारीमा हेभी इक्विपमेन्टहरू छन् । यी मेसिनहरू निकै महँगा हुन्छन् । एउटा सामान्य स्काभेटरको मूल्य पचास लाखदेखि सुरु भएर क्षमता, ब्राण्ड र कम्पनीअनुसार करोडौं रुपैयाँसम्म पर्छ । यस हिसाबले हेर्दा, यो क्षेत्रमा खरबौं रुपैयाँको लगानी भएको अनुमान गर्न सकिन्छ ।
विकास निर्माणमा हेभी इक्विपमेन्टको योगदानलाई कसरी हेर्नुहुन्छ ?
पहिले–पहिले विकास निर्माण भनेको मानिसहरूकै श्रममा आधारित थियो । जब मेसिनहरू देश भित्रिए, त्यसपछि काम छिटो र सहज हुन थाल्यो । स्काभेटर, डोजर जस्ता केही सीमित मेसिनबाट सुरु भएको यो यात्रामा आज विभिन्न विशिष्टकृत उपकरणहरू थपिएका छन् । सानो नाली खन्नदेखि ठूला सुरुङ खन्न र अग्ला संरचना बनाउनसमेत विशिष्ट मेसिनहरू उपलब्ध छन् । हेभी इक्विपमेन्ट देश विकासको सारथी बनेका छन् ।
यो व्यवसायमा निजी क्षेत्रको प्रवेश कसरी भयो ?
सुरुवाती दिनहरूमा नेपालमा हेभी इक्विपमेन्टको उपलब्धता निकै कम थियो । केही सरकारी निकायहरू र ठूला कम्पनीहरूसँग मात्र सीमित मेसिनहरू हुन्थे । ठूला विकास परियोजनाहरूमा प्रायः विदेशी कम्पनीहरूले ठेक्का पाउँथे र उनीहरूले नै आवश्यक मेसिनहरू विदेशबाट ल्याउँथे । काम सकिएपछि ती मेसिनहरू उनीहरूले कि त यतै सस्तोमा बेचेर जान्थे, कि छोडेर जान्थे ।
तर, समयसँगै यो प्रवृत्ति बदलियो । निजी क्षेत्रले यो व्यवसायको सम्भावना देख्यो र लगानी गर्न थाल्यो । विशेषगरी, बहुदल व्यवस्था आएपछि प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा ल्याइएको ‘आफ्नो गाउँ आफै बनाऔं’ अभियान र विकास निर्माणका सामानहरूमा भन्सार दर उल्लेख्य रूपमा घटाउने नीतिले निजी क्षेत्रलाई यो व्यवसायमा आकर्षित ग¥यो । त्यतिबेला विकासको लहर नै आयो । धेरैले लगानी गरे । अहिले यो व्यवसाय यति व्यापक हुनुमा त्यतिखेरको नीतिको पनि ठूलो हात छ । सुरुमा नाफा राम्रो देखिएपछि व्यवसायीहरू हौसिए र लगानी बढाउँदै लगे । अहिले अवस्था यस्तो छ कि, अधिकांश मेसिनहरू निजी क्षेत्रसँगै छन् र सरकारी निकायहरूले समेत भाडामा लिनुपर्ने अवस्था छ ।
पछिल्लो समय व्यवसायमा प्रतिस्पर्धा बढेको देखिन्छ । प्रतिस्पर्धा कस्तो छ ?
जुनसुकै क्षेत्रमा पनि जब लगानी र आकर्षण बढ्छ, त्यहाँ प्रतिस्पर्धा बढ्नु स्वभाविक हो । तर, हेभी इक्विपमेन्ट क्षेत्रमा यो प्रतिस्पर्धा अस्वस्थ तहसम्म पुगेको व्यवसायीहरूबाटै गुनासाहरु पनि आउने गरेका छन् । जहाँ नाफा हुन्छ, त्यहाँ लगानी बढ्छ । यही क्रममा आवश्यकताभन्दा बढी मेसिनहरू आयात भए । कामभन्दा धेरै मेसिन भएपछि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको हो ।
आवश्यकता भन्दा बढी मेसिन नै आयात गर्ने काम कसरी भयो ?
कतिपयले नबुझिकनै लगानी गरेको, कतिपयले देखासिकीमा लागेको कारणले बजारमा मेसिनहरू थुप्रिए । यसले गर्दा भाडा दरमा गिरावट आयो र व्यवसायीहरूको नाफा घट्यो । अर्कोतर्फ, अर्बौं रुपैयाँको लगानीमा ल्याइएका मेसिनहरू पर्याप्त काम नपाएर थन्किँदा देशको ठूलो पुँजी पनि निष्क्रिय भयो । एउटै मेसिनमा करोडौं लगानी हुन्छ । यसरी मेसिनहरू थन्किँदा व्यवसायीलाई मात्र नभएर देशलाई नै घाटा हो । आवश्यकताको सही मूल्याङ्कन नगरी आयात गर्दा यस्तो समस्या आएको हो ।
अनावश्यक मेसिनको सख्ंया घटाउन महासंघले पहल गरेन ?
विविध समस्यालाई मध्यनजर गर्दै महासंघ र यसका जिल्ला संघहरूले व्यवसायलाई व्यवस्थित गर्ने प्रयास गरिरहेका छन् । देशमा कति मेसिन चाहिने हो ? त्यसको वास्तविक आवश्यकता मूल्याङ्कन गर्ने एउटा निकाय बनाउनुपर्छ भनेर हामीले निरन्तर भन्दै आइरहेका छौं । आवश्यकताभन्दा धेरै आयात नगरौं भन्ने हाम्रो माग हो । यसले अस्वस्थ प्रतिस्पर्धा घटाउने र देशको पुँजी अनावश्यक रूपमा बाहिरिनबाट रोक्नेछ ।
हेभी इक्विपमेन्टको लगानी मात्र महँगो छैन, यसको सञ्चालन र मर्मत खर्च पनि उत्तिकै छ । मेसिन नचलाए पनि सरकारलाई कर तिर्नुपर्छ, नियमित रूपमा मोबिल फेर्नुपर्छ, पार्टपूर्जाको हेरचाह गर्नुपर्छ । यी सबै खर्चले व्यवसायीलाई थप भार पर्छ । त्यसैले आवश्यक संख्यामा मात्रै मेसिन सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
पछिल्लो समय विदेशी कन्ट्याक्टरहरुले नेपालमा काम गर्ने क्रम बढ्दो छ । उनीहरुले नेपाली व्यवसायीबाट मेसिन भाडामा लिने गर्छन् कि आफै ल्याउँछन् ?
पहिले आफ्नै मेसिन ल्याउने विदेशी ठेकेदारहरूले पनि अहिले नेपाली व्यवसायीहरूसँगै मेसिन भाडामा लिन थालेका छन् । यसले नेपाली व्यवसायीहरूलाई केही राहत मिलेको छ, तर समग्र व्यवसायको दिगोपनाका लागि पर्याप्त काम र उचित भाडा दर आवश्यक छ ।
हेभी इक्विपमेन्टको प्रयोग विशेष गरी कुन कुन क्षेत्रमा बढी हुन्छ ?
हेभी इक्विपमेन्टको प्रयोग सडक निर्माणमा मात्र सीमित छैन । जलविद्युत आयोजना, विमानस्थल, खानी तथा क्रसर उद्योग, अग्ला भवन निर्माण, दूरसञ्चार टावरका फाउन्डेसन खन्न, सिँचाइ आयोजना, लगायत अनगिन्ती क्षेत्रमा यी मेसिनहरूको प्रयोग हुन्छ । विपद्का बेला उद्धार र राहत कार्यमा त यिनीहरूको भूमिका झनै महत्वपूर्ण हुन्छ ।
विपदको समयमा हेभी इक्विपमेन्टको योगदान कसरी रहन्छ ?
२०७२ सालको महाभूकम्पले देशलाई तहसनहस बनाउँदा हेभी इक्विपमेन्टको महत्व झनै प्रष्ट भयो । भत्किएका संरचना पन्छाउन, पुरिएका मानिसहरूको उद्धार गर्न र अवरुद्ध सडकहरू खुलाउन यी मेसिनहरू अत्यावश्यक साबित भए । त्यतिबेला सडक विभाग वा सरकारी निकायसँग पर्याप्त हेभी इक्विपमेन्ट थिएन । हाम्रै निजी क्षेत्रका मेसिनहरू खोज्दै सरकारी कर्मचारी र सेना प्रहरी चरिकोटसम्म पुगे । भग्नावशेषमा पुरिएका मान्छे निकाल्नेदेखि राहत सामग्री पु¥याउन बाटो खुलाउनेसम्मका काममा हाम्रा मेसिनहरू दिनरात खटिए ।
विकसित देशहरूमा यस्ता विपद्का लागि आवश्यक पर्ने हेभी इक्विपमेन्टहरू सरकारले नै व्यवस्था गरेर तयारी अवस्थामा राखेको हुन्छ । तर नेपालमा सरकारी तहमा यसको अभाव हुँदा निजी क्षेत्र नै भरपर्दो विकल्प बनेको छ । यसले पनि यो क्षेत्र केवल नाफामुखी व्यवसाय मात्र नभएर राष्ट्रिय आवश्यकता र समाज सेवाको पाटो पनि हो भन्ने देखाउँछ ।
काम नभएको समयमा यी मेसिनहरुको पार्किङ कहाँ कसरी गर्नुहुन्छ ?
विविध समस्यामध्ये यी मेसिनहरू राख्ने ठाउँ (पार्किङ) को अभाव पनि प्रमुख समस्या बनेको छ । सहरभित्र वा निर्माण स्थल नजिक सुरक्षित पार्किङ नहुँदा व्यवसायीहरूले जथाभावी सडक किनार वा खाली जग्गामा राख्नुपर्ने बाध्यता छ । यसले ट्राफिक जाम बढाउनेदेखि मेसिनको सुरक्षामा समेत चुनौती थपेको छ । सरकारले हामीलाई सहरको कुनै कुनामा प्रयोगबिहीन रहेको ठाउँ वा नदी किनारतिर निश्चित क्षेत्र छुट्याइदिए हामी आफैं व्यवस्था गरेर राख्थ्यौं ।
यो क्षेत्रमा दक्ष जनशक्तिको अवस्था कस्तो छ ?
दक्ष जनशक्ति (अपरेटर, मेकानिक) को अभाव पनि झेलिरहेका छौं । आधुनिक र जटिल मेसिनहरू चलाउन र मर्मत गर्न तालिम प्राप्त जनशक्ति चाहिन्छ । हाम्रो व्यवसायमा दक्ष जनशक्तिको अभाव कायमै छ । यसका लागि सरकारले विशेष तालिम केन्द्रहरू खोल्न पहल गर्नुपर्ने देखिन्छ । हामी सम्बन्धित निकायका केही साथीहरुले तालिमको व्यवस्था गर्नु भएको छ, जुन प्रयाप्त छैन ।
सरकारको नीतिप्रति तपाईंहरुको गुनासाहरु सुनिन्छन् । सरकारी नीतिप्रति तपाईंहरुको असन्तुष्टि किन छ ?
व्यवसायीहरूको एउटा प्रमुख र निरन्तरको गुनासो भनेको हेभी इक्विपमेन्टलाई हेर्ने सरकारी दृष्टिकोण माथिको हो । यी उपकरणहरू मूलतः निर्माण कार्यमा प्रयोग हुन्छन्, सडकमा यात्रु वा मालसामान बोकेर गुड्ने सवारी साधन होइनन् । तर, यिनीहरूलाई यातायात व्यवस्था मन्त्रालय अन्तर्गत राखिएको छ र सोही अनुसार सडकमा गुडेबापत कर तिर्नुपर्ने नियम छ । हाम्रो मुख्य काम भनेकै मेसिनहरू भाडामा दिने हो । यी निर्माण सामग्री हुन्, यातायातका साधन होइनन् । सय प्रतिशत समय निर्माणस्थलमा काम गर्ने मेसिनलाई सडकमा गुड्ने यातायात मानेर कर लगाउनु अन्यायपूर्ण छ ।
यी समस्या सरकारलाई सुनाउँदा कस्तो प्रतिक्रिया पाउनुहुन्छ ?
सम्बन्धित मन्त्रालय र निकायहरूलाई यो समस्याबारे बारम्बार अबगत गराएकै छौं । तर पनि अहिलेसम्म कार्यान्वयमा आएको छैन । यो यातायात व्यवस्था विभागले हेर्ने विषय होइन । यो हेभी इक्विपमेन्ट हो । यसलाई कृषि औजार जस्तै छुट्टै हेर्नुपर्छ । यसको लागि एउटा छुट्टै ‘हेभी इक्विपमेन्ट डिभिजन’ खोल्नुपर्छ भन्ने हाम्रो माग हो ।
अन्त्यमा के भन्नुहुन्छ ?
नेपालको पूर्वाधार विकासको इन्जिन मानिने हेभी इक्विपमेन्ट व्यवसाय अनेकौं सम्भावना र चुनौतीहरूका बीचबाट गुज्रिरहेको छ । भूकम्प र लकडाउन जस्ता संकटहरूबाट बिस्तारै तँग्रिदै गरेको यो क्षेत्रले अब आवश्यकताभन्दा बढी आयात, अस्वस्थ प्रतिस्पर्धा, नियामकीय अन्योल, पार्किङको असुविधा र दक्ष जनशक्तिको अभाव जस्ता समस्याहरूसँग जुध्नु परिरहेको छ । यो केवल अर्बौं लगानी भएको व्यवसाय मात्र होइन, विकास निर्माण र विपद् व्यवस्थापनका लागि राष्ट्रिय आवश्यकता पनि हो । तसर्थ, यस क्षेत्रलाई व्यवस्थित गर्न, व्यवसायीका जायज मागहरू सम्बोधन गर्न र यसको दिगो विकासका लागि आवश्यक नीतिगत प्रष्टता र सरकारी सहयोग अपरिहार्य देखिन्छ । खिया लागेर बसेका मेसिनहरू फेरि पूर्ण क्षमतामा गर्जिने वातावरण बनाउन सके मात्र देशले विकासको दौडमा अपेक्षित गति लिन सक्नेछ ।
र अन्त्यमा, म महासंघको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशन सफल बनाउनका लागि देशभरका सम्पूर्ण व्यवसायीहरुमा आह्वान गर्दछु ।
Comments are closed.